कसले गर्ने माछा बजारको व्यवस्थापन ?

0
121

राधेश्याम पटेल, वीरगंज, २१ भदौ/

निश्चय नै सबैले रोजगार गर्न पाउनुपर्छ, तर रोजगारबाट एकथरीले फाइदा कमाउने र अर्काथरीले नोक्सान बेहोर्ने कुरा विडम्बना हो । जसले आफ्नो व्यापार–व्यवसायबाट नाफा कमाउँछ, त्यसबाट सिर्जित अव्यवस्थाको व्यवस्थापन पनि उसले गर्नुपर्छ भन्ने सामान्य सिद्धान्त हो ।

तर वीरगंजमा फोहर गर्नेले कहिले पनि फोहर व्यवस्थापन आफ्नो दायित्व ठान्दैन । सबै कामको जिम्मा पालिकालाई दिन्छ । सरसफाइको दायित्व निश्चय नै महानगरपालिकाको हो, तर उसको पनि केही सीमा हुन सक्दछ । यस अवस्थामा मध्यमार्ग उचित हुन्छ । र जतिछिटो हुन्छ महानगरपालिकाले प्रत्येक वडामा सबै प्रकारका सामग्री बिक्री गर्नका लागि पायकपर्दो ठाउँमा बजार बनाउनुपर्दछ । अन्यथा महानगरपालिका, प्रहरी, नागरिक र व्यवसायीबीच कहिले नटुङ्गिने विवाद रहिरहन्छ ।

सन्दर्भ हो वीरगंज, श्रीपुरस्थित नेपाल टेलिकमअगाडिको सडक र कृषि सामग्रीभन्दा उत्तर गलीमा लाग्ने गरेको माछा बजारको । केही महीनाअघि सम्झना होटलअगाडि उक्त बजार लाग्थ्यो । तर प्रहरीले कडाइ गरेपछि भित्री गलीमा माछा बजार लाग्ने गरेको छ । दिउँसो २ बजेपछि वीरगंज–१२ मुर्लीका करीब ३० परिवारले माछा बजार लगाउँछन् ।

एक वर्षअघि उनीहरू मुर्ली चोकभन्दा पश्चिम र मूल सडकभन्दा पश्चिमको खाली जमीनमा माछा बेच्थे । जगरनाथपुरका गापा अध्यक्ष जालिम मियFँको उक्त जग्गामा बजार राख्दा मासिक २ हजारदेखि ३ हजारसम्म भाडा तिर्नुपथ्र्यो तर दुई वर्षदेखि कोरोना महामारीका कारण बजार प्रभावित भएपछि भाडा किन दिने भन्दै साइकलमा घुमाएर माछा बिक्री गर्थे ।

लकडाउन खुकुलो भएपछि सम्झना होटलअगाडि सडकमैं माछा राखेर बेच्न थाले । वीरगंज–पावरहाउस क्षेत्र आफैंमा व्यस्त सडक हो । दिउँसो २ बजेपछि साँझ ६ बजेसम्म माछा बजारका कारण ट्राफिक जाम, भीडभाड र बजार लगाउने क्षेत्रमा फोहोर थुप्रिन थालेपछि सर्वसाधारणले प्रहरी प्रशासनमा उजूरी गरे । “प्रहरीले दैनिक लखेट्ने, माछा खोस्ने र कुटपिट गर्ने, हप्काउने गर्छ”–माछा व्यवसायी बताउँछन् । करीब ४० वर्षदेखि परिवारले माछा बिक्री गरेर गुजारा गर्दै आएको वीरगंज मुर्लीका असलम राइन बताउँछन् ।

“वीरगंज महानगरले बजार लगाउन ठाउँ दिंदैन, सडकमा बेच्यो भने नगर प्रहरी र नेपाल प्रहरीले दुःख दिन्छन् । गरीब के देखेवाला के बा (गरीबलाई हेर्ने को छ ?) लाठी प्रहार गरेर लखेट्छ, माछा खोसिदिन्छ”– उनी गुनासो पोख्छन् । अर्का माछा व्यवसायी जहिर मियाँले सडकमा बजार लगाउँदा उपभोक्ताले सस्तोमा माछा किन्न पाउने तर्क अघि सारे ।

वीरगंज–१३ राधेमाईका श्रवण साह माछा किन्दै गर्दा भेटिए । उनले भने–“अरू ठाउँभन्दा यहाँ ताजा माछा पाइन्छ, भाउ पनि सस्तो हुन्छ, त्यसैले म यहींबाट माछा किन्छु ।”

तर स्थानीय बासिन्दा जथाभावी सडकमैं माछा बजार लगाउँदा र बिक्री गरेपछि माछाको आन्द्रा, भुँडी र कत्ला त्यहीं सडक वा नालामा फ्याकिदिंदा नाक थुनेर हिंड्नुपर्ने बताउँछन् ।

“माछा बजार छुट्टै हुनुपर्छ”–मुर्लीका सोहन साह भन्छन्–“माछा बेच्ने ठाउँ दुर्गन्धित बन्छ, व्यवसायीले फोहोर व्यवस्थापन गर्दैनन्, जथाभावी फाल्छन् । कहिलेकाहीं फोहरले नाला थुनिएर पानीको बहाव नै रोकिन्छ ।

वीरगंज महानगर सरसफाइको ठेक्का पाएको पृथ्वी तारा कन्स्ट्रक्शनका प्रतिनिधि शिवजी गुप्ता माछा बजार टाउको दुखाइ हो भन्छन् । “सधैं केही सफाइकर्मी गएर सो क्षेत्र सफा गर्नुपर्छ”– उनले भने–“फाइदा लिने उनीहरू, दुःख र सास्ती जनता र कर्मचारीले बेहोर्ने ?” उनले बजार व्यवस्थापन गर्न महानगरले ठोस योजना ल्याउनुपर्ने बताए ।

वीरगंज महानगरको नगर प्रहरी इन्चार्ज हरि भुसालले पटकपटक बजार नलगाउन चेतावनी र आवश्यक कारबाई गर्दासमेत नमान्दा कहिलेकाहीं बल प्रयोग गर्नुपरेको बताउँछन् । उनी भन्छन्– “स्थानीयको गुनासो आएपछि महानगर सफा बनाउन प्रयत्न मात्र हुन्छ । भाडाको ठाउँ छँदैथियो, सडकमा बजार लगाउन त पाइँदैन नि !

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले भने–“प्रहरीले सधैं गस्ती तथा निगरानी गर्छ । प्रहरी देखेपछि माछा व्यवसायी भाग्छन् र फर्केपछि बजार लगाउँछन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here