नयाँ दिल्ली, १९ भदौ/एएनआई
भारतमा अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप ६७.७२ करोड व्यक्तिले लगाएका छन् ।
सरकारी अधिकारीले शनिवार दिएको जानकारी अनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका छन् ।
तीमध्ये ५८ लाख ८५ हजारजनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएको उनीहरूको भनाइ छ । खोप लगाएकामध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या ९७.४३ प्रतिशत हो । भारतमा अहिले पनि चार लाख पाँच हजार ६८१ जना सङ्क्रमित अवस्थामैं रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६८२ जना नयाँ सङ्क्रमित थपिंदा ३६ हजार ३८५ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् । रासस
बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित
लन्डन/सिन्ह्वा
बेलायतमा कोरोना भाइरसबाट थप ४२ हजारजना नयाँ सङ्क्रमित थपिएका छन् ।
योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९ पुगेको अधिकारीले जानकारी दिएका छन् ।
उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा १२१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या भने एक लाख ३३ हजार ४१ पुगेको छ ।