तारा इनमा छापामारी, नक्कली भारतीय नोटसहित केही व्यक्ति पक्राउ

0
21

जीतलाल श्रेष्ठ, निजगढ, २६ भदौ/

बाराको निजगढ नगरपालिकास्थित तारा इन होटलमा प्रहरी प्रधान कार्यालयको टोलीले शनिवार छापा मारी केही व्यक्तिलाई नक्कली भारतीय नोटसहित नियन्त्रणमा लिएको छ ।

शनिवार बिहान ८ बजे प्रहरी प्रधान कार्यालयको टोलीले बारा प्रहरीको सहकार्यमा तारा इन होटलमा छापामारी गरेको थियो । छापामारीको क्रममा चारजनालाई नियन्त्रणमा लिएको र उनीहरूबाट नक्कली भारु ५० लाखभन्दा बढी बरामद भएको स्रोतले जनाएको छ । जबकि यसको पुष्टि आधिकारिकरूपमा प्रहरीले गरेको छैन । बिहानदेखि यो समाचार तयार गरुन्जेल राति आठ बजेसम्म सोधपूछ जारी थियो ।

पक्राउ परेका चारजना व्यक्ति ६–७ महीनादेखि सो होटलमा आउने जाने गरिरहेका थिए । होटलमा बस्दा उनीहरूले आफूहरूलाई जग्गाको कारोबारी बताउँदै आएका थिए । पक्राउ परेका व्यक्तिहरूको चहलपहल सो होटलमा गत एक महीनादेखि साताको दुईपटक हुने गरेको होटलको रजिस्टरबाट देखिन्छ । पक्राउ परेका व्यक्तिहरू चढ्ने बा.१४च ९३८२ नम्बरको स्कार्पियोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यी सबै घटनाको प्रहरीले पुष्टि गर्न बाँकी छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जीतकारले दिनभरि नै सञ्चारकर्मीहरूको फोन उठाएनन् । फोन उठाएका बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले सबै कुरा आफूलाई पनि थाहा नभएको बताए । केहीबेर पख्नुस् बताउँछु, त्यति मात्र भने । तर राति ८ बजेसम्म फोन गर्ने सबै सञ्चारकर्मीलाई उनको भनाइ नै थियो– केहीबेर पख्नुस् सबै बताउँछु ।

प्रहरी स्रोतले निजगढको तारा इन होटलबाट नियन्त्रणमा लिएका मानिसहरूको बयानको आधारमा शनिवार रौतहटबाट पनि केही मानिसलाई भारतीय जाली नोटसहित पक्राउ गरेको बताएको छ । तर रौतहटमा पक्राउ परेका व्यक्तिहरूको पनि नाम सार्वजनिक गरिएको छैन ।

यसैबीच, घटनाको समाचार लिन तारा इन होटल पुगेकी पत्रकार मनिता पाण्डेले फोटो खित्दा उनको मोबाइल प्रहरीले नियन्त्रणमा लिएर फोटो डिलिट गरी फिर्ता गरेको थियो ।

प्रहरीले नियन्त्रणमा लिएका मानिसहरूलाई जीपमा बसाउने क्रममा पत्रकार पाण्डेले मोबाइलबाट तस्वीर लिएकी थिइन् । पाण्डे नेपाल पत्रकार महासङ्घ बाराकी उपाध्यक्ष हुन् । पत्रकारमाथिको दुव्र्यवहारको स्थानीय सञ्चारकर्मीहरूले चर्काे विरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here