धन्यवाद देउवाजी

0
45
  • कुमार रुपाखेती

माधव नेपाल र उपेन्द्र यादवको पुच्छर समातेर वैतरणी पार गर्न सकिन्छ भन्ने भ्रममा परेकाहरू अहिले झल्यास्स भएका छन् । यस्ता पिछलग्गुहरूको बैतरणी भनेको मन्त्री पद हो । सबैलाई थाहा छ एक महीनाभन्दा अघिदेखि नै शेरबहादुर देउवाले नेपालकै इतिहासको लज्जास्पद र अपाङ्ग मन्त्रिमण्डलको नेतृत्व गरिरहेका छन् ।

मन्त्री पदका थुप्रै आकाङ्क्षी भएकाले नामावली पठाउन असमर्थ रहेको कुरा माधव र उपेन्द्रले बारम्बार दोहो¥याउँदै सहयोगी भनिने आफ्ना पिछलग्गुहरूको पदलोलुपता उजागर गर्ने, बदनाम गर्ने काम गर्दै आएका छन् । माधव र उपेन्द्र नेतृत्वमा जन्मेका नयाँ दलका कार्यकर्ताहरू झर्ला र खाउँला भन्ने आस गर्दै यिनको पछि लागेका हुन् । लोभी–पापीहरूको यो जमात मन्त्री पद नपाएपछि लाखापाखा हुने र नेतृत्व तहलाई समेत चुनौती दिन सक्ने शीर्ष नेताहरूमा देखिन्छ ।

आफ्नो आड्ढो छारो उडाउँदै अस्ति प्रचण्डले एक सभामा हाकाहाकी नै मिल्ने भए त आफ्नो पार्टीको ४९ सांसदहरूलाई मन्त्री बनाइदिन्थे भन्दै सरेआम आफ्ना सांसदहरूको बदनामी गरे । त्यसो त प्रचण्ड, माधवहरूसमेतले विगतमा प्रधानमन्त्री खान ज्यान फालेर लागेको इतिहास नै छ । अहिले जइसन गुरु वैसन चेलाको अवस्था सृजना हुनु स्वाभाविकै हो ।

पटक–पटक प्रधानमन्त्री बनिसकेका शेरबहादुर देउवासमेत यो बुढेसकालमा जवानीको जोश देखाउँदै प्रधानमन्त्री र पार्टी सभापतिको पद हत्याउने प्रपञ्चमा सक्रिय भएको सबैले अनुभव गरेकै कुरा हो । नेपाली राजनीतिमा मैं लाउँ, मैं खाउँ, सुख सयल सबै मैं गरूँ भन्ने प्रवृत्ति देखिन्छ । नयाँ ९ दिन पुराना सौ दिन भन्ने उखानलाई यी पदलोलुपहरूले सार्थक बनाएका छन्।

केही महीना अघि पर्साका सांसद विमल श्रीवास्तवलाई ढाढस दिंदै पूर्व प्रम ओलीले– मैले त दुईदुईपल्ट किडनी चेन्ज गराइसके, म अझै तीन चार चुनाव लड्छु, तपाईं पनि चुनाव नलड्ने कुरा नगर्नुस्, तपाईं मभन्दा कान्छै हो । चुनाव लड्नुपर्ने आशय व्यक्त गर्दै अहिले रिटायर्ड नहुने सङ्केत गरेछन् । यसरी बूढाखाडाले काठमाडौंको जाम सडकझैं बाटो नछोड्नाले दोस्रो, तेस्रो दर्जाका नेताहरूले त्यही बाटो पछ्याउँदै पटक–पटक हुँदोखादो मन्त्री पदमा दाबेदारी गर्ने गरेको देखिन्छ । प्रधानमन्त्री पदको प्यासा त बिचरा रामचन्द्र पौडेल पनि हुन्, तर उनी पनि देउवाको जाममा परेकोप¥यै छन् ।

सबैलाई थाहा छ, पार्टीलाई जतिसुकै झटका लागे पनि पार्टी क्षतविक्षत हुँदासमेत ओली, प्रचण्ड र उपेन्द्रहरूले पार्टी अध्यक्षको कमान आफ्नै हातमा राखेका छन् । बाचुन्जेल आफूहरू पार्टी अध्यक्षबाट टसमस नहुने अनि सबै जुनियरहरूले मन्त्री पदमैं आँखा लगाए भनेर राँडो रुवाई रुनुको अर्थ के नै रह्यो ?

दल दर्ता गर्न कैदीझैं होटल, रिसोर्टमा थुनिएर बस्नेहरू पनि त चिचीपापा पाइन्छ भनेर नै जाग्राम बसेका हुन् । निर्वाचन आयोगमा सशरीर सनाखत गराउन हाईहाई गर्ने अनि खानेपिउने मौका आउँदा बाईबाई गर्नु कहाँको न्याय हो ?

आयो टप्प टिप्यो भनेझैं वर्तमान स्वास्थ्य राज्यमन्त्रीझैं झपट्टा मारेर मन्त्री पद हात पार्नेहरूको त्रासले मन्त्री पदका थुप्रै सक्रिय आकाङ्क्षीहरू परदेशी कार्यकर्ता भनाउँदाहरूसँग त्रसित पनि देखिन्छन् । माधव र उपेन्द्रको दलमा परदेशी कार्यकर्ताहरूको त हुम्बोहुम्बो नै चल्न थालेको छ रे !

विभिन्न बहानामा मन्त्रिपरिषद्को विस्तार हुन सकेको भन्दै देउवाले आफ्नो बचाउ गरे तापनि दलहरूबीचको आन्तरिक कलह, थान गन्तीमा प्राप्त हुने मन्त्री सङ्ख्या र खसमखास मन्त्रालय लिने रस्साकस्सी पनि मन्त्रिमण्डल विस्तारको प्रमुख बाधक रहेको कुरा विश्लेषकहरू बताउँछन्। प्रधानमन्त्री बनेपछि जङ्गे पाराले शासन चलाउने हाम्रो परम्परा देखिन्छ, जसले गर्दा भीमसेन थापाहरूले त्यतिकै ज्यान गुमाउनुपर्ने अवस्था छ ।

मुलुक बहुदलमा प्रवेशपछि उत्पन्न खिचलोलाई स्व. राजा वीरेन्द्रले मुसुमुसु हाँसेर सुनेझैं वर्तमान उठापटकलाई ओलीले त्यही शैलीमा मजा लिइरहेका छन् रे !

कतिपय राजनैतिक विश्लेषकहरूका अनुसार यदि फितलोको नाजायज फाइदा उठाउँदै देउवा पनि ओली पथ अर्थात् मध्यावधि निर्वाचनतर्पm आकर्षित हुन थालेका छन् तर यसको ठोस निर्णय देउवाले महाधिवेशनपछि लिने चर्चा छ ।

लामो समयदेखि मुलुकको राजनीति अन्योलग्रस्त छ । यो अन्योलको कारक ओलीलाई करार गरे पनि वर्तमानले त यी सबका प्रमुख कारण सत्तालोलुप वर्तमान राजनैतिक दल काङ्ग्रेस, माधव नेपाल, प्रचण्ड र उपेन्द्रहरू साबित भएका छन् । ओली हटाऊ एक सूत्रीय मागका साथ आन्दोलनरत यिनीहरूले सत्ताको साँचो हातमा पर्दासमेत शासन सञ्चादन गर्न नसक्नु कम लज्जाजनक घटना होइन ।

नङ्गा क्या नहाएगा, क्या निचोडेगा प्रवृत्तिका यिनीहरूको भ्यागुतो धार्नी सबैले देखिसकेका छन्। तसर्थ मुलुकको आर्थिक भार न्यून गर्दै देउवाले आधा दर्जनभन्दा कम सदस्य राखेर सरकार चलाएकोमा आम जनता खुशी भएको देख्दा म पनि दङ्ग छु । धन्यवाद देउवाजी १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here