काठमाडौं, २५ भदौ/रासस

करीब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति जुटेको छ ।

लामो समयदेखि प्रस्तावित भएपनि प्रक्रिया अगाडि बढ्न नसकेको बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा दुर्ईपक्षीय सम्झौतामा बुधवार लगानी सम्झौतामा हस्ताक्षर भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

कुल ४०० केभी क्षमताको उक्त प्रसारण लाइन निर्माण गर्ने विषयमा २०७५ असोजमा नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले सहमति जनाएको थियो । सो सहमतिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिडले समान लगानी गर्ने सहमति भएको थियो ।

बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको भारतको राजधानी नयाँ दिल्लीमा रहेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरेशन अफ इन्डियाबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको उनले बताए ।

सो प्रसारण लाइन अमेरिकी सहयोग परियोजना एमसिसीसँग पनि जोडिन पुगेको छ ।
काठमाडौंको नाङ्लेभारेबाट शुरू हुने ४०० केभी क्षमताको प्रसारण लाइन बुटवलसम्म पुग्नेछ । बुटवलमा निर्माण हुने ४०० केभी क्षमताको सबस्टेशन भएर सो प्रसारण लाइन भारतको गोरखपुरमा जोडिनेछ ।

एमसिसी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको क्रममा नै प्रसारण लाइन निर्माणका विषयमा सहमति हुनुलाई जानकारले सकारात्मक परिघटनाको रूपमा टिप्पणी गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा बुधवार भएको कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडका तर्फबाट कार्यकारी निर्देशक वाइ के दीक्षितले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । मन्त्रिपरिषद्को गत साउन १९ गतेको बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत शेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

सम्झौतामा हस्ताक्षरपछि प्रसारण लाइन अन्तर्गत भारतर्फको खण्ड निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको ५०/५० प्रतिशत संस्थापक शेयर रहने गरी संयुक्त कम्पनी स्थापना गर्न बाटो खुलेको कार्यकारी निर्देशिक घिसिङले बताए ।

“दुर्ई मुलुकबीचका सचिव र सहसचिवस्तरीय संयन्त्रका बैठकले भारतर्फको खण्ड प्राधिकरण र पावर ग्रिडको संयुक्त लगानी रहने गरी कम्पनी स्थापना गर्ने र त्यसैमार्फत निर्माण गर्ने सहमति भए तापनि मन्त्रिपरिषद्बाट स्वीकृति नपाउँदा संयुक्त लगानी तथा शेयरहोल्डर सम्झौता हुन सकेको थिएन,” उनले भने, “मन्त्रिपरिषदका् स्वीकृतिमा सम्झौतामा हस्ताक्षर भएसँगै प्रबन्धपत्र, नियमावली तयार गरी कम्पनी स्थापना गर्न र प्रसारण सेवा सम्झौताका लागि अगाडि बढ्न बाटो खुलेको छ ।” उनले प्रसारण लाइन तीनदेखि साढे तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढेको बताए ।

बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको लम्बाइ १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ २० किलोमिटर पर्छ भने भारतर्फ १०० किलोमिटर पर्छ । नेपाल खण्डको प्रसारण लाइन नेपाल आफैंले र भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०/५० प्रतिशत शेयर स्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्नेछन् ।

प्रसारण लाइनले करीब दुर्ई हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए । “अहिले सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रसारण लाइनले भन्दा बुटवल–गोरखपुर प्रसारण लाइनले झन्डै दोब्बर क्षमतामा विद्युत् प्रवाह गर्न सक्छ, यो प्रसारण लाइन दुर्ई मुलुकबीचको विद्युत् व्यापारका लागि लाइफ लाइन हुनेछ,” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here