प्रस, वीरगंज, २४ भदौ/

हिन्दू महिलाहरूको सबैभन्दा ठूलो पर्व मानिएको तीज कोरोनाको कारण वीरगंजमा यस वर्ष पनि साधारण तरीकाबाट मनाइयो ।

तीजको अवसरमा दर खाने कार्यक्रम यसअघिको कोरोनाकालमा भन्दा बढी सहभागितामा होटल, रेस्टुराँ, घर समुदायमा मनाइए पनि तीजको दिन बिहीवार भने सार्वजनिक कार्यक्रम गरिएन ।

कोरोनाकालअघि वीरगंजको अलखियामठ, घण्टाघर, विपी उद्यान, माईस्थान पार्कलगायतका ठाउँमा महिलाहरू भेला भएर नाचगान गर्दथे । गत वर्ष नाचगान कार्यक्रमहरू भएनन् भने यसपटक पनि तीजमा माईस्थान पार्कबाहेक अन्य सार्वजनिक स्थानमा नाचगान गरिएन ।

महिलाहरू घर समुदायमा सीमित रहेर टोल–टोलमा नाचगान गरेका थिए । तीजको अवसरमा मानव सेवा आश्रम वीरगंजमा आश्रितहरूले नाचगान गरेर पर्व मनाए । आश्रममा रहेका अधिकांश मनोरोगीहरूलाई तीजको अवसरमा आफूखुशी नाच्न लगाइएको थियो र नाचगान कार्यक्रम चलिरहँदा उनीहरू निकै उत्साहित भएका थिए ।

प्रस, बिरुवागुठी/

पर्सागढीमा यस वर्ष हरितालिका तीज पर्वमा खासै चहलपहल भएन ।

तीजको व्रतका दिन आज महिलाहरू बिहानै नुहाएर शिवालयहरूमा पूजा अर्चना गरे तर कोरोनाका कारण घरसमुदायमा सीमित बनेको तीजको नाचगानले यस वर्ष पनि निरन्तरता पायो ।

सार्वजनिक स्थानमा नाचगान भएन । महिलाहरू जम्मा भएर टोल समुदायमा नाचगान गरी तीज मनाए । स्थानीय सपना न्यौपानेले पूजापाठ गरेर टोलमा महिलाहरू जम्मा भएर नाचगान गरी घरसमुदायमा सीमित भएको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here