टोकियो, १८ भदौ/एएनआई
जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजीनामा दिने भएका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकोले उनले राजीनामा दिन लाग्नु भएको हो ।
प्रधानमन्त्रीको जिम्मेवारी लिएको झन्डै एक वर्षमैं उनी जिम्मेवारीबाट बाहिरिन लागेका हुन् । उनको पार्टीमा निर्वाचनका कारण पनि उनले अहिले नै बाहिरिनुपर्ने अवस्था आइलागेको देखिएको छ ।
उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)को निर्वाचन यही सेप्टेम्बर २९ तारिखमा हुन लागेको छ । त्यो निर्वाचनबाट नयाँ नेता आएपछि उनलाई नै सुगाले जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेछ। त्यसैले प्रधानमन्त्री सुगाले यही सेप्टेम्बर ३० देखि प्रधानमन्त्रीको जिम्मेवारी छोड्ने जनाइएको छ ।
पार्टीका नेताहरूसँग भएको बैठकमा प्रधानमन्त्री सुगाले पार्टीको निर्वाचनमा आफूले उम्मेदवारी नदिने र प्रधानमन्त्रीको जिम्मेवारी पनि परित्याग गर्ने बताएका थिए । प्रधानमन्त्री सुगाले पार्टीको नेतृत्व नयाँ नेतालाई दिने मनस्थिति बनाएको एडिपीका महासचिव तोशिहिरो निकीले जानकारी दिए ।
उनले अघिल्लो वर्षको सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री सिन्जे आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए । लामो समय जापानको नेतृत्व गरेका सिन्जेका अति विश्वासपात्रका रूपमा चिनिएका सुगाले भने झन्डै एक वर्षमात्रै जापानको नेतृत्व गर्ने भएका छन्। रासस