प्रस, सर्लाही, २८ भदौ/
सर्लाही जिल्लाको लालबन्दीकी १४ वर्षीया किशोरी प्रियङ्का भुजेलको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अनिश दाहाल जेल चलान भएका छन् । लालबन्दी नगरपालिका–१७ रानीगंजकी प्रियङ्काको बलात्कार तथा हत्यामा संलग्न रहेको आरोपमा लालबन्दीकै १९ वर्षीय दाहाल पक्राउ परेका थिए ।
अभियुक्त दाहाललाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो। उनलाई आइतवार अबेर सिन्धुली कारागार चलान गरिएको प्रहरीले जनाएको छ । प्रियङ्काको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका अर्का किशोर १७ वर्षीय कृष्ण साहलाई यसअघि नै अदालतले बाल सुधारगृहमा राख्न आदेश दिइसकेको छ । कारागार पठाउने उमेर नपुगेकोले उनलाई बालसुधार गृहमा पठाइएको हो ।
जिल्ला अदालतका मुख्य न्यायाधीश ध्रुवकुमार पियाले थुनछेक बहसपछि अन्तिम फैसला नहुन्जेल पुर्पक्षका लागि दाहाललाई थुनामा राख्न आदेश दिएका छन् । पक्राउ परेकाहरूविरुद्ध प्रहरीले जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दायर गरेको छ ।
रानीगंज डाँडाटोल निवासी राजेश भुजेलकी १४ वर्षीया छोरी प्रियङ्काको यही भदौ १ गते राति लालबन्दी नगरपालिका वडा नं ६ स्थित कालिन्जोर खोलामा गाडिएको अवस्थामा शव फेला परेको थियो । प्रियङ्का गएको साउन ३१ गते राति साढे ११ बजेतिर घरबाटै बेपत्ता भएकी थिइन्।
अनिश र कृष्णले प्रियङ्कालाई केटी साथी मात्रै बन्नका लागि भन्दै फकाएर एकान्त ठाउँमा लगी बलात्कार गरेपछि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार बलात्कारपछि घटना सार्वजनिक हुने भयले आफूहरूले प्रियङ्काको हत्या गरेको बयान किशोरहरूले प्रहरीसमक्ष दिएका थिए ।