लाचार र लाचारी

0
27
  • कुमार रुपाखेती

सामरिक र भौगोलिक कारणले गर्दा नेपाल एउटा सुरक्षित देश मानिन्छ । चीनले तिब्बत र भारतले सजिलै सिक्किम गाभेझैं चीन र भारतले नेपाललाई निल्न सक्दैनन् । संयुक्त राष्ट्रसङ्घ, असंलग्न परराष्ट्र नीति तथा चीन र भारतको वर्तमान अवस्थाले समेत नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता अक्षुण्ण देखिन्छ ।

राजा, महाराजाहरू एकादेशका कथा बनेझैं वर्तमान एक्काइसौं शताब्दीमा छिमेकी राष्ट्रलाई गाभ्न खोज्नु फलामको चिउरा चपाउनुसरह जस्तै कठिन काम हो । विशाल चीन र भारतका बीचमा रहेको सानो मुलुक नेपालबारे यदाकदा ठूला छिमेकीले आफूमा गाभ्छन् कि भन्ने चर्चा परिचर्चा भने चलिरहन्छ । नेपालको उत्तरी भागको रहनसहन चिनियाँसँग मिल्ने तथा दक्षिणी भेगको रहनसहन भारतको नजीक देखिन्छ ।

नेपाललाई गाभ्न असम्भव भएकोले नै यहाँ बेलाकुबेला भारत र चीनले आआफ्नो सिक्का जमाउन चलखेल गरिरहन्छन् । यिनकै देखासिकी गर्दै अचेल पश्चिमा राष्ट्रहरूसमेतले नेपालमा मालिकको भूमिका देखाउन खोज्छन् । सबैले भन्छन् । विभिन्न सम्भावनाले परिपूर्ण नेपाल पानी र अन्य प्राकृतिक खनिजहरूले गर्दा एउटा धनी राष्ट्रमा परिणत हुन सक्छ । तर टुटपुजिया र लोभीपापी राजनीतिक नेतृत्वले गर्दा नेपाल र नेपालीको अवस्था कहालीलाग्दो बनेको छ । यहाँको राजनीतिको प्रमुख मुद्दा र लडाइँ नै कुर्सीप्राप्तिका लागि हो ।

मुलुकमा सम्पन्न थरीथरीका आन्दोलनसमेत कुर्सीमैं सीमित रहे । हाम्रा आन्दोलनहरू केही व्यक्तिको भुँडी बढाउन अस्त्र मात्र बन्यो । राणा, राजा, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका आन्दोलनहरूले विश्वसामु नेपालको शिर ठाडो पार्नुको सट्टा नेताहरूका आगे जनतालाई नतमस्तक गर्न सिकायो र संसारसामु नेपालको शिर झुकाउने काम गर्न थाल्यो । अचेल त विदेशमा रातो पासपोर्टधारी नेपाली भिआइपीसमेतलाई शङ्कालु आँखाले हेरिन्छ ।

नेताहरूको घटिया रवैयाले गर्दा नै विश्वसामु नेपालको शिर झुकेको देखिन्छ । तर नेताहरूले जतिसुकै घटियापन देखाए तापनि वीर गोर्खालीहरूको यो मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रता विदेशीहरूको रखैल बन्न सक्ने सम्भावना पटक्कै देखिंदैन । यस्तै कारणहरूले अत्तालिएको भारतले अचेल मधेसी दलहरूलाई उचालेर उताबाट यता आएकाहरूलाई नेपाली नागरिकता दिने भर्तीकेन्द्र बनाउन भित्रभित्रै कम्मर कसेर लागेको छ ।

नेपाललाई सिक्किम त के भुटानसम्म बनाउन नसकेको व्यथा भारतलाई छ । त्यसैले त घरीघरी नेपाललाई ज्यापुको बुख्याचा बनाएर तर्साइरहन्छ र कमजोर मुटुका कुर्सीप्रेमी नेपाली नेताहरू छुलछुल मुतिरहन्छन् । विदेशी गिद्दे नजरबाट हाम्रो मुलुक सुरक्षित रहे पनि राजनीतिक दलहरूको कायरताले दक्षिणी सीमाका नेपाली नागरिकहरू भारतीय हुल्याहा र छुल्याहा सुरक्षाकर्मीबाट असुरक्षित बन्दै आएका छन् । नेपालको झन्डै २२ जिल्लाको सीमा भारतसँग जोडिएको छ ।

मेचीदेखि महाकालीसम्म भारतसँग जोडिने नेपाली भूभागका जनताहरू कतै न कतै दैनिकजसो भारतीयहरूबाट हेपिने, कुटिने गरिएका छन् । यस्ता असह्य किसिमका भारतीय व्यवहारबारे सरकार पाइपाइ जानकार छ तर जनताप्रति जवाफदेहिता वहन गर्न अक्षम हाम्रा नेताहरू कानमा तेल हालेर भारतलाई ठूल्दाइ मानेर बस्नुमा आफ्नो भलाइ देख्छन् । सङ्क्षेपमा भन्ने हो भने सीमा क्षेत्रमा बस्नेहरू असुरक्षित मात्र होइन टुहुरो नै बनेका छन् । अभिभावकविहीनलाई टुहुरो नै भनिन्छ ।

नेपालको तराईदेखि पहाडसम्म भारतसँग सीमा जोडिएका सबै जिल्लामा भारतीयहरूको एकैखाले उदेकलाग्दो व्यवहार छ । खप्नै नसक्ने, अपराधी प्रवृत्तिको, हत्यासम्म हुँदासमेत नेपाल सरकार रमिते बन्ने गरेको देखिन्छ । भारतसित कुराकानी गर्नसमेत अनकनाउने नेपालले चेतावनी दिने त कहिले हो कहिले ।

धेरै पहिलेदेखि नै भारतीयहरूले नेपाली चेलीहरूलाई फकाइफुल्लाइ भारतका कोठीहरूमा बेच्ने, भारतमैं पसिना बगाएर दशैं तिहारमा नेपाल आउने नेपालीलाई धोती न टोपी बनाएर सीमा क्षेत्रमा लुट्ने, भारतीय जेलमा बन्दी डनले फोनबाट धम्क्याएर नेपाली व्यापारीहरूसँग हप्ता असुली गर्ने, अटेर गर्नेहरूलाई अपहरण गर्ने, नेपालीको मानमर्दन गर्ने, जङ्गे पिलर सारेर गाउँ बसाउने आदि अकल्पनीय कार्यहरू निरन्तर गर्दै आए तापनि नेपाल सरकारको तर्फबाट निदानको लागि कुनै पहल भएको देखिंदैन ।

मन्त्रिमण्डलको भागबन्डा लाग्दा सबै दलको प्रमुख रोजाइमा पर्ने परराष्ट्र मन्त्रालयको त म कुनै काम नै देख्दिनँ, बरु यो मन्त्रालयलाई खारेज गरेकै बेस । न रहन्छ बाँस, न बज्छ बाँसुरी । अरू त अरू सरकारले भारतीय रुपैयाँ जम्मा गर्न नसक्दा सीमापारि भारतीय बजारमा किनमेल गर्न जानेहरूलाई त्यहाँका खुद्रे व्यापारीहरूले समेत नेपाली मुद्राको अवमूल्यन गर्दै भारु एक सय बराबर नेपाली १६५ असुल्छन् । राष्ट्र बैंकले रु एक सयमा १५ पैसा बट्टा लिए पनि राष्ट्र बैंकबाटै इजाजतप्राप्त वीरगंजस्थित सटही काउन्टरहरूसमेतले रक्सौलकै देखासिकी गर्दै आफ्नै नेरुको अवमूल्यन गर्दै हाकाहाकी भारु एक सयको नेरु १६३ देखि १६५ असुल्छन् ।

यसरी मुलुकको अवमूल्यन, जनताको अवमूल्यन, मुद्राको अवमूल्यन हुँदासमेत नागाबाबाले झै आँखा चिम्लेर बस्नेहरूले मुलुककै पतन गराइरहेका छन् । पातकी राजनीतिक दल र तिनका नेताहरूबाट देशलाई बचाउन अर्को आन्दोलन नै जरुरी छ ।

आफ्नै लङ्गोटी खुस्केको चाल नपाउने राजनीतिक दल र तिनका नेताहरूले जनताको इज्जत–आबरु बचाउन द्रौपदीको चीरहरण रोक्ने कृष्णावतार बन्न सक्दैनन् । कंश प्रवृत्तिको यिनको भित्री कलुषित मंसा के हो भन्ने कसैले चाल नपाए पनि मुलुक र जनताको लागि यिनको रवैया सदा ‘कौवा चले हंसकी चाल’सम्म सीमित देखिन्छ । मरणोपरान्त आन्दोलन त यिनले पद, पैसा, पावर र कुर्सीका लागि गर्ने हो । लाचार र लाचारी हाम्रा राजनीतिक दलका विशेषता नै हुन् ।

साउनमा जयसिंह धामीको भारतीय सुरक्षाकर्मीहरूबाट हत्या भएपछि भारतका सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश प्रमुख विजय चौथाइवाल भदौको पहिलो हप्ता नेपाल आए । तर आरजु देउवा राणाले चौथाइवाललाई राखी बाँध्न भ्याइन् भने शेरबहादुरले जयसिंहको नामको उच्चारण गर्न सकेनन् ।

विजय चौथाइवालले नेपालका सबैजसो राजनीतिक दलका नेताहरूलाई दर्शन भेट दिए तर उनीहरूमध्ये कसैले पनि अनाहकमा मारिएका आफ्ना नागरिक जयसिंह धामी र भारतीय सुरक्षाकर्मीको ज्यादतीबारे कुरा गर्न जरुरी ठानेनन् । धिक्कार छ, यिनीहरू सबैलाई । नेपाल सरकारले पीडित परिवारलाई न्याय दिलाउनु त कता हो कता उल्टै नूनचुक लगाउँदै १० लाख लेऊ, मुख थुनेर बस भन्दै धम्क्याउन थालेको छ । यस्ता अपाङ्ग र लाचारहरूबाट कसरी हाम्रो कल्याण होला र ? हाम्रा नेताहरूको चरित्र ‘आफैं राँड देश भाँड’भन्दा तल्लो स्तरमा खस्किंदो छ।

लाचार र लाचारीको पनि एउटा सीमा हुन्छ । नेपाली नेताहरूले त्यो हद उहिल्यै पार गरिसके । अन्याय गर्नेभन्दा अन्याय सहने दोषी हो । हाम्रो दोषी नेताहरूलाई कसले, कहिले सजाय दिने हो, थाहा छैन । कहिलेसम्म हामी भारतीय ज्यादतीको शिकार भइरहने र अकाल मृत्युवरण गरिरहनुपर्ने हो, त्यो पनि थाहा छैन । हे दैव ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here