प्रस, वीरगंज, २२ भदौ/
वीरगंजका बस व्यवसायीहरूले वीरगंज बसपार्क सञ्चालकविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
छवटा व्यवसायी सङ्घले प्रजिअ पीताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा हाल बसपार्क सञ्चालकले पूर्वसहमतिविपरीत दोब्बरी शुल्क उठाएको र परवानीपुर पोस्ट गैरकानूनी तरीकाले सञ्चालन गरेको आरोप लगाएका छन् । विभिन्न बस व्यवसायी सङ्घका तर्फबाट विनोद मानन्धर, सुमन श्रेष्ठ, जगतसाह कानू, श्याम उप्रेती, फिरोज हवारी, हरिशरण बजगाईंले हस्ताक्षर गरी प्रजिअलाई बुझाएको पत्रमा सहमतिविपरीत शुल्क नलिन, सबै बसलाई बस टर्मिनलबाट छुट्ने व्यवस्था मिलाउन र सोसम्बन्धी बस टर्मिनल सञ्चालकसँग यसअघि भएका सम्झौता पालना गराउन, परवानीपुर ढाट हटाउन र सानो दूरीका सिटीराइड बसहरूसँग दैनिक एकपटक मात्र बस टर्मिनलबाट निस्केको शुल्क लिन आग्रह गरिएको छ ।
यसबारे वीरगंज महानगरसँग साझेदारी गरिरहेको एनके इन्टरनेशनल प्रालिका सञ्चालक शिवजी गुप्ताले व्यवसायीहरूको आरोपमा सत्यता नभएको बताए । उनले महानगरसँग भएको सम्झौता अनुसार शुल्क लिएको र परवानीपुरमा ढाट राखेर बस टर्मिनललाई बाइपास गरी सञ्चालित बसहरूको निगरानी गरी रु २ सय जरिवाना गर्ने गरेको बताए । उनले आधुनिक बसपार्कको निर्माण भइसक्दा पनि बस व्यवसायीहरूले दैनिक ३५ वटा मात्र रात्रि होल्ड गर्ने, दिवासेवाको पनि दुई सयभन्दा बढी बस टर्मिनलमा नराख्ने गरेको बताए । उनले वीरगंजमा करीब छ सयवटा बस रहेको र अधिकांश बस टर्मिनलबाहिरबाट सञ्चालन भइरहेको बताए ।