प्रस, वीरगंज, २३ भदौ/
नेपाली काङ्ग्रेससँग आबद्ध नेपाल मुस्लिम सङ्घले नेका पर्साका उपसभापति दिनाप्रसाद गुप्तालाई ज्ञापनपत्र बुझाएको छ । नेपाल मुस्लिम सङ्घले बुधवार देशभरिका नेकाका जिल्ला सभापतिलाई मुस्लिम प्रतिनिधित्व सङ्ख्या बढाउन आग्रह गर्दै ज्ञापन दिने कार्यक्रम अन्तर्गत आज नेपाल मुस्लिम सङ्घ पर्साका अध्यक्ष जाकिर हुसेन नेतृत्वको टोलीले नेका पर्साका उपसभापति गुप्तालाई ज्ञापनपत्र बुझाएको हो ।
देश सङ्घीयता, समावेशितामा गए पनि अहिलेसम्म कानूनी तथा व्यावहारिकरूपमा लागू नभएकाले नेकाको विगतको महाधिवेशनभन्दा पनि अहिले मुस्लिम प्रतिनिधित्व कम भएको भन्दै ज्ञापनपत्रमा मुस्लिम प्रतिनिधित्व बढाउन आग्रह गरिएको छ ।
ज्ञापनमा १४औं महाधिवेशनको निर्वाचन निर्देशिकाबमोजिम देशभरिका वडाबाट महिला, दलित, आदिवासी, खस आर्य, मधेसी, मुस्लिम, थारू, अपाङ्गता भएका व्यक्तिहरू प्रतिनिधित्वबाट वञ्चित भइरहेको भन्दै ती सबै आरक्षितबाट वञ्चित प्रतिनिधिहरूको मागबमोजिम प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ ।
कार्यक्रममा मुस्लिम सङ्घ पर्साका सचिव रेजवानुल हक, केन्द्रीय सदस्य सकिल मियाँ, स्थानीय नेता ताज अलि अन्सारी, यासिन अन्सारी, नेका पर्साका उपसभापति प्रकाश उपाध्याय, पूर्वउपसभापति दिनाप्रसाद साह, युवा नेता दिलीपराज कार्कीलगायतको सहभागिता थियो ।