जय मानवसेवा !

0
26
  • राजेश मिश्र

‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा …’ स्व नारायण गोपालले गाएको यो गीतप्रति मानवीय अवचेतन जाग्रत हुन्छ । मानसिक रोगी हुनुको पछाडि पारिवारिक, आर्थिक, शिक्षा, स्वास्थ्य वा दाम्पत्यलगायत विविध कारण हुन सक्छन् । चेतनाशून्य मानसिक रोगीहरूको जीवन पूर्ववत्रूपमा फर्काउनको लागि औषधिका साथै माया र स्नेहले ओखतीको काम गर्दो रहेछ । यस्ता मानिसहरूको लागि मानवसेवा आश्रम वरदान साबित भएको छ । वास्तवमा मानसिकरूपले विक्षिप्त मानिसहरूको जीवन पारिवारिक तथा सामाजिक अपनत्वले नै परिवर्तन गर्न सकिन्छ । मावनसेवा आश्रममा आबद्ध भएर समाजको लागि उदाहरणीय काम गरिरहेका युवा जाँगरलाई सलाम छ ।

म मानवसेवा आश्रमको शाखा वीरगंज पुगें । द्वारपाल आए । ढोका खोले । जब म मानवसेवा आश्रमभित्र प्रवेश गरें, तब माहोल हेरेर निकै प्रभावित भएँ । किनभने सामाजिक सञ्जालमा मैले देखेका ती मानिसहरू नयाँ जीवनशैलीमा थिए । उनीहरूको मधुर मुस्कानले जो कोही पनि मन्त्रमुग्ध हुन सक्छन् ।

मानवसेवा आश्रममा आउनुभन्दाअघि कोही सडकपेटीमा त कोही आफ्नै घरमा कष्टप्रद जीवनमा थिए । तर मानवसेवा आश्रमले उद्धार गरेर ल्याइसकेपछि ती आमाबुबाहरूको मानसिक अवस्था धेरै हदसम्म सुधारोन्मुख छ । कतिजना निको भई मानवसेवामा समर्पित छन् भने कतिलाई मानवसेवा आश्रमले पारिवारिक पुनर्मिलन गराइदियो । अहिले महिला, पुरुष र बालबालिका गरी झन्डै ५५ जनालाई आश्रमले सेवा दिइरहेको छ । मानवसेवा आश्रम मानवताको मन्दिर नै हो, जहाँ देवतातुल्य आमाबुबाको स्याहारमा युवा भक्तजनहरू अहोरात्र समर्पित छन् ।

वर्तमान परिप्रेक्ष्यमा आधुनिक जीवनशैली रुचाउने युवाजमात बढी छ । यद्यपि मानवताप्रति समर्पित युवाहरूको पनि कमी छैन भन्ने कुरा मानवसेवा आश्रममा आबद्ध युवायुवतीहरूले सिद्ध गरिदिएका छन् । रगतको नाता नभए पनि मानवीयताको नाताले उनीहरू मानवसेवाप्रति सङ्कल्परत छन् । आफ्नै आमाबुबाको फोहर सफा गर्न घिन मान्ने आजको समाजमा उनीहरू अरूका लागि २४ घण्टा खटिरहेका छन् । संसारिक सुखसयल छाडेर युवा उमेरमा अरूका लागि समर्पित हुनु चानचुने कुरा होइन, वास्तवमा अद्भुत नै भन्नुपर्छ ।

मानवसेवा आश्रमको प्रधान कार्यालय हेटौंडादेखि विभिन्न शाखामा युवाहरू मानसिक अशक्त, असहाय तथा दीनदुःखीहरूको सेवामा खटिरहेका छन् । त्यसैमध्ये वीरगंज शाखाका युवाशक्तिसँग संवाद भयो । उनीहरूमा सेवाभाव कसरी उत्पन्न भयो ? के कारणले ह्दय परिवर्तन भयो ? लगायत विविध विषयमा भएको संवादको संक्षिप्त अंश प्रस्तुत छ ।

देवेश मानवसेवा (केन्द्रीय सदस्य तथा संयोजक, प्रदेश २)

विसं २०७२ मा मधेस आन्दोलन चरममा थियो । म स्नातक तहमा अध्ययनरत थिए । कलेज बन्द थियो । पढाइबाहेकको समय समाचार सुनेर बिताउँथे । एक दिनको कुरा हो, साँझपख रेडियो ट्युन गरें । रेडियोमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीको साक्षात्कार कार्यक्रम बजिरहेको थियो । उनका शब्दहरूले म स्तब्ध भएँ । दत्तचित्त भएर उनका कुराहरू सुन्न थालें । मैले रेडियो ट्युन गरेको बेला सम्भवतः आधा कार्यक्रम सकिसकेको थियो। करीब १५ मिनेट मैले कार्यक्रम सुन्न पाएँ । त्यसपछि मानवसेवा आश्रमबारे विभिन्न जिज्ञासा मनमा उत्पन्न भयो ।

२०७२ माघ १६ गते शनिवारको दिन थियो । जिज्ञासा मेटाउनको लागि म लगायत ऋषभ, दीपेन्द्र र विकेश मानवसेवा आश्रम भ्रमणको लागि हेटौंडा हिंड्यौं । रामजी अधिकारीसँग भेट भएपछि हाम्रो जिज्ञासा करुणामा रूपान्तरण भयो । सधैं गाउँ तथा शहर बजारमा मानसिक समस्या भएका मानिसहरूलाई सडकमा डुलिरहेको देख्थ्यौं । त्यस्तै प्रकृतिका थुप्रै मानिस आश्रममा थिए । निस्स्वार्थरूपमा अनेकौं युवाशक्ति उनीहरूको सेवामा खटिरहेका थिए ।

हामी साथीहरू घुम्ने भन्दै हेटौंडाको सुन्दर आकृति मनमा सजाएर गएका थियौं । युवा स्वभाव अनुसार बसमा चढेपछि रमाइलो गर्दै यात्रा भइरहेकोे थियो । झन्डै एक घण्टाको यात्रापश्चात् हामी हेटौंडा बसपार्क पुग्यौं । सोध्दै र हिंड्दै आश्रम पुग्यौं । हेटौंडा जाँदा त्यो मनोभाव मनमा पटक्कै थिएन, जुन आश्रममा पुगेर हामीले प्रत्यक्ष दृष्टिगत ग¥यौं । फर्किंदा हामी निरुत्तर थियौं। थुप्रै विचार मस्तिष्कमा खेलिरहेका थिए । कस्तो समाजमा हामी बाँचिरहेका छौं ? मनोरोगीहरू किन सडकमा जीवन बिताउन बाध्य छन् ? उनीहरूको के दोष छ ? उनीहरूलाई आश्रय कसले प्रदान गरिरहेको छ ? माया कसले गरिरहेको छ ? के उनीहरूलाई यी सबै कुरा थाहा होला ? लगायतका अनेकौं प्रश्न मनमा उब्जिरहेका थिए ।

मानवसेवा आश्रम हेटौंडाबाट फर्केर आयौं । मानवसेवा आश्रमलाई सहयोग गर्नुपर्छ भन्ने कुरा हाम्रो मनमा खेलिरहेको थियो । केही समयपछि झन्डै रु ५० हजारको सहायता सामग्री लिएर दोस्रोपटक आश्रमको यात्रा ग¥यौं । सम्भवतः हाम्रो ह्दय मानवसेवा आश्रमसँग भावनात्मकरूपमा जुडिइसकेको थियो । त्यसपछि वीरगंजबाट उद्धार गरेर झन्डै १५/२० जना मानसिकरोग पीडितहरूलाई हेटौंडाको आश्रममा पु¥यायौं । पढाइसँगै सामाजिक कार्यमा संलग्नता बढ्दै गयो । मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीको प्रोत्साहनले वीरगंजमा मानवसेवा आश्रमको शाखा स्थापनातर्फ म केन्द्रित भएँ । शुरूमा त बाधा–व्यवधान नआएको होइन । ‘यो केटाले कस्तो काम गरिरहेको छ ? अरू नै कुनै काम गर, पढाइमा ध्यान देऊ’ जस्ता विविध कुराहरू सुन्नुप¥यो ।

यद्यपि मनमा मानवसेवाप्रति आस्था जागृत भइसकेको थियो । त्यसैले सामाजिक हावाहुरीको असर परेन । काम गर्दै गइयो । आश्रमको लागि सबैभन्दा पहिले भाडाको घर खोज्नु चुनौतीपूर्ण थियो । सहयोगीजनहरूको साथ र हौसलाले घर भाडामा लिइयो । त्यसपछि भौतिक पूर्वाधारको व्यवस्था भइसकेपछि २०७४ जेठ १५ गते पहिलोपटक नारायणी अस्पताल वीरगंजबाट एकजना असहायलाई उद्धार गरेर वीरगंज शाखामा ल्यायौं । त्यसपछि अनेक माध्यमबाट प्रेरणा र प्रोत्साहन पाउँदै आजसम्म यात्रा निरन्तर छ । अहिले मानवसेवा आश्रमको भवन निर्माणसम्बन्धी प्रक्रिया अगाडि बढिसकेको छ । आशा छ, महानगरपालिकालगायत मानवताप्रति समर्पित समग्र अग्रज तथा सहयोगीहरूको साथ र सहयोगले छिट्टै नै वीरगंज शाखाको आफ्नै भवन हुनेछ । जय मानवसेवा ।

सानु मानवसेवा (संयोजक, मानवसेवा आश्रम, वीरगंज)

गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको फलेनी गापा–९ लप्सीबोटबाट एसएलसीपछि काठमाडौं आएकी थिएँ । पहिले म सानु गुरुङ थिएँ । अहिले मानवसेवा आश्रममा आबद्ध भएपछि मेरो परिचय हो, ‘सानु मानवसेवा’ । आमा नरमाया गुरुङ र बुबा बिर्खबहादुर गुरुङ गृह जिल्ला लमजुङ्गमैं बस्नुहुन्छ । मेरा तीनजना दाजु हुनुहुन्छ । मचाहिं कान्छी हुँ । चार वर्षदेखि मानवसेवा आश्रममा सेवा दिइरहेकी छु । पहिले म काठमाडौंस्थित मानवसेवा आश्रमको सामाखुशीमा शाखा थिएँ । अहिले एक वर्षदेखि वीरगंज शाखामा सेवारत छु । कक्षा १२ मा अध्ययनरत रहँदा बुद्ध एयरमा एयर होस्टेसको काम गर्ने मौका पाएँ ।

कक्षा ११ मा मैनेजमेन्ट पढ्दै थिएँ । व्यावहारिक शिक्षा लिनुपर्ने थियो । यता एयर होस्टेसको काम गरिरहेकोले कुनै कार्यालय वा संस्थामा पूरा समय दिने अवस्थामा म थिइनँ । उता एयर होस्टेसको जागीर पनि छोड्न चाहन्दिनथें । किनभने आर्थिक स्रोत अवरुद्ध हुन्थ्यो । त्यसैले म कुनै यस्तो संस्थाको खोजीमा थिएँ, जहाँ म जागीरबाहेकको समयमा व्यावहारिक ज्ञान हासिल गर्न सक्थें । एकजनाले मानवसेवा आश्रममा जान सुझाए । मसहित करीब १५ जना विद्यार्थी साथी मानवसेवा आश्रम गयौं । प्रायः साथीहरू एक/दुई दिनपछि आउन छाडे । शुरूमा मलाई पनि अप्ठ्यारो नभएको होइन । यद्यपि जागीरबाट फुर्सद हुने बित्तिकै म मानवसेवा आश्रम पुग्थें। स्वयंसेवकको रूपमा आबद्धता निरन्तर रह्यो ।

आश्रममा अनिल र सुनील नाम गरेका दुईजना नाबालक थिए । म एयर होस्टेस भएकोले खल्तीमा सधैं चकलेट हुन्थ्यो । आश्रममा जाने बित्तिकै ती बच्चाहरू दौडेर आउँथे । उनीहरूलाई चकलेट दिन्थें । उनीहरू असाध्यै खुशी हुन्थे । आश्रमबाट फर्किने बेलामा उनीहरूले नजीक आएर सधैं सोध्थे, “दिदी अब कहिले आउनुहुन्छ ?” ती बच्चाहरूको शब्दले मेरो मन छोयो । करीब सात महीना एयर होस्टेसको जागीर गरेर छाडिदिएँ । २०७४ सालमा मानवसेवा आश्रममा पूरा समयको लागि आबद्ध भएर अहिलेसम्म निरन्तरता दिइरहेकी छु ।

साथीहरूले मलाई के भन्थे ? यो पनि रोचक प्रसङ्ग छ । कक्षामा प्रश्न गर्ने मेरो बानी थियो । शिक्षकले पढाइरहँदा आफूले नबुझेको कुरा तत्कालै बुझ्ने प्रयास गर्थें । शिक्षकसँग प्रश्न गर्थें । यो मेरो शुरूदेखिकै बानी हो । तर जबदेखि म मानवसेवा आश्रममा काम गर्न थालें, त्यसपछि मेरो प्रश्न गर्ने बानीलाई साथीहरूले पागलको संज्ञा दिन थाले । साथीहरूले भन्थे, “यो केटी त पागल भइछे ।” शब्दमार्फत उनीहरूलाई प्रतिक्रिया दिन मलाई उचित लाग्थेन । केवल मुस्कुराएर उनीहरूको अनुहार नियालिरहन्थें ।

शुरूमा आमाबुबा र आफन्तजनको चित्त बुझेको थिएन । पछि उहाँहरूले आश्रमको भ्रमण गर्नुभयो । जन्म दिने आमाबुबालाई उद्धार भएर आएका आमाबुबाहरूको भिडियो र फोटो देखाएँ। उनीहरूमा भएको परिवर्तन देखेर आमाबुबा दङ्ग पर्नुभयो । हौसला थप्दै उहाँहरूले भन्नुभयो, “जुन क्षेत्रमा तिमीलाई राम्रो लाग्छ, सोही क्षेत्रमा काम गर । तिम्रो खुशी सर्वोपरि छ ।” दुई वर्षअघि बुबाले भन्नुभएको कुरा घरीघरी याद आउँछ । उहाँले भन्नुभएको थियो, “टोलछिमेकका सबैका छोराछोरी चाडपर्वमा घर आउँछन् । छोराहरू आइसके । तिमीविना घर सुनसान छ ।” फोनमा चाहिं कुरा भइरहन्छ । समय निकालेर घर पनि जाने गरेकी छु ।

मानवसेवा आश्रम सन् २०८२ सम्म खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्ने अभियानमा छ । सबैको साथ, समर्थन र सहयोगले लक्ष्य अवश्य नै पूरा हुने कुरामा हामी पूर्ण विश्वस्त छौं । हामी आफ्नो कामप्रति प्रतिबद्ध छौं । म मेरालागि भन्दा पनि अरूका लागि काम लाग्न सकूँ, सहायता गर्न सकूँ, अहिले यहीं नै मेरो जीवनको लक्ष्य हो । जय मानवसेवा ।

मुना मानवसेवा (सहसंयोजक, मानव सेवा आश्रम, वीरगंज)

प्रदेश १ पाँचथर जिल्लाको याङवारक गाउँपालिका–६ खाले टोल मेरो जन्मथलो हो । तीन दिदीबहिनी र एक भाइमध्ये म माहिली हुँ । बुबा बुद्धवीर लिम्बु र आमा प्यारीमाया लिम्बु गाउँमा बस्नुहुन्छ । कामको खोजीमा काठमाडौं गएँ । तर काठमाडौंमा काम खोज्न त्यति सरल थिएन । अन्ततः सुरक्षा गार्डको तालीम लिएर काम गर्न थालें । मेरो कार्यालयले सरुवा गरेर मानवसेवा आश्रम सामाखुशी शाखा काठमाडांैमा पठायो । द्वारपालको रूपमा काम गर्न थालें । आश्रमका सेवाकर्मीहरू काठमाडौंका विभिन्न स्थानबाट मानिसहरूलाई उद्धार गरेर आश्रममा ल्याउँथे । म सधैं हेर्थें । कुराकानी गर्थें । समयक्रमसँगै म पनि आश्रमको परिवार जस्तै भएँ ।

सानु दिदीको आगमनपछि उहाँसँग अलि बढी घुलमिल भएँ । किनभने मेरो हरेक समस्यामा उहाँको प्रत्यक्ष भूमिका रहन्छ । उहाँको कुराले मलाई सकारात्मक ऊर्जा प्राप्त हुन्छ । सानु दिदीसँगै आश्रमका आमाबुबासँग माया र प्रेम बढ्दै गयो । त्यसपछि मानवसेवा आश्रमको सामाखुशी शाखामा पूर्णकालीन सेवा गर्न थालें र अहिले वीरगंजमा सेवारत छु ।

समूहमा मिलेर काम गर्नुपर्छ । वीरगंज शाखामा पहिले सानु दिदी आउनुभयो । पछि मलाई पनि यहीं बोलाउनुभयो । हामी मानवसेवा आश्रमका सम्पूर्ण परिवार एकबद्ध भएर सेवा प्रदान गरिरहेका छौं । सडकमा फालिएका मानसिकरूपले अशक्त आमाबुबाहरूको सेवा गर्दा आत्मसन्तुष्ट छु । शायद समाजमा मानवताप्रति सकारात्मक सोच अङ्कुरित भएको भए कसैको पनि परिवारका सदस्यलाई आश्रमको आवश्यकता पर्ने थिएन होला । जय मानवता र जय मावनसेवा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here