लभ इन वीरगंज

0
72
  • समीर पाख्रिन

गताङ्कको बाँकी …

इमानसिंह ः भाग्यमानी हुनु । गरेर खानु । लुखुर–लुखुर न हिंड्नु ।
शौचालय छिर्छन् ।
भाइकाजी ः हैन, यो भिनाजु खुस्किएको हो कि क्या हो ?
सुशीला ः त्यही त बल्ल–बल्ल आएको सालोलाई के भनेको होला ?

०००

समय ः साँझपख । स्थान ः वीरगंज शहरको बाइपास सडक ।
अङ्कित उषाको हात पक्रेर लिङ्क रोडतिर आइरहेको छ ।
उषा ः अङ्कित, रातै परिसक्यो आज मलाई मामुले मार्छ ।
अङ्कित ः त्यसो भए रिक्शामा जाऔं न त ।

दुवै भिस्वाचोकबाट रिक्शा चढछन् ।
उषा ः खै, अब तिमीले कहिले बाइक किन्ने हो र म पनि तिमीसँंग लपक्क टाँस्सिएर कहिले हेटौंडा, कहिले शहीद स्मारक, कहिले त्रिखण्डी, कहिले निजगढको भ्यू टावर र कहिले देवराली डाँडासम्मको लङ ड्राइभमा जाने हो । सबैको ब्यायफ्रेन्डहरूले आफ्नो गर्लफ्रेन्डलाई बाइकमा लिएर हिंड्छन् ।

अङ्कित र उषा चढेको रिक्शा पानीटङ्कीको बाटो हुँदै श्रीपुरको भारतीय दूतावास चोक निस्कन्छ । दुवैजना रिक्शाबाट ओर्लिन्छन् र बिदा लिएर आआफ्नो गन्तव्यतिर लाग्छन् ।
अङ्कित ः (पैदलै घण्टाघरतिर जानेक्रममा) उषाले ठीकै भनी, जाबो एउटा मोटरसाइकल किन्न नसक्नेले के लभ गरेर हिंड्नु । अब म सबैभन्दा पहिला काम खोजेर आफ्नो खुट्टामा उभिने कोशिश गर्छु ।

०००

समय ः बिहान । स्थान ः हवल्दार इमानसिंहको डेरा ।
सुशीला चामल केलाउँदैछिन्, इमानसिंह पोशाकमा आइरन गर्दैछन्, उषा बरन्डामा व्यायाम गर्दैछे र भाइकाजी गलैंचामा बसेर दिदी भिनाजुसित गफ गर्दैछ ।

भाइकाजी ः भिनाजु, हजुर बढुवा भएर इङ्गलिसपेक्टर हुनुभएछ । साह्रै खुशी लाग्यो ।
सुशीला ः तँलाई चाहिं के को खुशी लाग्यो ? घरमा आउँदा सालो चिया खाऊ भनेर सय पचास दिने होइन । नाक मात्र घोक्राएर के गर्छस् ?
चामल निफन्छे ।

इमानसिंह ः कसले भन्यो म इन्स्पेक्टर भएँ भनेर ?
भाइकाजी ः (सुशीलातिर हेरेर) दिदीले । गाउँमा त सबैले सुशीलाको लोग्ने इङ्गलिशपेक्टर त भन्छन् नि । किन भिनाजु इङ्गलिशपेक्टर होइन र ?
इमानसिंह ः इङ्गलिशपेक्टर … ? यो इङ्गलिशपेक्टर भनेको चाहिं के नि ?

भाइकाजी ः पिस्तोल भिर्ने मान्छे के ।
इमानसिंह ः (सुशीलातिर हेर्दै) मलाई हवल्दार हुनु र भन्नुमा गर्व छ । म इन्स्पेक्टर भएको छैन र होइन ? वाहियात दिदीभाइ ।
पोशाकमा आइरन गर्न तरखर गर्छन् ।

सुशीला ः सालोलाई पनि हाकिमलाई भनेर एउटा काम लगाइदिनुप¥यो ।
इमानसिंह ः के हाकिमलाई भनसुन गर्ने अरे ? मबाट भनसुन गर्ने काम हुँदैन । मेरो नाम इमानसिंह हो । जतिन्जेल जागीर खाइन्छ, इमानले खाइन्छ । जागीर खाने योग्यता हुनुपरेन ?
सुशीला ः नाप्यो तपाईंको आदर्शले ? दिदीले भाइलाई, भेनाले सालीलाई । काकाले भतिजलाई आफ्नो स्वकीय सचिव राख्न मिल्छ भने । हजुर हवल्दारले पनि आफ्नो सालो केटोलाई सिपाहीमा राखे भैहाल्यो नि ।

इमानसिंह ः राख्यो तेरो भाइलाई सिपाहीमा । इन्स्पेक्टरसमेत शुद्ध भन्ने नआउनेलाई ।
उठेर आइरन तात्तियो कि तात्तिएन भनी छाम्छ र पोशाकमा घस्न थाल्छन् ।
भाइकाजी ः पर्दैन–पर्दैन । म विदेशै जान्छु । बरु भिनाजुले पचास/साठी हजार जति सहयोग गर्नुप¥यो ।

इमानसिंह ः आफूले त अहिलेसम्म साठी हजार रुपैयाँ एकमुस्ट गनेको छैन । अब तिमीलाई मैले कहाँबाट दिने ?
इमानसिंहले आइरन गरिसकेपछि पोशाक ह्याङ्गरमा झुन्ड्याउँछन् ।
भाइकाजी ः हेर, म कत्रो आशाले दिदी–भिनाजुलाई भेट्न आएको थिएँ । पछि यत्रो हातभरिको चोरी औंलाले स्यार–स्यार सार्ने मोबाइल बोक्ने हो भने देऊ बूढा ।

उषा ः मामा, बाबालाई होइन । बाबालाई त त्यही बटनवाला मोबाइल त चलाउन आउँदैन । बरु भान्जीलाई चाहिं पठाइदिनु होस् है । (व्यायाम गर्दै)
भाइकाजी ः खै, गए भने त हो नि भान्जी । अब घरको लैनो भैंसी बेच्नुपर्ला ।
सुशीला ः पर्दैन त्यति राम्रो भैंसी बेच्न । (केलाएको चामल भाडामा खन्याउँदै)

घरबेटी–बज्यै ः (नेपथ्यबाट) ए हवल्दार साप, हवल्दार साप ।
इमानसिंह ः ज्यू घरबेटी आमा, भित्रै पाल्नोस् न ।
घरबेटी–बज्यै ः त्यो फूलको बोटनेर बाँधेको कुखुराको भाले तपाईंको होइन ?
सुशीला ः हो होे किन ? आधा किलो जति खाने हो ?

घरबेटी–बज्यै ः के भन्छे यो हवल्दार्नी ? तिम्रो भालेले मेरो फूलको बोट खोस्रेर ढाल्न आटिसक्यो । तुरुन्त सारी हाल त ।
सुशीला ः जाबो कुखुराको भाले बाँध्दा त कराउँछे यो बूढी । खसी ल्याएर बाँध्यो भने त के गर्छे होली ?

इमानसिंह ः चुप लागेर खाना पका । मलाई आज चाँडै ड्युटी जानु छ । खोइ को मन्त्री आउने भनेको सुनेको छु । यो नेता र मन्त्रीहरूको भ्रमणले पनि हैरानै पारिसक्यो ।
सुशीला ः बरु नेताको पत्नी भएको भए यतिबेला हातमा सुनको बाला, घाँटीमा हार, नाक र कानमा फुली र टप लगाएर पहेंलै भएर बसेको हुने थिएँ ।

उषा ः म पनि अस्ट्रेलियाको कलेजमा पढिरहेकी हुने थिएँ । ब्यागमा ल्यापटप, हातमा सामसङ कम्पनीको टेबलेट हुने थियो ।
भाइकाजी ः टेबलेट चाहिं हातमा किन भान्जी ? टेबलेट घरैमा खाएर गए हुँदैन र ?
सबैजना हाँस्छन् । भाइचाहिं सबैलाई हाँसेको देखेर टुलुटुलु हेरिरहन्छ ।

सुशीला ः जाबो केही न कामको ट्राफिक हवल्दार दिनभरि धूवाँ र धूलो खायो बुढेसकालमा दमको रोगी ।

इमानसिंह ः त्यति हेपेर न बोल । सबैले हवल्दार्नी साहेब भन्छे तँलाई । तेरी छोरीलाई हवल्दार सापको छोरी भन्छे, इज्जत गर्छे । त्यो इज्जत सम्मान तिमीहरूलाई यही ट्राफिक हवल्दारको जागीरले दिएको छ बुझिस् ? भात खान पुग्ने तलब दिएको छ । सस्तो राशन खाँदैछस् । मलाई ट्राफिक हवल्दार हुनुमा गर्व छ बुझिस् ? बुढेसकालमा कुटुकुटु खानलाई पेन्शन छ । त्यति हेपेर न बोल । मलाई मन पर्दैन ।

क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here