अक्सिजन प्लान्ट सञ्चालनमा अझै दुई साता लाग्ने

0
15

प्रस, वीरगंज, २७ भदौ/

नारायणी अस्पताल वीरगंजमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनको लागि अझै दुई साता समय लाग्ने भएको छ ।

ट्रान्सफर्मर जडान नभएको कारण अक्सिजन प्लान्ट सञ्चालन नगरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्रबहादुर प्रधानले बताए । उनले अस्पतालको विद्युतीय वायरिङ पुरानो भएको र हालको ट्रान्सफर्मरले भार क्षमता थेग्न नसकेको कारण नयाँ ट्रान्सफर्मर जडानको लागि बाटो कुरेर बसेको बताए ।

उनले अस्पतालमा पाँच सय केभिएको ट्रान्सफर्मर जडानको लागि नगरप्रमुख विजयकुमार सरावगीको पहलमा सूर्य नेपाल प्रालिले ट्रान्सफर्मर जडान गर्न लागेको र सोको लागि केही समय लाग्ने बताए ।

मेसु डा प्रधानले ट्रान्सफर्मर जडान हुनासाथ अक्सिजन प्लान्ट सञ्चालनमा आउने बताए । अक्सिजन प्लान्ट सञ्चालनको लागि अस्पतालको आकस्मिक कक्ष, अब्जरभेशन, सर्जिकल, मेडिकल, आइसियू, सिसियू, बाल अतिसघन कक्षलगायतका ठाउँमा अक्सिजन पाइपलाइन जडान भइसकेको बताए । उनले प्रसूति वार्डलगायत केही ठाउँमा मात्र पाइपलाइन जडान गर्न बाँकी रहेको र सोमा पनि दाताहरूकै सहयोगबाट जडानको लागि पहल भइरहेको बताए । ट्रान्सफर्मर जडान हुनासाथ पाइपलाइनबाट अक्सिजन प्रवाह हुने उनले बताए ।

सूर्य नेपालका जेनेरल मेनेजर प्रभाकर विक्रम शाहले ट्रान्सफर्मर जडानको लागि सम्पूर्ण खर्च पुग्ने गरी महानगरपालिकालाई रु २४ लाखको चेक हस्तान्तरण गरिएको बताए । उनले आफ्नो दायित्व पूरा भएको र अब महानगरले सो कार्य गर्नुपर्ने बताए ।

नगरप्रमुख सरावगीले ट्रान्सफर्मर जडानको लागि टेन्डर प्रकाशन र ठेकेदारसँग सम्झौता गर्नेसम्मको काम सम्पन्न भइसकेको बताए । उनले भदौ १८ गते यससम्बन्धी सम्झौता भएको र २० दिन अवधिमा ट्रान्सफर्मर जडान हुने आश्वासन पाएको बताए ।

अक्सिजन प्लान्टको गत भदौ १६ गते उद्घाटन भइसकेको छ । सांसद विमलप्रसाद श्रीवास्तवले संसदीय विकास कोषबाट प्लान्ट जडानको लागि रु २ करोड उपलब्ध गराएका थिए । बाँकी सम्पूर्ण खर्च नगरप्रमुख सरावगीको पहलमा विभिन्न दाताहरूले उपलब्ध गराएका हुन् ।

हाल अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदा अस्पतालमा दैनिक ५० देखि ६० वटा सिलिन्डर खपत भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here