काठमाडौं, २७ भदौ/रासस
नेपाली राष्ट्रिय महिला फूटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतवार भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको विभिन्न समयमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
खेलमा नेपालकी गीता राना ‘मोस्ट भ्यालुएबल’ खेलाडी घोषित भइन् । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि बिहीवार भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले हराएको थियो ।
एएफसी महिला एशियन कप–२०२२ छनोट खेल उज्बेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हड्ढङ रहेका छन् ।