प्रस, जनकपुरधाम, १९ भदौ/
धनुषा जिल्लाको मिथिला नगरपालिकाको ढल्केबर बजारस्थित गहनापसलबाट गहना चोरी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।
शुक्रवार मिथिला नगरपालिका वडा नं ६ ढल्केबरस्थित गणेशलक्ष्मी ज्वेलर्सबाट चाँदीका गरगहना चोरी भएको थियो । उक्त गहना चोरी गरेको आरोपमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं ८ निवासी टक्कबहादुर मगरातीलाई शनिवार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
चोरी गरेको गहना खरीद गरेको अभियोगमा एकजना महिला पनि पक्राउ परेकी छन् । मिथिला नगरपालिका वडा नं ४ पुष्पवलपुर निवासी ३५ वर्षीया सुरेखादेवी यादवलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट १२ तोला चाँदीका गहना बरामद भएको प्रहरीको दाबी गरेको छ । ज्वेलर्सले ४८ तोला चाँदीका गहना चोरी भएको बताएको छ । पक्राउ परेका मगराती र यादवविरुद्व चोरी कसूरमा अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।