सम्पन्नदेखि निम्न आयस्तर भएका घरपरिवारसम्म अधिकांशको भान्सा रमाउने माछामासुले नै हो । शाकाहारीबाहेक मांसहारीहरू सकभर भान्सामा माछामासु रहोस् भन्ने चाहन्छन् । कुनै पनि घरको भान्सा त्यस परिवारको जीवन हो । घरपरिवारका सदस्यको स्वास्थ्य कस्तो बनाउने भन्ने कुरा जानीनजानी भान्साबाटै शुरू हुन्छ । ‘स्वास्थ्य नै धन हो’ हाकिम–कर्मचारी, नेता–जनता, सम्पन्न–विपन्न सबैमा यो लागू हुन्छ । तर त्यही भान्सामा आउने माछाको बजारको अवस्था वीरगंजमा दयनीय छ । वीरगंज महानगरको मुख्य बजार क्षेत्रमा एक ठाउँ मात्रै स्थायी माछा बजार छ । अन्यत्रको माछा बजारको अवस्था अस्थायी, अव्यवस्थित र टीठलाग्दो छ । सार्वजनिक सडक वा अस्थायी स्थानहरूमा लागेका माछा बजार आज एक ठाउँ, भोलि अर्कै ठाउँ सर्नुपर्ने बाध्य छ । यसो भइरहँदा माछा व्यवसायीहरूका ग्राहक भड्कने त छँदैछ, ठाउँ परिवर्तन हुँदा ठाउँ छेक्ने विषयमा व्यवसायीबीचमा नै मनमुटाव पनि बढ्ने गरेको छ, यी दुवै कुराले व्यवसायमा नकारात्मक प्रभाव पारिरहेको छ ।
पोखरीबाट निकालेको वा फ्रिजबाट निकालिएको माछा निश्चित समयभित्र बिक्री गरिसक्नुपर्छ । बिक्री गर्ने स्थलको नै ठेगान छैन । माछा बेच्दाबेच्दै पिठ्यूँमा प्रहरीको लाठी आइपुग्ने हो कि भन्ने चिन्ता सधैं छ । नेपाल प्रहरी वा नगर प्रहरीको छड्केमा पर्दा माछा नै जफत हुने अवस्था पनि छ । बेच्दाबेच्दैका माछा पोको पारेर भाग्नुपर्ने वा चनाखो अवस्थामा रहनुपर्ने नियति नै बनेको छ । माछा व्यवसायी चोर होइन, डाँका पनि होइन । फेरि पनि व्यवसाय गरेर खान सधैं त्राहिमाम छ । व्यवसायीहरू धूलो उड्ने सडक किनारमा घामपानी खपेर माछा बेचिरहेका छन् भने कुनै दिन फोहर, दुर्गन्धयुक्त खुला नालीको छेउछाउमा बसेर माछा बेचिरहेका हुन्छन् । व्यवसायीको दुःखकष्ट आफ्नो ठाउँमा छ । धूलो, मैलो, नाली वा शौचालयका झिङ्गा भन्कने ठाउँमा बिक्री गरिने माछाले उपभोक्ताको स्वास्थ्यमा पनि कैयौं समस्या निम्त्याइरहेका छन् । अव्यवस्थित स्थलमा बिक्री हुने माछाले उपभोक्ताको भान्सा रमाउनेभन्दा पनि डरलाग्दा सरुवा रोगलाई पनि भान्सामा निम्त्याइरहेको हुन्छ ।
दोष माछा व्यवसायीको होइन । माछा कृषि उपज हो, कृषि उपजको व्यापार, व्यवसायमा राज्यका हरेक अङ्गले सहयोग र सद्भाव राख्दै व्यवस्थित गर्नुपर्ने हो । खुद्रा व्यवसायीले सानो पूँजी लगानी गरेर स्वरोजगार सिर्जना गर्नुका साथै परिवारको भरणपोषण गरिरहेका छन् । तर व्यवसायीकै घरअगाडिको सरकारको यसतर्फ ध्यान जान सकेको छैन । समाजका सबै तह, तप्का र अधिकारप्राप्त अधिकारीहरू पनि उपभोक्ताको रूपमा माछा खरीद गर्न माछा बजार पुग्छन् । कुनै पनि उपभोग्य सामग्रीको बजार व्यवस्थित हुनु भनेको हरेक उपभोक्ताको अधिकार व्यवस्थित हुनु हो । हरेक वडामा वडा समिति छ । कुनै न कुनै वडामा व्यवसायीको घर छ । घर भएकै वडामा बिक्रीस्थल नभए पनि अन्य कुनै वडामा होला । आफ्ना नागरिकको व्यवसायलाई व्यवस्थित गराउनका लागि एक अर्को वडाबीच समन्वय गरेर पनि माछा बजार व्यवस्थित गर्न सकिन्छ । आवश्यक परे सम्बन्धित वडाहरूले पालिकामा अनुरोध गर्न सक्छन् । कुनै पनि वडा तथा पालिकामा बजेटको कमी छैन । हेर्ने नजरको कमी मात्रै छ । सुतेका सरकारहरूलाई हरेक उपभोक्ताले पनि बिउँझाउने प्रयास गर्नुपर्छ ।