प्रस, निजगढ, २७ भदौ/
निजगढ नगरपालिकास्थित तारा इन होटलमा शनिवार प्रहरीले छापामारी गरेको घटनामा आइतवार जिल्ला प्रहरी कार्यालय, बाराले घटनासम्बन्धी जानकारी गराएको छ ।
प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले पाँचजना मानिस र २५ हजारको नक्कली नेपाली नोट तथा हजारको नोट बनाउन प्रयोग हुने ९३ बन्डल (९ हजार ३ सय थान) कागज बरामद भएको बताएका छन् । उनले हजारको नोट छाप्ने उद्देश्यले सोही आकारमा कागज काटेर बन्डल बनाइएको अवस्थामा बरामद भएको बताए ।
यसैगरी, ३९ थान हजारको नोट बरामद भएको बताएका छन् । सूचना अनुसार तारा इन होटलमा शनिवार छापामारी गरी तीनजनालाई नियन्त्रणमा लिइएको थियो ।
प्रहरी उपरीक्षक शाहीले करैयामाई गापा–५ का विशेश्वरप्रसाद चौधरी, कलैया उपमनपा–९ रामपुरका सागर शुक्ल र विश्रामपुर गापा–५ इटियाहीका राजु कुशवाहा, रौतहटको गुजरा नगरपालिका–३ बलुवाका सुनील राम र रवीन्द्र चौधरी पक्राउ परेको पुष्टि गरेका छन् । उनले बा.९१प ७४३५ नम्बरको मोटरसाइकल, बा.१४च ९३८२ नम्बरको स्कार्पियो तारा इन होटलबाट नियन्त्रणमा लिएको र रौतहटबाट प्रदेश २–०३–००१ प ४२६५ नम्बरको पल्सर मोटरसाइकल र बिआर ०५ क्यू ४६१० नम्बरको स्पेलेन्डर मोटरसाइकल पनि नियन्त्रणमा लिएको बताए ।
पक्राउ परेकाविरुद्ध खोटा चलन मुद्दामा जिल्ला अदालत बाराबाट सात दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रउ शाहीले बताए ।
यता, होटल तारा इनमा गुजरा नपा–३ का सुनील रामले तीनवटा कोठा आफ्नो नाममा लिएको होटल रजिस्टरबाट देखिएको छ । लुम्बिनी, वाग्मती, मिथिला गरी तीनवटा कोठा उनीहरूले लिएको र प्रत्येक कोठामा एक/एकजना बसेका थिए । होटलमा बसेका सुनील रामसहित तीनजनाबाट २५ हजार नेपाली नक्कली नोट बरामद भएको थियो ।
उनीहरूकै बयानको आधारमा प्रहरीले रौतहटको गुजरा नगरपालिकामा छापामारी गरी थप दुईजनालाई पक्राउ गरेको र उनीहरूबाट एक सय थानको ९३ गड्डी हजारको नोट छाप्ने कागज बरामद गरेको छ ।
प्रहरी प्रधान कार्यालयको टोलीले हिजो बिहान ८ देखि बेलुकी १० बजेसम्म छापामारी गरेको थियो ।
स्रोतका अनुसार अहिले झापाबाट नेपाली नोटको तस्करी गर्ने गिरोह सक्रिय भएको छ । भारतको सिलिगुडी हुँदै नेपाली नोट झापा आउने र त्यहाँबाट नेपालका विभिन्न ठाउँमा पु¥याउने कार्य भइरहेको छ ।
पक्राउ परेका बारा र रौतहटका पाँचजना तारा इन होटलको रेकर्ड अनुसार सात महीनादेखि यो पेशामा सक्रिय देखिएका छन् । उनीहरू होटलमा आउने र जग्गाको कारोबारी भनेर बस्ने गरेका थिए ।
सात महीनादेखि उनीहरूको होटलमा आवतजावत भइरहेको बताइएको छ । एक महीनाअगाडिदेखि उनीहरूको गतिविधि पहिलेभन्दा तीव्र थियो । मासिक चार/पाँच दिनसम्म होटलमा उनीहरूको बसाइ हुन्थ्यो ।