भारतीय सुरक्षाकर्मीले मानवताको घोर उल्लङ्घन गर्दै महाकाली नदी तरिरहेका जयसिंह धामीको तुइन चुँडाइदिंदा उनी खोलामा बगेर बेपत्ता भए । लामो समयसम्म बेपत्ता भएका धामी यस संसारमा छैनन् भन्ने पक्कापक्की छ । भारतबाट नेपाल आउने क्रममा नदीमा पुल नभएकोले तुइनकै भरमा आवतजावत हुने उक्त स्थानमा सुरक्षामा के शङ्का उत्पन्न भयो र एउटा जिउँदो मानिसलाई नदीमा डुब्न बाध्य पारियो, बुझ्न मुश्किल छ । जयसिंह धामी नितान्त सामान्य व्यक्ति हुन्, उनले भारतीय सुरक्षामा कुनै खलल पु¥याउन सक्दैनन् । उनीमात्र किन, कुनै पनि नेपालीले भारतको सुरक्षामा खलल पुग्ने कल्पनासम्म गर्न सक्दैन । किनकि भारतको सुरक्षा, कुनै पनि आक्रमणको बेला अग्रपङ्क्तिमा रहेर, गर्ने नेपाली नै हो । जुन देशका लागि आफ्ना भाइ–बन्धुले रगत बगाइरहेका छन्, त्यसको अहित कसैले कसरी सोच्न सक्छ ? भारतको सुरक्षामा खलल पु¥याउनेहरू त हवाईजहाज, पानीजहाजमा पो हिंड्छन्, जयसिंह धामीजस्तो तुइनबाट नदी तर्दैनन् । तर पनि यो घटना भयो, नेपाल सरकार बोल्दैन, भारतलाई केही बोल्ने आवश्यकता छैन ।

भारतलाई केही बोल्ने आवश्यकता किन छैन भने ऊ बलियो छ । बल मिच्याइ गरेर उसले पूर्वदेखि पश्चिमसम्मको कैयौं भूभाग मिचेको छ । नेपालको सीमावर्ती क्षेत्रमा अग्लो बाँध, सडक, रेललाइन बनाएर नेपालको समथर भूभाग डुबानमा पार्ने हर प्रयत्न गर्न उसलाई न नैतिकता रोक्छ, न कुनै अन्तर्राष्ट्रिय नियम–कानूनले, न ‘छिमेकी पहिले’ भन्ने उसैले उद्घोष गरेको नाराले । ‘छिमेकी पहिले’ नेपाली बुझाइमा पहिले छिमेकीलाई सहयोग हो, तर भारतले यसलाई पहिले ‘छिमेकीलाई सास्ती’ भन्ने अर्थमा लिएको बुझिन थालेको छ । यसै पनि भारतका आदिकवि तुलसीदासले भनेकै छन्–समरथ के न कछु दोष गुसाइँ । भारत समर्थ छ, सबै मानेमा । जनबल, धनबल, शस्त्रबलमा ऊ विश्वका उच्चकोटीका मुलुकहरूको दाँजोमा उभिएको छ । नेपाल भनेको सानो मुलुक, नेपालका साना मानसिकता र भारतको कृपाविना आफ्नो उद्धार नदेख्ने राजनेताहरूले भारतसँग निहुरिनुबाहेक अर्को गुण पनि सिकेनन् । भारत नभए देश चल्नै नसक्ने मनोग्रन्थि पालेका नेपाली शासकहरूले जयसिंह धामीलाई न्याय दिलाउन पनि सक्ने छैनन् । के भो ? भारतीय सरहदको रक्षामा रगत बगाउने नेपालीको एउटा छोरा भारतीय सुरक्ष्Fाकर्मीको अर्घेलोपनको शिकार भएर ।

कुरा व्यक्ति मारिनुसम्म सीमित छैन । भारत बलशाली छ भने उसले हिम्मतका साथ भन्नुपर्दछ, जयसिंह धामीबाट उसलाई खतरा थियो । अन्यथा नदी तरिरहेको बेला तुइन चुँडालेर कसैको हत्या गर्ने व्यक्तिबारे सोधखोज गर्न के आपत्ति ? तर यसरी एउटा बलशाली मुलुकले आफ्नो कृपाले पालिएको र आफ्नो समर्थनविना सरकार टिकाउनै नसक्ने राजनीतिक दलहरू भएको मुलुकका अगाडि किन आफ्नो दोष स्वीकार गर्ने ? यसै पनि भारत महान् है भन्ने नारा लगाउने मुलुकले एउटा सानो कुरामा आफ्नो महानतामा दाग किन लाग्न दिने ? महान्ले गरेको काम महान् नै हुन्छ । तुइन चुँडालेर कसैलाई डुबाउने काम होस् वा तराईको समथर भूमिलाई तालमा परिणत गर्ने मनसुबा होस् । तर एकजना भारतीय कविले भनेको कुरालाई भारतका शासकहरूले बिर्सनुहुँदैन–निर्बल को न सताइए, निर्बल की बडी आह, सुखे चाम के दाह से लौह भस्म हो जाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here