प्रस, जीतपुर, २३ भदौ /

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत जीतपुर बजारमा आयोजना हुने गणेश चतुर्थी पूजाको सम्पूर्ण तयारी पूरा भएको छ ।

शुक्रवारदेखि पाँच दिनसम्म भव्य पूजाको आयोजना हुन लागेको बुधवार पत्रकार सम्मेलनमा आयोजक सिद्धिविनायक पूजा समिति, जीतपुरका अध्यक्ष श्रीराम साह कानूले बताए ।

उनले जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित गौशाला मैदानमा कार्यक्रम हुने बताए । पूजाको पहिलो दिन शुक्रवार शोभायात्रा निकालेर महोत्सवको शुभारम्भ गरिने उनले बताए ।

कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै विगतका महोत्सवमा समावेश खेलतमासा, रोटे पिङ आदि नराख्ने र गणेश चतुर्थीको परम्परागत एवं विधिवत् पूजाआजा गरिने अध्यक्ष कानूले जानकारी गराए ।

धार्मिक आस्था अनुसार गणेश भगवान्लाई चढाइँदै आएको महाप्रसाद २५१ किलोको एउटै लड्डुको आकारमा वृद्धि गरी यस वर्ष २६५ किलोको एउटै लड्डु बनाउने बताए ।

उनले गणेश भगवान्को संध्या पूजापश्चात् प्रत्येक दिन ५० किलो लड्डु दर्शनार्थीहरूमा प्रसाद वितरण गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here