काबुल, २४ भदौ/एएफपी
काबुलको एक प्रमुख अस्पतालमा कार्यरत नर्स लतिफा अलिजादा उनको पाँच सदस्यीय परिवारमा एकमात्र रोजगार व्यक्ति हुन् । उनले घरखर्चका अतिरिक्त तीन छोरा र बेरोजगार पतिसमेतको हेरचाह गर्नुपर्ने दायित्व छ ।
जब तालिबानले अफगानिस्तानमा कब्जा जमाए, त्यसपछि उनी बेरोजगार भइन् र हाल भविष्यको चिन्तामा परेकी छन् । जब कट्टर इस्लामी समूहले तलब नदिने, अनुहार छोप्ने गरी घुम्टो लगाउनुपर्ने र कामका सिलसिलामा पुरुष सहकर्मीसमेतबाट अलग हुनुपर्ने नियम थोपर्न थालेपछि ती २७ वर्षीया युवती जागीर छाड्न बाध्य भइन् ।
आफ्ना कलिला दुई बच्चाको हात समातेर दर्दनाक अवस्थामा उनले भनिन्, “मैले तलब नपाएको हुनाले जागीर छोडेकी छु,” काबुलको एक सडक बजारमा एएफपीसँग कुरा गर्दै उनले भनिन्, “मलाई लगाइरहेको पोशाक नलगाउन, पुरुषसँग काम नगर्न र महिलासँग मात्र काम गर्न आदेश दिन थालियो, जुन चिकित्सा पेशामा सम्भव छैन, त्यसपछि म जागीर छाड्न बाध्य भएँ ।”
अलिजादा जस्तै अफगानिस्तानका अन्य महिला अब तालिबानको अधीनमा चल्ने शासनमा के हुन्छ भनेर चिन्तित छन् । अचेल अफगानिस्तानको बजारमा खाद्यान्नको मूल्य बढेको छ, इन्धनको लागत बढेको छ र रोजगारका अवसरसमेत साँघुरिंदै गएका छन् । जटिलता थपिंदै गएका छन् ।
यस विषयमा संयुक्त राष्ट्रसङ्घसमेतले चासो व्यक्त गर्दै भनेको छ, खाद्यान्न अभाव, उच्च मुद्रास्फिती र मुद्रामा गिरावटको डरले मानवीय आपत्कालीन अवस्थातिर मुलुकअगाडि बढेको छ ।
परिवर्तित राजनीतिक अवस्थाले गर्दा अब त्यहाँ धेरै सरकारी सेवा बन्द हुने अवस्थामा छन् । अन्तर्राष्ट्रिय सहायता कटौती हुँदैछ र बाह्य सहायतामा निर्भर गतिविधि बन्द हुँदैछन् र महिला थप प्रताडित हुने अवस्थाको सिर्जना हुन सक्ने देखिन्छ । रासस