संयुक्त राज्य अमेरिका, २० भदौ/एएनआई
वाशिङ्टन डिसीमा भएको गोलीकाण्डमा परी कम्तीमा तीनजनाको मृत्यु भएको र अन्य तीनजना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
लङ्फेलो स्ट्रीटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिवार साँझ ७ः३० (ग्रीनबीच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो । डिसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ–“आक्रमणबाट तीनजनाको मृत्यु भएको छ र तीनजना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ ।”
डिसी प्रहरी प्रमुख रबर्ट कोन्टेले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार संदिग्धहरू एक्कासि गाडीबाट बाहिर निस्केर धन्धाधुन्ध मानिसको भीडमा गोली हानेका प्रत्यक्षदर्शी भनाइ तथा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतक सबै वयस्क हुन् । प्रहरी प्रमुखले गोली चलाउने समूहबारे जानकारी ल्याउने जोसुकैलाई ७५ हजार अमेरिकी डलर इनाम दिने घोषणा गरेको छ । रासस