नयाँ दिल्ली, २८ भदौ/एएनआई
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा लगातार कमी हुँदै आएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमवार बिहान सार्वजनिक गरेको विवरण अनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
अघिल्लो दिन सार्वजनिक गरिएको विवरणमा भने २८ हजार ५९१ जना नयाँ सङ्क्रमित थपिएको उल्लेख गरिएको थियो । त्योभन्दा अघिल्लो दिन शनिवार बिहान भारतमा कोरोना भाइरसबाट एक दिनमा थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । त्यस दिन नयाँ थपिएका सङ्क्रमितमध्ये २५ हजार १० जना केरलाका मात्रै थिए ।
भारतमा सोमवार बिहानसम्म कुल सङ्क्रमित सङ्ख्या तीन करोड ३२ लाख ६४ हजार १७५ पुगेको मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये केरलाका धेरै छन् । पछिल्लो २४ घण्टामा केरलामा मात्रै २० हजार २४० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
भारतमा सङ्क्रमित अवस्थामंै रहेकाहरूको सङ्ख्यामा पनि धेरै कमी आएको छ । भारतमा अहिले तीन लाख ७४ हजार २६९ जना सङ्क्रमित अवस्थामैं रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या ८० दिनपछिको सबैभन्दा कम भएको पनि अधिकारीहरूले बताएका छन् ।
दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या बढी भएकोले सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्यामा कमी आएको हो ।
पछिल्लो २४ घण्टामा २७ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिंदा ३७ हजारभन्दा बढी सङ्क्रमित घटेका छन् । सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या र नयाँ थपिनेको सङ्ख्यामा १० हजारभन्दा बढी फरक परेको छ ।
भारतमा अहिलेसम्म कुल तीन करोड २४ लाख ४७ हजार ३२ जना सङ्क्रमणमुक्त भएका छन् भने चार लाख ४२ हजार ८७४ जनाको मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा २१९ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसका कारण दैनिक मृत्यु हुने सङ्ख्यामा पनि कमी आएको छ । अघिल्लो दिन ३३८ जनाको मृत्यु भएको थियो । रासस