तालिबानले महिलालाई पढ्न दिने

0
14

काबुल, २८ भदौ/एएफपी

अफगानिस्तानमा तालिबान समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ ।

तालिबानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिबन्ध लगाउने आशङ्काका बीच उनीहरूले विश्वविद्यालय जान दिने बताएका हुन् ।

तर एउटै कोठामा छात्रा र छात्रलाई सँगै राख्न भने नपाइने तालिबान सरकारका उच्च अधिकारीहरूले जनाएका छन् ।

विश्वविद्यालयहरूमा महिलालाई पुरुषहरूभन्दा छुट्टै राख्न तालिबान सरकारका नयाँ शिक्षामन्त्रीले निर्देशन दिएका छन् । विश्वविद्यालयमा छात्रालाई पनि जान दिने निर्णयलाई तालिबानको यसअघि सन् १९९६ देखि २००१ सम्मको शासन व्यवस्थाभन्दा लचक हुने सङ्केतका रूपमा लिइएको छ ।

अघिल्लो शासनकालमा अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा जान प्रतिबन्ध लगाइएको थियो । विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा पोशाकसम्बन्धी नयाँ नियम लागू गरिने तालिबानले जनाएको छ ।

उच्च शिक्षासम्बन्धी मन्त्री अब्दुल बाकी हक्कानीले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि जानकारी दिए । तालिबानले महिलाहरूलाई शिक्षा र रोजगारमा प्रतिबन्ध नलगाउने जनाएको छ । तर गत अगस्त १५ मा सत्ता आफ्नो हातमा लिएसँगै तालिबानले सुरक्षा अवस्थामा सुधार नआएसम्म स्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न निर्देशन दिएको थियो ।

तालिबानको अघिल्लोपटकको आफ्नै शासनकालमा भन्दा केही लचक भएपनि निवर्तमान सरकारभन्दा अहिलेको सरकार कठोर देखिएको छ । तालिबानले झन्डै एक महीनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । प्रदेश राजधानीहरू कब्जा गर्दै केन्द्रीय राजधानी कब्जा गर्न लागेपछि तत्कालीन राष्ट्रपति अशरफ घानी देश छोडेर भागेपछि सत्ता तालिबानको हातमा आएको हो ।

उनीहरूले अहिले कामचलाउ सरकार बनाएका छन् भने अरू धेरै काममा अन्योल देखिएको छ ।

तालिबानको कब्जापछि पहिलो विदेशी व्यावसायिक उडान काबुलमा
काबुल,/एएफपी

पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए)को यात्री बोकेको एउटा विमान सोमवार काबुल एयरपोर्टमा उत्रेको छ । तालिबानले अफगानिस्तानमा गत अगस्त १५ मा सत्ता कब्जामा लिएपछि यो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान काबुल एयरपोर्टमा आएको हो ।

इस्लामाबादबाट उडानमा सवार एक यात्री एएफपी पत्रकारले विमानमा करीब १० जना यात्री सवार रहेका र त्यसमा पनि यात्रीभन्दा बढी विमानका कर्मचारी रहेका जनाएका छन् । पाकिस्तानको एयरलाइन्सले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमवार नै जाने पनि आइतवार बताएको थियो ।

पाकिस्तान एयरलाइन्सले आइतवार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो । सो एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमवारबाट नियमितरूपमा सुचारु गर्ने जनाएको थियो । अफगानिस्तानमा तालिबानले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो ।

त्यसयता यहाँका कैयौं विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका छन् । पिआइएबाहेक अरू देशका विमान कम्पनीले भने उडान शुरू गरेका छैनन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here