सडक फूटपाथ अतिक्रमण हटाउन महानगरलाई प्रहरी सहयोग

0
18

प्रस, वीरगंज, २४ भदौ/

वीरगंज महानगरपालिकाको सडक, फूटपाथ अतिक्रमण, छाडा चौपाया नियन्त्रण जस्ता कार्यमा पर्सा प्रहरीले सहयोग गर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले बिहीवार सरोकारवालाहरूको बैठक डाकेर सडक, फूटपाथबाट अतिक्रमण हटाउने र छाडा चौपाया नियन्त्रण गर्ने कार्यमा महानगरपालिकालाई सघाउने गरी कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जथाभावी सडक, फूटपाथ अतिक्रण गरिएको, थुप्रै स्थानमा भर्खरै बनेको पिच सडक, फूटपाथलाई हानि पुग्ने गरी निर्माण सामग्री थुपारिएको र सडकमा जथाभावी छाडा चौपायाले सवारी दुर्घटना भइरहेकोतर्फ गम्भीर ध्यानाकर्षण भएको र यो कार्यमा महानगरपालिकासँग सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको बताए ।

सामुदायिक सेवा केन्द्र, वडाध्यक्षहरूसँग बैठक गरी यो अभियान अगाडि बढाउने निर्णय भएको उनले बताए ।

बैठकमा प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, प्रहरी निरीक्षकहरू दिनेश गौतम, कुशल बर्ताैला, दीपेन्द्र श्रेष्ठ, वडाध्यक्षहरू धु्रव नेपाल, प्रद्युम्न सेढाईं, राजकिशोर गुप्ता, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्याँसुद्दीन मियाँ ठकुराई, सामुदायिक सेवा केन्द्र मीनाबजारका अध्यक्ष विदुर गुप्तालगायतको सहभागिता थियो ।

प्रहरीले आजदेखि यो कार्यको शुभारम्भ गरेको छ । घण्टाघर लिङ्करोडमा सडक, फूटपाथ अतिक्रमण गरिएको क्षेत्र प्रहरी, ट्राफिक, नगर प्रहरीको सहकार्यमा खाली गराइएको छ ।

यसैगरी, बिहीवार ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको पहलमा नगर प्रहरी, ट्राफिक प्रहरीसमेतको सहभागितामा आदर्शनगर क्षेत्रका विभिन्न स्थानमा सडक, फूटपाथमा थुपारिएका निर्माण सामग्री हटाएको ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले बताए ।

उनले लोहारपट्टि, रेशमकोठी चोक, आदर्शनगरको पूजन होटलदेखि घडीअर्वा पोखरी परिसरसम्म अनधिकृतरूपमा सडक, फूटपाथमा राखिएका निर्माण सामग्रीलगायतका वस्तुहरू हटाउन लगाएको बताए । उनले सम्बन्धित सामानधनीलाई अब उप्रान्त सडक, फूटपाथमा सामान नराख्ने भनी लिखित प्रतिबद्धता गराएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here