ठेकेदारको लापरवाहीले चाँदीखोलाको निर्माणाधीन पुल अलपत्र

0
21

राकेश यादव, रौतहट, २२ भदौ/

ठेकेदार कम्पनीको चरम लापरवाही र ढिलासुस्तीले रौतहट, चन्द्रपुर नगरपालिका–३ गैंडाटारस्थित चाँदी खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ ।

ठेकेदार कम्पनीसँग भएको सम्झौता अनुसार हालसम्म सो पुल सुचारु भइसक्नुपर्ने हो । तर निर्माण कम्पनीको लापरवाही र ढिलासुस्तीका कारण पुल अलपत्र अवस्थामा रहेको छ । जसका कारण वर्षाको समयमा स्थानीयको जनजीवन निकै कष्टकर हुने गरेको छ ।

वर्षायाममा चाँदी खोलामा बाढी आउँदा चन्द्रपुर नगरपालिका वडा नं ३ र मकवानपुर जिल्लाका विभिन्न गाउँँका स्थानीयहरूलाई चन्द्रनिगाहपुर आउन र जान निकै सकस हुने गरेको छ । वर्षामा बाढी आएको बेला बिरामी पर्दा अस्पताल लान नपाउँदा केही स्थानीयले ज्यान पनि गुमाउनुपरेको स्थानीयहरू बताउँछन् । त्यतिमात्र होइन वर्षामा नदी तर्ने क्रममा बर्सेनि कोही न कोहीले ज्यान गुमाउनुपरेको घटना गैंडाटारवासीको नियति नै बनेको छ ।

पुलको ठेक्का पप्पु/शिवशङ्कर जेभी कम्पनी गरुडाले मूल्य अभिवृद्धि करसहित २५ करोड ३६ लाख २४ हजार २८२ रुपैयाँ ६० पैसामा सकार गरेको छ । पुलको शिलान्यास २०७३ पुस २५ गते सोमवारका दिन तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले गरेका थिए ।

सम्झौता अनुसार सो पुल २०७६ असार मसान्तसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने हो । तर सो अवधिसम्म पनि पुल निर्माण कार्य नसकिएपछि पहिलोपटक साधारण खरीद नियमावली (नवौं संशोधन) अनुसार डेढ वर्ष म्याद थपिएको थियो । सो अनुसार २०७७ पुस १४ मा निर्माण कार्य सक्नुपर्नेमा सो अवधिमा पनि ठेकेदार कम्पनीले कोरोना, लकडाउनलगायतका विभिन्न बहानीबाजी गर्दै निर्माण कार्य सकेन । फेरि दोस्रोपटक नेपाल सरकारको २०७७ माघ ११ गतेको निर्णय अनुसार  कोभिड–१९ को कारण देखाइ पाँच महीना म्याद थप गरिएको थियो ।

जस अनुसार २०७८ असार १३ गतेसम्म पुलको निर्माण कार्य सक्नुपर्ने थियो तर पुल निर्माण कार्य भने अझैसम्म ४० प्रतिशत बाँकी रहेको डिभिजन सडक कार्यालय, रौतहटले जनाएको छ। सो कार्यालयका अनुसार जम्मा ११ वटा स्पान रहेको सो पुलमा हालसम्म तीनवटा स्पानको मात्र काम पूर्णरूपमा सकिएको, एउटा स्पानको ढलान सकिएको र एउटा स्पानको ढलानको लागि बिम कसिएको छ । अझै पनि छवटा स्पानको काम बाँकी रहेको छ । निर्माण कम्पनीले हालसम्म विभिन्न मितिमा गरेर मूअकसहित १२ करोड ७० लाख ६४ हजार ८३९ रुपैयाँ भुक्तानी भने लगिसकेको छ ।

पुल नबनेर आफूहरूले दुःख पाउँदा जनप्रतिनिधिहरूले पनि चासो नदिएको र आफूहरूलाई पुलको ललिपप देखाएर भोट बैंकको रूपमा मात्र प्रयोग गरिरहेको रौतहट चन्द्रपुर नगरपालिकाका स्थानीयहरूकोे गुनासो छ ।

थपिएको म्यादमा पनि पुल नबनेपछि स्थानीयले सङ्घर्ष समिति नै बनाएर पुल निर्माण गर्नका लागि दबाबमूलक कार्यक्रमहरू गर्दै आइरहेका स्थानीय भास्कर धिमालले बताए । हामीहरूले डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरमा ज्ञापनपत्र बुझाउँदै पुल निर्माण गर्न दबाब दिएका थियौं तर सोही कार्यालयमा स्थानीय, डिभिजन सडक कार्यालयका प्रतिनिधि तथा ठेकेदार दयाराम साहबीच भएको वार्तामा ठेकेदार साहले २०७७ मङ्सिर २० गतेदेखि दैनिक २० जना कामदार लगाएर पुल निर्माण दु्रत गतिमा अगाडि बढाउने र मङ्सिर ३० गतेदेखि थप २० जना कामदार थप गरेर समयमैं पुल निर्माण गरिसक्ने लिखित प्रतिबद्धता गरेका थिए । तर ठेकेदार साहले सो प्रतिबद्धता पूरा नगरेको र दैनिक ४० जना  कामदारबाट काम गराउनु त परै जाओस् ४–५ जना पनि नहुने गरेको स्थानीय धिमालले बताए ।

स्थानीयहरूले चाँदी खोलामा बन्दै गरेको पुल अलपत्र छाड्ने ठेकेदारलाई कारबाई गर्नुपर्ने माग गर्दै आएका छन् । स्थानीयले सो पुल समयमैं निर्माण सम्पन्न गर्न पटक–पटक विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए पनि कसैबाट सुनुवाइ नभएको गुनासो गरेका छन् । तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठ तथा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले सो पुलको स्थलगत निरीक्षण गर्दै पुल निर्माणको काम समयमैं सक्न निर्देशन दिएका थिए ।

तर विभागीय मन्त्रीको निर्देशनपछि पनि काम नभएकामा स्थानीय निकै नै निराश भएका छन्। उनीहरूले यो ठेकेदार कम्पनीबाट सो पुल नबन्ने भएकोले नयाँ कम्पनीलाई ठेक्का दिनुपर्ने माग गर्दै आइरहेका छन् ।

कुल ४६९.५० मिटर लम्बाइ रहेको सो पुलको ठेक्का लिएको पप्पु/शिवशङ्कर जेभीका ठेकेदार साह रौतहट निर्माण व्यवसायी सङ्घका अध्यक्षसमेत हुन् । जिम्मेवार पदमा बसेका अध्यक्ष साहलाई कसैले कारबाई गर्न नसकेको कारण पुल बन्न नसकेको स्थानीयको आरोप छ ।

यता डिभिजन सडक कार्यालय रौतहटले २०७७ माघ २७ गते राष्ट्रिय पत्रिकामा एक सूचना निकालेर तोकिएको समयमा सम्झौताबमोजिम कार्य सम्पन्न नगरेको र पटक–पटक मौखिक ताकेता गर्दा पनि ठेक्का सम्पन्न गर्न चासो नदेखाएकोले ठेक्का किन नतोड्ने तथा कालोसूचीमा किन नराख्ने भन्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेकोमा सो निर्माण कम्पनीले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले अर्को स्पष्टीकरण सोध्ने र त्यसमा पनि चित्त नबुझे कारबाई प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

ठेकेदारको लापरवाही र सरोकारवाला निकायहरूले विशेष चासो नराख्दा आफूहरूको पुल माथिबाट चाँदी खोला तर्ने सपना केवल सपना मात्र हुने हो कि भन्ने चिन्ताले स्थानीयहरूलाई सताउने गरेको छ । उनीहरू प्रश्न गर्छन्, ठेकेदारको ढिलासुस्ती र आलटालका कारण कहिलेसम्म चाँदी खोलामा बगेर ज्यान गुमाउनुपर्ने हो ?

सो पुल मात्र होइन पप्पु/शिवशङ्कर जेभीले ठेक्का पाएका जिल्लाका लमाहा नदी पुल, लौकाहा खोला पुल अनि तरहरी खोला पुल पनि अलपत्र पारेको छ ।

सो पुलहरूका बारेमा पनि डिभिजन सडक कार्यालयले राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै स्पष्टीकरण सोधेको छ । यसरी ठेक्का ओगट्ने तर काम भने नगर्ने मनोवृत्ति भएका ठेकेदार र ठेकेदार कम्पनीलाई कारबाई गरी कालोसूचीमा राख्नुपर्ने स्थानीयहरूको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here