प्रस, जनकपुरधाम, २४ भदौ/

जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा कोर्स करारका शिक्षक आन्दोलनमा उत्रिएका छन्। करार नियुक्तिको माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।

बितेको एक महीनादेखि विभिन्न चरणको शान्तिपूर्ण आन्दोलन गर्दा पनि माग पूरा नभएपछि बुधवारदेखि आन्दोलनको रूप परिवर्तन गर्दै कडा बनाइएको आन्दोलनरत शिक्षकहरूले बताएका छन् ।

बुधवारदेखि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरिएकोमा उपकुलपतिको कार्यालयको ताला बिहीवार प्रहरीले फुटाएको छ । सो क्रममा प्रहरी र प्रदर्शनकारी शिक्षकहरूबीच केहीबेर झडप भएको थियो ।

पहिलो चरणमा हातमा कालोपट्टी बाँधेर अध्यापन गरेका शिक्षकहरूले बुधवारदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत १५ विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यालयमा धर्ना दिने रहेको छ ।

बिहीवार प्रहरीले ताला तोडे पनि धर्नामा बसेका शिक्षकहरूले पुनः उपकुलपतिको कार्यालयमा ताला लगाइदिएका छन् । आन्दोलित शिक्षकहरूले उपकुलपति र रजिस्ट्रारको कार्यालयमा पुनः तालाबन्दी गरेपछि विश्वविद्यालयका उपकुलपति झाले शिक्षक प्रतिनिधिसँग वार्ताको लागि वातावरण बनाउन आग्रह गरेका छन् ।

विश्वविद्यालयमा हाल ३२ जना करार शिक्षक छन् । स्थापनाकालदेखि नै आफूहरू विश्वविद्यालयमा कार्यरत रहे पनि करारमा नियुक्त गर्न आनाकानी गरिरहेकाले आन्दोलनमा उत्रनुपरेको कोर्स कन्ट्र्याक्ट शिक्षक सङ्घका सभापति दिलीपकुमार यादवले बताए । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here