प्रस, ठोरी, २५ भदौ/
बडादशैंको अवसरमा ठोरीमा फूटबल प्रतियोगिता हुने भएको छ । पर्सा जिल्लामा हुने फूटबल प्रतियोगितामध्ये सर्वाधिक धनराशिको स्व रामबहादुर श्रेष्ठ गोल्डकप फूटबल प्रतियोगिता असोज ९ गतेदेखि आयोजना हुने आयोजक समितिका अध्यक्ष मिलन श्रेष्ठले बताए ।
प्रतियोगिता असोज ९ देखि २६ गतेसम्म हुने र देशविदेशका खेलाडीहरू प्रतियोगितामा सहभागी गराइने उनले जानकारी गराए ।
पहिलो हुने टीमलाई रु २ लाख नगद, शिल्ड, प्रमाणपत्र, दोस्रोलाई रु १ लाख नगद, शिल्ड, प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई रु २० हजार, सर्वाधिक गोलकर्तालाई चाँदीको जुत्ता र उत्कृष्ट गोलकीपरलाई रु १० हजार पुरस्कार राशि दिइने अध्यक्ष श्रेष्ठले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
विजयबस्ती खेलमैदानमा प्रतियोगिता हुने बताइएको छ । यो प्रतियोगिता समाजसेवी रामबहादुर श्रेष्ठको नाममा दोस्रोपटक ठोरीमा हुन गइरहेको हो । स्व श्रेष्ठ तत्कालीन गाउँ पञ्चायत निर्मलबस्तीका प्रधानपञ्च थिए । उनले निर्मलबस्तीको विकासमा उल्लेखनीय भूमिका खेलेको कारण उनको सम्झनामा गोल्डकप प्रतियोगिता आयोजना गर्न लागिएको सन्तोष श्रेष्ठले बताए ।