प्रस, गरुडा, २६ भदौ/
रौतहटको कटहरियामा अन्तर्राष्ट्रिय मुशायरा सम्मेलन हुने भएको छ ।
कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहाले शनिवार पत्रकार सम्मेलन गरी असोज ९ गते रौतहटको कटहरियामा विभिन्न देशका उर्दू कविहरूको सम्मेलन हुने जानकारी गराए ।
देशमैं पहिलोचोटि कुनै स्थानीय तहको आयोजनामा कटहरियामा सीता जयन्ती मनाइएको थियो ।
यसैगरी, नेपाल, भारत, पाकिस्तान र क्यानडाबाट उर्दू कविहरू सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पहिलोचोटि अन्तर्राष्ट्रिय कवि सम्मेलन नगरपालिकाले आयोजना गर्न लागेको नगरप्रमुख कुशवाहाले बताए । सबै जाति तथा धर्मावलम्बीमा समानता र स्वाभिमानको भाव जगाउन यस प्रकारको कार्यक्रम गर्न थालिएको नगरप्रमुख कुशवाहाको भनाइ छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय मुशायरा आयोजक समितिका लालबाबू मन्सुरीले पूर्वमन्त्री प्रभु साहको चाहनाबमोजिम मुस्लिम समुदायको पहिचान स्थापित गर्ने उद्देश्यले कार्यक्रमको आयोजन गर्न थालिएको बताए । देशमैं सबैभन्दा बढी मुस्लिम समुदाय रहेको रौतहटमा मुस्लिमहरू दबिएर रहनुपरेको दुःखेसो गर्दै मन्सुरीले मुशायरा सम्मेलनले मुस्लिमको भावना र पहिचानको सम्मान हुने बताए ।
शायर फैयास फैजीले नेपाल, भारत, पाकिस्तान र क्यानडा गरी चार देशबाट मुशायरामा सहभागी हुने कविहरू निश्चित भइसकेको जानकारी दिंदै सहयोग गर्न सबैमा अपील गरे ।
तराई–मधेस जनयुद्ध शहीद स्मृति प्रतिष्ठानको भवन कटहरियामा भएको पत्रकार सम्मेलनमा नगरपालिकाका जनप्रतिनिधि, मुस्लिम समुदायका प्रतिनिधिलगायतकोे सहभागिता थियो ।