समृद्धिका लागि पर्यटन

0
21
  • शीतल महतो

पर्यटन भनेको सामाजिक, सांस्कृतिक र आर्थिक घटनासँग सम्बन्धित मानवीय गतिविधि हो । मुख्यतः मनोरञ्जन, व्यक्तिगत वा व्यापार/व्यावसायिक प्रयोजनका लागि मानिसहरूले एक ठाउँबाट अर्को ठाउँ र एक देशबाट अर्को देशको यात्रा गरिरहेका हुन्छन् । उनीहरू नै पर्यटक हुन् र उनीहरूको गतिविधि नै पर्यटन हो ।

पर्यटन क्षेत्रको विकासले देशको भौतिक विकासमा कायापलट हुन सक्छ । अझ प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा भौगोलिक विविधताका कारण नेपालको विकासमा त पर्यटन क्षेत्रको गहन योगदान रहन सक्छ । तर कोभिड–१९ ले विश्वभर नै पर्यटन उद्योगलाई उथलपुथल बनाएको छ ।

सन् २०२० को सुरुआतदेखि तीव्ररूपमा फैलिरहेको घातक महामारीका कारण मानिसहरूको आवागमन प्रभावित भएसँगै पर्यटन र आतिथ्य सत्कारमा आधारित व्यवसायको आम्दानी ठप्प भएको हो । महामारीको अनिश्चितताले पर्यटन उद्योगको भविष्यमाथि नै अन्योल उत्पन्न गरेको छ ।

कोभिड–१९ कै कारण वायुसेवा, क्रुजलाइन, होटल, ट्राभल एजेन्सी, ट्रेकिङसहित पर्यटनसँग आबद्ध/निर्भर हुने अन्य उद्योग व्यवसायहरू पनि सङ्कटमा परेका छन् । हिजोको अवस्थामा नै पर्यटन क्षेत्रलाई जीवित राख्ने, मजदूरलाई व्यवस्थापन गर्ने र पर्यटनसँग जोडिएका अन्य क्षेत्रलाई व्यवस्थापन गर्नुपर्ने देखिन्छ । कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई पुनरुत्थान गरी पुरा नै लयमा फर्काउन पहलकदमी चाल्नुपर्छ ।

पर्यटन उद्योगले ठूलो सङ्ख्यामा रोजगार सिर्जना गरेको छ । तर यही क्षेत्र कोभिड–१९ को शिकार भइदिंदा यसमा आश्रित अर्थात् अन्तरआबद्धता रहेका व्यवसाय र स्वरोजगारसमेत सङ्कटमा परेको छ । पर्यटन उद्योगलाई कर्मचारी जोगाउन (रिटेन्सन) ठूलो चुनौती छ । कोभिड–१९ ले धेरै ठूलो सङ्ख्यामा रोजगार जोखिममा परेको छ । पर्यटन उद्योग र रोजगार बचाउन सरकार र निजी क्षेत्रले सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन । निजी क्षेत्रलाई बचाउन यतिबेला सरकारले सबैथरी विकल्प उपलब्ध रहेको सहयोगको हात अघि बढाउनुपर्ने हुन्छ ।

हुनत पर्यटन क्षेत्रलाई सुरक्षित, गुणस्तरीय र पर्यटकमैत्री बनाएर नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य पन्ध्रौं पञ्चवर्षीय योजना (२०१९–२३)ले लिएको थियो । पर्यटन क्षेत्रमा विविधता ल्याएर अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउने र पर्यटन क्षेत्रको लाभको वितरणबाट सर्वसाधारण जनताको जीवनस्तर सुधार्ने लक्ष्य सो योजनाले लिएको थियो। सन् २०१८/१९ को करीब १२ लाख पर्यटकको सङ्ख्यालाई बढाएर २०२३ सम्म वार्षिक ३५ लाख पु¥याउने, पर्यटन क्षेत्रको २ दशमलव ७ प्रतिशतमा रहेको गार्हस्थ्य उत्पादनलाई १० प्रतिशत पु¥याउने, प्रतिवर्ष दुई लाख रोजगारबाट तीन लाख ८२ हजार पु¥याउने, पर्यटकको सरदर १२ दशमलव ७ दिनको बसाइलाई १५ दिन पु¥याउने, पर्यटकको प्रतिदिनको खर्च ४४ डलरबाट एक सय डलरसम्म पु¥याउनेलगायत उद्देश्य सो योजनामा समेटिएका थिए ।

सन् २०१९ को पर्यटक आगमनको तथ्याङ्क अनुसार नौ लाख ९५ हजार पर्यटक जहाज चढेर नेपाल आएका थिए । नेपाल वायु सेवा निगम, कतार एयरवेज, फ्लाई दुबई, एयर इन्डिया र एयर अरेबियाले ती पर्यटकलाई नेपाल भिœयाएका थिए । सन् २०१९ मा नेपाल आउने पर्यटकमध्ये निकुञ्ज र आरक्ष क्षेत्र घुम्ने चार लाख २९ हजार, लुम्बिनी भ्रमण गर्ने एक लाख ७३ हजार, ट्रेकिङ र माउन्टेनियरिङमा जाने एक लाख ७१ हजार, पशुपति दर्शन गर्ने एक लाख ७१ हजार थिए । देशका हिसाबले दुई लाख ५४ हजार भारतीय र एक लाख ६९ चिनियाँ पर्यटक नेपाल आएका थिए ।

विश्वभर अर्थव्यवस्थाको सफलताका लागि पर्यटन क्षेत्र महŒवपूर्ण मानिन्छ । पर्यटनले अर्थव्यवस्था सुदृढ बनाउन राजस्व बढाउँछ, रोजगार सिर्जना गर्छ, देशको पूर्वाधार विकास गर्छ र विदेशी पर्यटक र नेपाली नागरिकबीच सांस्कृतिक आदानप्रदानको भावना बढाउँछ । हालसम्म नेपालको पर्यटन केन्द्र काठमाडौं उपत्यका, पोखरा, चितवन, लुम्बिनी, बर्दिया, सगरमाथा र अन्नपूर्ण क्षेत्रमा मात्र सीमित छ । नेपालले यीसहित अब नयाँ पर्यटन क्षेत्रको विकास गरी प्रचारप्रसार गर्नुपर्छ ।

नेपालको पर्यटन क्षेत्रले नयाँ गन्तव्य र आवश्यक पूर्वाधार विकास नगरेसम्म पर्यटन क्षेत्रको लाभको वितरणबाट सर्वसाधारण जनताको जीवनमा सुधार आउँदैन । परम्परागत पर्यटकीय गन्तव्यबाट बाहिर निस्किन नसकेको पर्यटन व्यवसायले लाभ प्राप्त गर्न सक्दैन र त्यसबाट नेपाल र नेपालीको उन्नति पनि सम्भव छैन । नेपाल आउने पर्यटकको भौगोलिक वितरणको हिसाबले यो क्षेत्र रोजगार र आर्थिक आय आर्जनका लागि निकै महŒवपूर्ण छ । पहिला शहरकेन्द्रितभन्दा पनि नेपाल आउने पर्यटक नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदालाई नजीकबाट अनुभव गर्न आउँथे ।

एक अध्ययन अनुसार २०१९ मा नेपालमा सात लाख ७८ हजार पर्यटक बिदा मनाउन आएका थिए । त्यस्ता पर्यटकलाई नेपालका दुर्गम र यातायातका आधुनिक साधन नपुगेका स्थानमा पु¥याएर उनीहरूको बिदालाई रमणीय बनाउन सक्नुपर्छ । यसका लागि नयाँ पदमार्ग, सुरक्षित वासस्थान, स्वस्थ खानपिनसहितको प्रबन्ध मिलाउनुपर्छ । आवश्यक नीति बनाउने र तुरुन्त कार्यान्वयन गर्ने जिम्मा सरकारको हो ।

अहिले मुलुकमा नयाँ सरकार बनेको छ । नयाँ सरकारले कोभिड–१९ ले तहसनहस पारेको आर्थिक क्षेत्रलाई पुनरुत्थान गर्न नयाँ पहल लिनु आवश्यक छ । विशेषगरी पर्यटन क्षेत्रले सरकारबाट चमत्कारिक परिणामको अपेक्षा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकता खोप, खोप र फेरि पनि खोप नै हो भनी गरेको प्रतिबद्धता कार्यान्वयन गरे मात्र पुग्छ ।

सबै नागरिकका लागि खोपको प्रबन्ध सबैभन्दा महŒवपूर्ण विषय हो । शिक्षक, विद्यार्थी र पर्यटन व्यवसायी सबैलाई खोपको अति जरुरी छ । यसलाई अनिवार्यरूपमा सरकारको नीति तथा कार्यक्रमका रूपमा स्वीकारिनुपर्छ । पर्यटन क्षेत्रका समस्याको दीर्घकालीन समाधान भनेको महामारीको अन्त्य र व्यवसायलाई पुरानै लयमा फर्काउनु हो । यसका लागि कोभिडविरुद्धको खोप प्राथमिकतामा पर्नुपर्छ । अल्पकालका लागि पर्यटन क्षेत्रमा एकमुस्ट प्याकेजका रूपमा साँवा र ब्याजको पुनर्तालिकीकरण, कर तथा नवीकरण दस्तुरमा छुट वा समयावधि थप, विद्युत् महसूलमा छुट, न्यूनतम ब्याजदरमा ऋणजस्ता विषय समेट्दा राहत महसूस हुन सक्छ ।

पर्यटन क्षेत्र प्राकृतिक पूँजी हो । हिमाल आरोहण, पदयात्रा, वन्यजन्तु, वनस्पति, दृश्य, सम्पदा, संस्कृति, बन्जी जम्पिङ, क्यानोनिङलगायत क्षेत्र नै नेपालका असीम पर्यटकीय उपहार हुन् । यस्ता सम्पदाको उपयोग गरीबी निवारणसँग जोडिनुपर्छ । यो सम्पत्ति कमाउने र लाभको व्यापार बन्नुहुँदैन । विकसित र सम्पन्न मुलुकहरूले आफ्ना टुर अपरेटरलाई सहुलियत दिएका हुन्छन् ।

पर्यटकको आवागमन खुलेपछि अन्य क्षेत्रमा पनि आत्मविश्वास बढ्छ र क्रमशः पर्यटकको आवागमन बढ्न थाल्छ । हाम्रो सरकारले पनि व्यवसायीलाई सक्दो सहयोग गर्नुपर्छ । हाम्रो हवाई नीति पनि उत्कृष्ट हुनुपर्छ । जति धेरै एयरलाइन्स नेपालमा आउँछन्, त्यति धेरै मार्केटिङ पनि हुन्छ । अनिमात्र समृद्ध नेपालका लागि पर्यटन व्यवसाय राष्ट्रविकासको मेरुदण्ड बन्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here