मादी नरसंहार

0
21

सङ्खुवासभा जिल्लाको मादी नगरपालिका वडा नं १ खोला गाउँमा एकै परिवारका छजनाको सामूहिक हत्या भएको चार दिन बितिसक्यो । ८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा उक्त नरसंहार भएको कुरा सोमवार बिहान छरछिमेकले थाहा पाएर प्रहरीमा खबर गरे । घटनास्थल आसपास प्रहरी कार्र्यालय छैन । नजीकको भनिएको इलाका प्रहरी कार्यालय चैनपुर ५५ किलोमिटरको दूरीमा छ । त्यहाँबाट प्रहरी टोली घटनास्थल पुग्न छ घण्टाभन्दा बढी समय लाग्यो । जिल्ला प्रहरी कार्यालय खाँदबारीको टोली पुग्न २४ घण्टाभन्दा बढी समय लागेको छ। जम्मा सातजनाको परिवारमा कान नसुन्ने, आँखा पनि नदेख्ने वृद्ध बौद्धमानबाहेक छजनाको बीभत्स हत्या भएको हो । ८४ वर्षीया वृद्धादेखि सात वर्षीया बालिकासमेत मारिएका छन् । अकल्पनीय, कहालीलाग्दो, क्रुर, अमानवीय घटनाको चार दिन बितिसक्दा पनि कसले ग¥यो वा के कारणले हत्या भएको हुन सक्छ भन्ने अनुमानसम्म प्रहरी पुग्न सकेको छैन । हत्या रातिमा भयो कि दिनमा भन्ने अझै अन्योल नै छ । हत्या भएको समयावधिबारे यकीन भए मात्रै प्रहरी अनुसन्धानलाई सहजता हुने थियो । घटना भएको समय अवधि तथा सो आसपासका गतिविधिमा केन्द्रित रही अनुसन्धान गर्दा प्रहरीलाई सफलता हात लाग्न सक्छ ।

जति नै क्रुर, बीभत्स, कारुणिक भएपनि उक्त घटनाप्रति मानवीय समवेदना कम देखिएको छ । समाचारमाध्यमहरूले घटनाबारे समयमा नै सम्प्रेषण गरेका छन् । मुख्यतः सरकार, राजनीतिक दल र नागरिक समाज समवेदनहीन देखिएका छन् । सानातिना घटनालाई राजनीतिक मुद्दा बनाएर आगो बाल्ने राजनीतिक दलहरूको नजरमा सङ्खुवासभाको नरसंहार परेको छैन । नजर परेको भए, यतिबेला सरकारलाई दबाब दिन सडक र सदन तताइसक्ने थिए। अनावश्यक कुरामा सरकारको उछितो पाछितो गरेर नथाक्ने नागरिक समाज र अधिकारवादी अभियन्ता भनिएकाहरू सामाजिक सञ्जालमा बोलिरहेकै छन्, तर उक्त घटनाको आधा साता बितिसक्दा पनि उनीहरूले दुई शब्द खर्चिएका छैनन् । सरकार पनि यही चाहन्छ । जबसम्म दबाब पर्दैन, तबसम्म उसलाई जिम्मेवारी बोध हुँदैन ।

घटनालगत्तै आफ्नो सुरक्षा संयन्त्रमार्फत सरकारलाई जानकारी हुन्छ । अनुसन्धान साथै अपराधको प्रमाण सुरक्षित गर्न र अपराधी पक्राउ गर्न सरकारले तदारूकता देखाउनुपर्ने हो । घटनास्थलनजीकमा प्रहरी चौकी छैन । टाढाको प्रहरी चौकी भौगोलिक कठिनाइका कारण पुग्न समय लाग्ने देखिएको छ भने सरकारले तुरुन्त वैकल्पिक उपाय, हवाइमार्ग अपनाएर भएपनि घटनास्थलमा सुरक्षाकर्मीको पहुँच पु¥याउनुपर्ने हो । घटना अनुसन्धानका लागि आवश्यक स्रोत, साधन, उपकरण तथा जनशक्ति र सामग्रीको व्यवस्था सरकारले गर्नुपर्ने हो । अर्कोतर्फ जहाँ मानव बसोबास छ, त्यस आसपासमा न्यूनतम दूरीलाई आधार मानेर सुरक्षा निकायको उपस्थिति हुनुपर्छ । ५५ किलोमिटरको क्षेत्रसम्म सुरक्षा निकाय नराखिनुको दोष कसको हो ? त्यसको जवाफ सरकारले दिनुपर्छ । घटना घटिसकेपछिको अनुसन्धान तथा कारबाई पुनः यस्तो घटना नदोहोरियोस् भन्नेतर्फ केन्द्रित हुनुपर्छ । त्यसको निम्ति जतिसक्दो छिटो अपराधी पत्ता लगाइ हदैसम्मको कारबाई गरिनुपर्छ । यसो गर्नका लागि सुरक्षा निकायले निर्धक्कका साथ दक्षता प्रदर्शन गर्नुपर्ने हुन्छ । यो वातावरण निर्माण गर्ने जिम्मेवारी पनि सरकारको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here