प्रस, पर्सागढी, १९ भदौ/
पर्सागढी नगरपालिका–३ पकडिया बढनिहार बजारमा शुक्रवार आयोजित आँखा तथा दाँत क्लिनिकको उपप्रमुख अर्चना चौधरीले उद्घाटन गरिन् ।
एभरेष्ट आँखा तथा दाँत उपचार केन्द्रको उद्घाटन गर्दै उपप्रमुख चौधरीले पर्सागढी नगरपालिकामा अन्य सेवाका लागि क्लिनिकहरू सञ्चालनमा रहेपनि आँखा र दाँत क्लिनिक नरहेकोमा आजदेखि सोको पनि व्यवस्था भएकोमा प्रशंसा गरिन् । उनले आँखा र दाँत उपचारका लागि नगरवासी वीरगंजलगायत ठाउँमा धाउनुपर्ने र निश्शुल्क शिविरको बाटो कुरेर बस्नुपर्ने अवस्था अब नरहने बताइन् ।
क्लिनिक सञ्चालक जितेन्द्र गिरीले आफ्नो क्लिनिकमा आँखा र दाँतको दुईजना चिकित्सकको व्यवस्था गरेको बताए । उनले दन्त सेवामा दाँत मिलाउने, आरसिपी, स्किलिंग, फिलिङ, एक्स–रे जस्ता सेवा प्रदान गरिने बताए । यसैगरी आँखाको चेकजाँच, पावर चेक, चश्मा जाँच, आँखाको प्रेसर, सुखापन, मधुमेहबाट आँखामा परेको असरआदिको चेकजाँच हुने बताए । सञ्चालक गिरीले आँखा र दाँतका सबै परीक्षण कम्प्युटर प्रविधिबाट हुने जानकारी गराए ।
यसैबीच क्लिनिक सञ्चालनको पहिलो दिन आज पचासजनाको निश्शुल्क आँखा र दाँत चेकजाँच गरिएको थियो । उद्घाटन समारोह मिर्मिरे युवा क्लबका अध्यक्ष सुरज मानन्धरको अध्यक्षतामा भएको थियो ।