भोजपुर, २८ भदौ/रासस

बहुमूल्य तथा बहुउयोगी जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आकर्षण बढेको छ । लेकाली अर्थात् माथिल्लो भेगका अधिकांश किसानले यसको व्यावसायिकरूपमा खेती गर्दै आएका छन्। सतुवा विशेषगरी सेपिलो भागमा फस्टाउँछ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम फर्किएको भूगोलमा उपयुक्त हुने किसानले बताउने गरेका छन्।

सबै पात सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । यसको खेतीमा यहाँका ३०० भन्दा बढी किसान आबद्ध छन् । एक हजार ४०० मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगका लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीले बताउने गरेका छन् ।

यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने जिल्ला आयुर्वेद कार्यालयले जनाएको छ ।

त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी सो जडीबुटी रहेको कृषकको भनाइ छ । सतुवा प्रतिकिलो रु १० देखि १२ हजारमा बिक्री हुने कृषकको भनाइ छ । केही वर्षअगाडिसम्म प्रतिकिलो रु २० देखि २२ हजारसम्ममा बिक्री भएपनि पछिल्लो समयमा मूल्यमा केही गिरावट आएको किसान बताउँछन् ।

बिरुवा उम्रिएको दुर्ईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि १०० सम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ । यसको जमीनमुनिको गानो अदुवा जस्तै देखिन्छ । प्रायः एउटा बोटबाट एउटामा मात्र डाँठ निस्कने भएपनि फस्टाएको बोटले १६ वटासम्म डाँठ हानेको १० वर्षदेखि सतुवाको खेती गर्दै आएका टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका कृषक मानबहादुर राईले बताए ।

उनले भने, “मैले यसको १० वर्षदेखि व्यावसायिक खेती गरिरहेको छु, खासमा धेरै ठाउँमा एउटा प्रायः एकदेखि दुर्ईवटासम्म डाँठ आएको हुन्छ तर मेरो फार्ममा लगाएको सुतवामा १६ वटासम्म डाँठ पलाएको छ, म आफैं र हेर्न आउने मानिस पनि अचम्ममा छौं, मेरो फार्ममा २०० ग्रामसम्मको सुकेको सतुवा फलेको छ, शायदै यस्तो ठूलो सतुवा कम फलेको पाइन्छ ।”

सतुवा टेम्केमैयुङ–१ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं १० बोयाको माथिल्लो भेग तथा आमचोक गाउँपालिका–४ र साल्पासिलिछो गाउँँपालिका–४ खाटम्मालगायतमा ३०० बढी कृषकले व्यावसायिक सतुवाको खेती गर्दै आएका छन् ।

टेम्केमैयुङ–१ तिम्माका अर्का कृषक सङ्गम राईले विभिन्न क्षेत्रको अनुदानसहित करीब रु ७५ लाखको लगानीमा व्यावसायिकरूपमा सतुवाखेती गरिरहेको जानकारी दिए । राईको सङ्गम जडीबुटी तथा नर्सरी फार्ममा अहिले ६५ हजार सतुवाका बोट रहेका छन् । उनले अहिले वार्षिक रु १५ लाख बढी आम्दानी गरिरहेको जानकारी दिए ।

राईले भने, “मैले करीब १० वर्षअघिदेखि सतुवाको व्यावसायिकरूपमा खेती गर्दै आएको छु, अहिले मेरो नर्सरीमा आफ्नोसहित विभिन्न क्षेत्रका अनुदान गरी रु ७५ लाखजति लगानी भइसकेको छ, अहिले वार्षिकरूपमा रु १५ लाख बढी आम्दानी लिन्छु, आम्दानीलाई वार्षिक रु ३० लाख पु¥याउने लक्ष्य छ ।”

राईले बिरुवा भोजपुरसँगै बाहिरी जिल्लामा समेत बिक्री गर्दै आएको जानकारी दिए । उनले बिरुवाको माग अत्यधिक रहेकाले अझै पनि माग धान्न समस्या रहेको बताए । नर्सरीबाट वार्षिक १०० किलोसम्म सतुवाको गानो र एक किलोको हाराहारीमा बीउ उत्पादन हुने उनको भनाइ छ । बिरुवा प्रतिगोटा रु २० देखि १५० सम्म, सतुवाको बीउ प्रतिकिलो रु एक लाख र गानो प्रतिकिलो रु १० हजारदेखि १२ हजारमा बिक्री हुने राईले बताए ।

“बिरुवाको माग धेरै छ, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ लगायतका जिल्लाबाट समेत बिरुवाको माग हुन्छ, विगतका वर्षमा सतुवा प्रतिकिलो रु २० देखि २२ हजारसम्ममा बिक्री भयो, पछिल्लो समय लकडाउनलगायत समस्याले मूल्य घटेको छ, यो अवस्था सामान्य बन्नासाथ अहिले पनि रु १० देखि १२ हजारमा प्रतिकिलो बिक्री हुन्छ, बिक्रीमा खास समस्या छैन,” कृषक राईले भने ।

सतुवा विशेषगरी भारत र चीन जाने व्यवसायी बताउँछन् । षडानन्द–१३ भीरथाप्लाका स्थानीय कृषक पेमदोर्जी शेर्पाले पनि सतुवाको व्यावसायिकरूपमा नै खेती गर्दै आएको बताए । फार्ममा ७० हजार बढी सतुवाका बिरुवा रहेको उनको भनाइ छ । सतुवाखेतीबाट राम्रो आम्दानी लिने गरेको शेर्पाले बताए ।

शेर्पाले भने, “सतुवाखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ, यसको बजार मूल्य अन्य जडीबुटीको तुलनामा राम्रो छ, बिरुवा तथा गानोको मूल्य धेरै राम्रो छ, त्यही भएर पनि पछिल्लो समय सतुवाखेतीमा कृषकको आकर्षण बढेको छ ।”

डिभिजन वन कार्यालयले पनि सतुवालगायत जडीबुटीमा लागेका कृषकलाई प्रोत्साहन गर्न प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको जनाएको छ । गत वर्ष सतुवा, लोडसल्ला, चिराइतोलगायतको व्यावसायिकरूपमा खेती गर्दै आएका कृषकलाई सहयोग गरेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

प्रमुख घिमिरेले भने, “जडीबुटी कृषकलाई हामीले सहयोग गर्दै आएका छौं, यहाँ जडीबुटी खेतीमा लागेका कृषकको सङ्ख्या धेरै छ, हुनत हामीले ठाउँ अनुसार सतुवा, चिराइतो, लोडसल्लालगायत खेतीलाई विस्तार गरिरहेका छौं, तर पनि सतुवाखेतीमा कृषकको आकर्षण बढेको छ, यसबाट उनीहरूले राम्रो आम्दानी लिने गरेको पनि पाइयो ।”

भोजपुरमा चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बूढो ओखती, लोडसल्ला, विखुम्बालगायत जडीबुटी हुने गरेका छन् । यहाँका एक कृषकले ६२ मनसम्म चिराइतो उत्पादन गर्दै आएको व्यवसायी खेमराज राउतले बताए । आफ्नो क्षेत्रमा धेरै प्रजातिका जडीबुटी पाउने भएपनि पहिचान गर्न गाह्रो भएको तथा सोसम्बन्धी ज्ञानको अभावले त्यस्ता प्रजातिका जडीबुटीको खेती गर्न समस्या भएको उनीहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here