नेतृत्व र नीतिको बेइमानीले देशको अधोगति हुँदैछ

0
22
  • वैधनाथ ठाकुर

भनिन्छ, जस्तो देश त्यस्तो भेष । कुरा साँच्चै हो । भदौ २३ गते संसद्मा भएको गाईजात्रा हेर्दा लोकतान्त्रिक गणतन्त्र कस्तो हुँदो रहेछ भन्ने कुरा देखियो । प्रायः मानिसहरूले भन्ने गरेको सुनिन्छ । कुकुरलाई घ्यू पच्दैन रे । घ्यू खाएपछि कुकुरको जीउभरिको रौं झर्छ । खै कुन्नि किन होला हाम्रो देशमा पनि स्थायित्व, इमानदारी, नैतिकता र सङ्कल्प जस्ता चीजहरू कहिले पनि पचेको देखिंदैन ।

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापादेखि शेरबहादुर देउवासम्म आइपुग्दा यति लामो कालखण्डमा पनि पाँच वर्षको कार्यकालसम्म कुनै पनि सरकार चल्न सकेन । राजा महाराजाद्वारा मनोनीत गरिएको सरकार होस् वा जनताद्वारा निर्वाचित सरकार होस्, कुनै पनि सरकार पाँच वर्ष चलेन । अर्थात् सोझो कुरा के हो भने राजनीतिमा स्थायित्व कहिले हुन सकेन।

जब देशको राजनीतिमा स्थायित्व हुँदैन भने त्यो देशले कसरी विकास गर्न सक्छ । यहाँनिर एउटा प्रश्न खडा हुन्छ आखिर किन राजनीतिमा स्थायित्व हुन सकेन ? यस प्रश्नको एउटै सही र बनीबनाउ उत्तर सबैसँग छ । नेपालका आजसम्मका सबै शासक पद र पैसाका लोभी भएकाले विदेशी शक्ति राष्ट्रले पद र पैसाको प्रलोभन दिएर आफ्नो हित अनुकूलको सरकार कायम गर्ने अवस्थाले गर्दा कहिले पनि नेपाली राजनीति स्थिर हुन सकेन ।

भनेपछि हाम्रो देशमा माथिल्लो वर्गमा (राजनीतिकरूपमा) देशभक्ति र राष्ट्रियता कमजोर अवस्थामा र पदलोलुपता तथा कमाउ प्रवृत्ति पूर्णरूपेण बलियो अवस्थामा रहँदै आएको देखिन्छ। हो, यही पदलोलुपता तथा पैसामुखी प्रवृत्तिले गर्दा नेपाली राजनीति यतिञ्जेलसम्म स्थिर हुन सकेन र भविष्यमा पनि यो स्थिर होला जस्तो लक्षण देखिएको पनि छैन ।

झन्डै दुई तिहाइ बहुमतको सरकार खसाएर विपक्षी पार्टीको नेतृत्वमा सरकार बनाउनुको कारण आवरणमा जेजस्ता तर्कहरू गरिए तापनि अन्त्र्यमा केवल पद र पैसा मात्रै रहेको कुरामा कुनै शङ्का छैन । पद, पैसाको भोको मान्छे बजारमा भएपछि त्यसलाई किन्न खोज्ने र त्यसमार्फत आफ्नो स्वार्थसिद्ध गर्ने विदेशी शक्ति राष्ट्रहरूको कुनै कमी छैन ।

महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीद्वारा तुइनको तार काटेर नदीमा बेपत्ता पारिएका नेपाली जीवनबारेमा द¥होसँग भारतीय सरकारसमक्ष कुरासमेत हालसम्म उठाउन सकेको देखिंदैन । भारतीय हेलिकप्टर अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी नेपाली आकाशमा लगातार उड्दा पनि नेपालको वर्तमान सरकारले यसबारेमा मौनता प्रदर्शन गर्नुले नेपालले अझैसम्म अर्धऔपनिवेशिकताको अवस्थाबाट मुक्ति पाएको छैन कि भन्ने भानसमेत हुनु स्वाभाविक हो । छिमेकी राष्ट्रहरूबाट नेपालको सिमानामा भएका पटक–पटकको अतिक्रमण तथा हालसालै जारी गरिएको नयाँ नक्शा विद्यालयको पाठ्यक्रममा नराखिनुले थप रहस्य बनाएको छ ।

यतिबेला नेपालमा सबैभन्दा चर्चाको विषय भनेको एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) सम्झौता हो । यस सम्झौताबाट एकातिर देशको सार्वभौमिकता खतरामा हुन्छ भन्ने भनाइ छ भने अर्कोतिर त्यस्तो केही पनि होइन । नेपालमा यसभन्दा पहिले गरिएका विभिन्न सम्झौताहरू जस्तै यो पनि सामान्य सम्झौता हो भनेर अथ्र्याए पनि वास्तवमा यो सम्झौताले विवाद निम्त्याएको छ ।

एकातिर अमेरिकी सरोकारवाला निकायको हवाला दिंदै राजदूतावासले जारी गरेको वक्तव्यमा त्यस्तो गलत मनसायपूर्ण कुनै बुँदा सम्झौतामा नरहेको भन्दैछ भने अर्कोतिर सम्झौतामा उल्लेख भएका कुनै पनि बुँदा परिवर्तन गर्न नसकिने बताइराख्दा जब हाम्रो देशको अहित हुने कुनै बुँदा छैन भने बुँदा परिवर्तन गर्न के समस्या छ । यसबाट दालमा कालो छ भन्ने कुरा ठम्याउनेहरूको राय ठीक नै होला जस्तो देखिन्छ ।

मानिसहरूका विभिन्न बलहरूमध्ये नैतिक बल पनि एउटा महŒवपूर्ण बल मानिन्छ । नैतिकता भन्ने चीज इमानदारीसँग गाँसिएको हुन्छ । मान्छे यदि इमानदार छ भने उसबाट नैतिकताको आशा गर्न सकिन्छ तर मानिस बेइमान छ भने उसबाट नैतिकताको आस गर्न कदापि सकिंदैन । त्यसैले नैतिकवान् हुनको लागि इमानदार हुनु जरुरी छ । नेपालको राजनीतिमा सबैभन्दा खराब पक्षमध्ये बेइमानी पनि हो । चाहे त्यो राजनीतिक पार्टीहरूसँग विभिन्न बेलामा गरिने मोर्चा, सहमति, सम्झौता, एकीकरण, एकता आदि इत्यादिमा दलहरू आफैंले गरेका सहमतिहरूको मसी सुक्न नपाउँदै बेइमानीपनको व्यवहार प्रदर्शन गर्दै आएको कैयौंपटक देखिएका छन् ।

भनिन्छ, दलहरूबीच राजा ज्ञानेन्द्रसँग भएको सहमति पनि दलहरूले कायम गरेनन् । त्यसैगरी, गिरिजाप्रसाद कोइरालालाई नेपालको पहिलो राष्ट्रपति बनाउने सहमति भएको थियो रे, त्यो पनि प्रचण्डले कायम गरेनन् । त्यसैगरी, सात दलले नेकपा माओवादीसँग गरेका पटक–पटकको सहमति समझदारी तोडेको कारणले पहिलो संविधानसभाबाट संविधान निर्माण हुन सकेन र दोस्रो संविधानसभा गर्नुप¥यो ।

दोस्रो संविधानसभाले गर्दा नै माओवादी क्रमशः कमजोर हुँदै गयो । त्यसैगरी, नेकपा एमाले र माओवादी केन्द्रबीचको सहमति कायम नभएकै कारण दुई तिहाइ बहुमतको सरकार समाप्त भएर प्रतिपक्षी दलको नेतृत्वमा सरकार बन्यो । यो सिलसिला अहिले फेरि शेरबहादुर देउवा र अन्य दलहरूको बीचमा भएको समझदारी कार्यान्वयनमा बेइमानी भएको हुनाले दुई महीना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

कुनै पनि मानिस इमानदार छैन भने ऊ नैतिकवान् पनि हुँदैन, जब ऊ नैतिकवान् छैन भने उसले लिने गरेका सङ्कल्पहरूसमेत झूटो, धोका दिने, ठग्ने, फट्याइँ गर्ने आदि जस्तो मात्रै हुन जान्छ । नेपाली राजनीतिमा थुप्रैचोटि थुप्रै राजनीतिक पार्टीले देश र जनताका नाममा विभिन्न सङ्कल्प लिने गरेका देखिन्छन् । तर कुनै पनि सङ्कल्प कहिल्यै पनि पूरा भएको आजसम्म देखिएको छैन ।

तीन वर्षअगाडि ओली सरकारले भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ र गर्नेलाई छोड्दिनँ भनेर सबैले यो सङ्कल्प सुनेको मात्र होइन बरु ठूल्ठूलो अक्षरहरूमा सरकारी कार्यालयको हाताभित्र लेखेको र देखेको सबैले हो । तर तीन वर्षसम्म ओली सरकार चल्दा जनताको अनुभूति के छ ? भ्रष्टाचार कम भयो ? भ्रष्टाचारी पक्रिए ? ठूला भ्रष्टाचारी कतिजनामाथि मुद्दा चलाइयो ?

कतिजना जेलमा छन् ?

त्यसैगरी, समृद्ध नेपाल र सुखी नेपालीको अठोट पूरा गर्न देशलाई आत्मनिर्भर बनाउन, देशमा स्वदेशी रोजगार सृजना गर्न, उद्योग, कलकारखाना खोल्नलगायतका उत्पादन सम्बन्धित कार्यमा सरकारको के कति रुचि रह्यो ?

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा एउटै साझा उद्देश्य दलहरूको देखियो, त्यो हो जनतालाई के भनेर भोट तान्न सकिन्छ अथवा के देखाएर भोट तान्न सकिन्छ । त्यो सबै काम गर्ने तर त्यस अनुसारको कार्य कहिले नगर्ने अर्थात् गैरकम्युनिस्ट आचरण भएका नेकपा एमाले जो पूर्णरूपेण बुर्जुवा पार्टी हो, त्यसले जनमत आकर्षित गर्न हँसिया हतौडाको झन्डा नछोड्ने तर काम सबै जनहितविरोधी गरिराख्ने । त्यसैगरी, प्रजातन्त्रको ब्यानरमा नेपाली काङ्ग्रेसजस्तोले अप्रजातान्त्रिक काम मात्रै गर्ने कार्यले देशको भविष्य अन्धकार हुन गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here