हाम्रो संस्कृतिको वैविध्य अन्तर्य

0
26
  • सञ्जय मित्र

संस्कृतिको क्षेत्रमा हामी निकै विशाल रहेछौं । हाम्रो संस्कृतिमा विविधता छ । विविधतामा एकता छ । एकतामा पनि फेरि विविधता रहेको छ ।

संस्कृतिका कतिपय अङ्गलाई बाहिरबाट हेर्दा उस्तै देखिन्छ तर भित्र भने भिन्नता रहेको पाइन्छ । सम्भवतः सबै धर्म, समुदाय, सम्प्रदाय तथा जातिमा यस्तो हुन सक्छ । यस पृथकतालाई मौलिकता पनि मान्न सकिन्छ । सिङ्गो संस्कृति जसरी एकताको प्रतीक हुन्छ, त्यसरी त्यहींभित्रको वैविध्य मौलिकताको पहिचान हुन्छ । यही वैविध्य अन्तर्यमा हाम्रो संस्कृति मौलाउँदो छ । यस प्रकारका वैविध्यहरूको खोजी पनि भइरहेको छ । भनिरहनुपर्दैन, मौलिकताको खोजीमा एकताको सूत्र पनि रहेको छ ।

नेपाली संस्कृति भनेको नेपालको सम्पूर्ण क्षेत्र तथा जातिमा प्रचलनमा रहेका संस्कृति न हुन् । यो यति धेरै विशाल छ कि कुनै एक विषयमा अध्ययन गर्न थालियो भने त्यहींको विशालतालाई देखेर मानिस द्रविभूत हुन्छ । यसै अर्थमा देशका सबै संस्कृतिको वैविध्यलाई कोही एकजनाले बुझ्न निकै गाह्रो छ भनिन्छ ।

सामाजिक सञ्जालमा एकजनाले लेख्यो ः भान्जा मामाघर आइपुग्यो ।

अर्को एकले तत्काल प्रतिक्रिया जनाउँदै वाक्य सच्याउन लेख्यो ः भान्जा मामाघर आइपुग्नुभयो ।

निकै लामो बहस चल्यो सामाजिक सञ्जालमा नै । जस्तो कि नेपाली संस्कृतिमा भान्जालाई मामाले तँ वा तिमी भन्नुहुँदैन भन्ने छ । यस कारण जनजिब्रोमा भान्जाको लागि प्रयोग गरिने क्रिया आदरार्थी हुनुपर्छ भन्ने पनि भनियो ।

जवाफ दिनेहरूले यसरी पनि भने ः यदि उसो हो भने भान्जाले मामालाई चिठी लेख्दा सम्बोधन र अभिवादनमा कस्तो शब्द प्रयोग गर्ने ? प्रिय मामा, शुभाशिष् भनेर लेख्ने ? कि आदरणीय मामा, प्रणाम, सादर ढोग आदि भनेर लेख्ने ?

व्यवहारको कुरो पनि कम्ती चाखलाग्दो आएन सामाजिक सञ्जालमा । मामा र भान्जा भेट हुँदा मामाले नै भान्जालाई ढोग्ने चलन रहेको कुरा आयो । फेरि मामालाई भान्जाले तँ वा तिमी शब्दको प्रयोग गर्ने गरेको कतै नपाइएको कुरो पनि सँगसँगै आयो ।

मामा र भान्जाको सम्बन्धमा आदरको कस्तो सम्बन्ध हो ? सामाजिक सञ्जालको बहसले अझ धेरै विस्तारमा बुझ्न सहयोग ग¥यो ।

एकजना मधेसीको प्रतिक्रिया आयो ः हाम्रो मधेसी समुदायमा त मामालाई भान्जाले नै ढोग्ने चलन छ तर मामाले भान्जालाई कुट्नुहुँदैन भन्ने मान्यता रहेको छ ।

यस प्रतिक्रियाको उपप्रतिक्रिया पनि धेरै आयो । यो हुनुहुँदैन । यो ठीक होइन । यसरी हुनु नितान्त नौलो कुरो हो । जवाफ दिनेहरूले लेखे कि संस्कृति मैले बनाएको होइन, चल्दै आएको हो, अहिलेसम्म यही चलेको छ । यस कारण हाम्रो दृष्टिकोणमा ‘भान्जा मामाघर आइपुग्यो’ एकदम सही हो, ठीक हो ।

एउटाले फरक प्रतिक्रिया दिंदै लेख्यो ः भान्जा मामाघर आइपुग्यो भन्नु नेपाली संस्कृति होइन, हामी नेपालीहरू भान्जालाई आदरार्थी शब्द प्रयोग गर्छौं ।

मधेसीको प्रतिक्रिया आएन तत्काल तर पहाडी समुदायकै अर्कै जातिले भने जवाफ माग्दै लेख्यो ः यहाँ नेपाली भन्नुको अर्थ के हो ? नेपाली मातृभाषी, नेपाली नागरिक कि खस–बाहुन ?

पश्चिमको एकजना क्षेत्रीले अलिकति नवीनता थप्दै प्रतिक्रिया जनाए ः मामाले भान्जालाई ढोगे पनि मामालाई भान्जाले जहिले पनि आदर गर्ने परम्परा रहेको छ । मामालाई भान्जाले कहिल्यै अनादरवाची शब्द प्रयोग गरेको पाइन्न । मामाले पनि भान्जालाई आदर नै गर्नुपर्दछ । मामाले भान्जालाई आदर गर्ने संस्कृति नै रहेको छ । तर यसको अर्थ यो कदापि होइन कि मामाभन्दा भान्जा ठूलो भयो ।

साँच्ची कतिपय ठाउँमा त मामाभन्दा भान्जा उमेरले कान्छो पनि देखिएका छन् । उमेरले बढी भएकालाई उमेरले कम भएकाले सम्मान गर्नुपर्ने हाम्रो संस्कृतिको सामान्य व्यवहार हो । यसैगरी, नातामा तलको भएकाले नातामा माथिको भएकालाई सम्मान गर्नुपर्ने हाम्रो सांस्कृतिक व्यवहार हो ।

कथङ्कदाचित् मामाको उमेरभन्दा भान्जाको उमेर बढी छ भने मामाले भान्जालाई ढोग्ने चलन चलेको हो कि ? वा अन्य कारण हुन सक्छ । संस्कृतिमा रहेका सबै कुरालाई कारणसहित खोतल्न सजिलो छैन । फेरि एकै किसिमको संस्कृति भए त अनुसन्धानले देखाउन सक्थ्यो होला तर अन्तर्यमा वैविध्य रहेको अवस्था तथा कतिपय विविधता नै विपरीत खाले भएको अवस्थामा भने अनुसन्धानमा मतैक्य सजिलो हुँदैन ।

मामा–भान्जाको नातामा सम्मानको पक्ष पनि यस्तै देखिएको छ । छिमेकीहरूको तुलनामा भूगोलको दृष्टिकोणले नेपाल सानो देश भएपनि यस प्रकारको सांस्कृतिक विविधता रहेको छ ।
सामाजिक सञ्जालमा प्रतिक्रियामाथि प्रतिक्रिया थपिंदो अवस्थामा यस्तो पनि विचार आएको देखियो ः मधेसको विद्यालयमा पढाउने नेपाली मातृभाषी शिक्षकले भान्जा मामाघर आउनुभयो भनेर पढाउँदा त त्यति प्रतिक्रिया आउँदैन तर मधेसी शिक्षकले पहाडको विद्यालयमा भान्जा मामाघर आयो भनेर पढाउँदा ठ्याक्कै पच्दैन । यसलाई सबैले सच्याउन लगाउँछन् ।

स्क्रिनमा देखा परेको एउटा जिज्ञासा रोचक थियो ः आफ्नो संस्कृतिप्रति जागरूक रहेको विद्यार्थीले परीक्षामा यदि भान्जा मामाघर आइपुग्यो लेख्छ भने अर्को यस प्रकारको चलनसित परिचित नभएका शिक्षकले त गलती लेखेको भनेर नम्बर नै नदिने अवस्था आउन सक्छ । यसैगरी, भान्जा मामाघर आइपुग्नुभयो भनेर लेख्दा यसलाई बेठीक मानेर नम्बर नदिने अवस्था पनि आउन सक्छ । विद्यार्थीले लेखेको कुरो ठीक कि बेठीक भन्ने कुरो विद्यार्थीको संस्कृति अनुसार हुने कि शिक्षकको संस्कृति अनुसार ?

हिन्दू संस्कृति मात्र नेपाली संस्कृति होइन । बौद्ध धर्मप्रति हामी यत्तिकै गर्व गर्दछौं । विश्वलाई भगवान् बुद्ध नेपालले दिएको हो । अन्य कतिपय धर्म र संस्कृति पनि यहाँका मौलिकता हुन् । ती धर्म र संस्कृतिमा यसबारेमा कस्तो धारणा रहेको छ भन्ने विषयमा पनि बुझ्नु आवश्यक हुन्छ । जिज्ञासामा अर्को एकले थपेको प्रतिक्रिया पनि स्वाभाविक थियो ः यस्तो परिस्थितिमा विद्यार्थीको पृष्ठभूमिलाई प्रधान मान्नुपर्ने हुन्छ कि ? शिक्षक उदार हुनुपर्छ । मेरो घरपरिवारमा यस प्रकारको चलन छ भन्ने रूढ दृष्टिकोणको पक्षपाती शिक्षक हुनुहुँदैन र आफ्नो परिवेशको संस्कृतिलाई मात्र नेपाली संस्कृतिको जामा पहिराउनुहुँदैन । सबै संस्कृतिको सम्मान गर्नुपर्दछ।

मामाले भान्जालाई र भान्जाले मामालाई अर्थात् एकले अर्कालाई सम्मान गर्नुपर्ने संस्कृतिलाई यदि विचार गर्ने हो भने यसको अन्तर्यमा सम्मानको संस्कृति प्रमुख रहेको पाउन सकिन्छ । कसैले तपाईं भनेर सम्बोधन गर्दा उसलाई तिमी नै भन्नुपर्छ भन्ने होइन । सम्मानमा उमेर, नाता, सहृदयता आदि जस्ता अनेक पक्ष सन्निहित हुन्छन् । यसभित्र संस्कृतिको अन्तर्यलाई कहिल्यै बिर्सिनुहुँदैन । हो, संस्कृतिभित्र रहेका विकृतिलाई भने बिस्तारै कम गर्दै लैजानुपर्ने हुन्छ । संस्कृतिमाथि एकैचोटि धावा बोल्ने हो भने समाजमा नपच्न सक्छ । संस्कृति पनि परिवर्तनशील हुन्छ तर यसमा बिस्तारै परिवर्तन हुँदै गएको हुन्छ । एकैचोटि कुनै संस्कृति लोप हुने वा विस्तार हुने होइन, यसैगरी आजको भोलि नै कुनै संस्कृति परिवर्तन भइहाल्ने होइन ।

अहिले मलाई लाग्न थालेको छ ः सामाजिक सञ्जालमा पनि कतिपय बहस निकै सार्थक हुने गरेका छन् । यसले आआफ्नै रुचि र क्षेत्रकालाई एकापसमा जोड्न र धेरै कुरा आदानप्रदान गर्न सजिलो बनाएको छ । धेरै सार्थक बहस तथा छलफलले समाजलाई चिन्न पनि सहयोग पु¥याएको पाइएको छ । कतिपय अवस्थामा सरलजस्तो लाग्ने कुरालाई निकै गहन र निकै गहनजस्तो लाग्ने विषयलाई सरल पनि बनाइदिएको छ सामाजिक सञ्जालले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here