महाभारतबाट सङ्कलन तथा अनुवाद

  • उमाशङ्कर द्विवेदी

दुवैका शरीर रगताम्य भए । उनीहरूको क्षत्र र ध्वज काटिएर खस्यो । ती दुवैले प्राणान्तक बाणहरूको प्रयोग गरिरहेका थिए । त्यति बेला कौरव र पाण्डव वीरहरू उभेर ती महापराक्रमी योद्धाहरूको रणकौशलको निरीक्षण गरिरहेका थिए । विमानमा चढेका ब्रह्मा र चन्द्रमा आदि देउता, सिद्ध, चारण, विद्याधर र नागगणहरू पनि ती पुरुष सिंहको अघि बढ्नु, पछाडि फिर्नु तथा नानाथरीका शस्त्र सञ्चालनका कौशल हेरेर बडो आश्चर्यमा परेका थिए ।

यस प्रकार ती दुवै वीरले आआफ्ना हातको सफाइ देखाउँदै एकअर्कालाई बाणविध गर्दै थिए । यत्तिकैमा सात्यकिले आचार्य द्रोणको धनुष–बाण काटिदिए, क्षणभरमैं आचार्यले अर्को धुनष संधान गरिहाले तर सात्यकिले त्यसलाई पनि काटिदिए । यस प्रकार आचार्यले जति पनि बाण संधान गर्दै गए, सात्यकिले तिनीहरूलाई काट्दै गए । यस प्रकार सात्यकिले आचार्यको एक सयवटा बाण काटिहाले । यो काम यति फुर्तीका साथ भयो कि आचार्यले कति बेला धनुषमाथि बाण संधान गर्छन् र सात्यकिले कति बेला त्यस बाणलाई काटिहाल्छन् कसैले थाहै पाउन सक्दैनथे । सात्यकिको यो अतिमानुष कर्म हेरेर आचार्यले मनै मन विचार गरे कि जुन अस्त्र बल परशुराम, कार्तवीर्य, अर्जुन र भीष्ममा छ, त्यही बल सात्यकिमा पनि छ ।

यसपछि द्रोणचार्यले एउटा अर्को नयाँ धनुष लिए र त्यसमाथि कैंयन अस्त्रहरू चढाए तर सात्यकिले आफ्नो अस्त्र–कौशलबाट ती सबै अस्त्रलाई काटिदिएर आचार्यमाथि तीखा बाणहरूको वर्षा गर्न थाले । यसबाट सबैजनालाई बडो आश्चर्य भयो । अन्तमा आचार्य अत्यन्त कुपित भएर सात्यकिको संहार गर्नको लागि दिव्य आग्नेयास्त्रको प्रहार गरे । यो हेरेर सात्यकिले तत्काल वरुणास्त्रको प्रयोग गरे । त्यति बेला दुवै वीरले दिव्यास्त्रहरूको प्रहार गरिरहँदा बडो हाहाकार मच्चियो । यतिसम्म कि आकाशमा चराहरू उड्न पनि छाडे ।

अनि राजा युधिष्ठिर, भीमसेन, नकुल र सहदेव चारैतिरबाट सात्यकिको रक्षा गर्न थाले तथा धृष्टद्युमनादिको साथ राजा विराट र केकयनरेश मत्स्य र शाल्वदेशीय सेना लिएर द्रोणको सामु आइ डटे । अर्कोतिर दुःशासनको नेतृत्वमा हजारौं राजकुमार द्रोणाचार्यलाई शत्रुहरूबाट घेरिएको हेरेर उनको सहायताको लागि आइपुगे । अनि त दुवैतिरका वीरहरूबीच बडो भीषण युद्ध थालियो। त्यति बेला धूलो र बाणवर्षाका कारण केही पनि देखा परिरहेको थिएन । त्यसैले त्यो युद्ध मर्यादाहीन भइहाल्यो–त्यसमा आफ्नो वा पराइ पक्षको पनि ज्ञान रहेन ।

सञ्जयले भने– राजन्, सूर्यनारायण अस्ताचलगामी भइसकेका थिए । कौरव पक्षका योद्धाहरूमध्ये कोही त युद्धको मैदानमा डटिरहेका थिए, कोही फर्किगएका थिए तथा कोही कोही त पिठ्यूँ फर्काएर भागिरहेका थिए । यस प्रकार बिस्तारै दिन बित्न लागेको थियो तर अर्जुन र श्रीकृष्ण जयद्रथतिर हानिंदै गइरहेका थिए । अर्जुन आफ्नो बाणले रथ जाने योग्य बाटो बनाएर त्यसैबाट अघि बढ्दै गइरहेका थिए ।

राजन्, अर्जुनको रथ जताजतातिर गइरहेको थियो उतैउतैतिर तपाईंको सेनामा फाटो पर्दै जान्थ्यो । उनको बाण अनेकौं शत्रुको संहार गर्दै रक्तपान गरिरहेका थिए । उनी रथबाट एक कोससम्मको शत्रुहरूको नाश गर्दै गइरहेका थिए । अर्जुनको रथ बडो तीव्रताका साथ गुडिरहेको थियो । त्यति बेला त्यो रथ सूर्य, इन्द्र, रुद्र र कुबेरका रथहरूलाई पनि माथ गरिसकेको थियो ।

जतिबेला त्यो रथ रथीहरूको सेनाबीच पुग्यो, रथमा जोतिएका घोडाहरू भोक–प्यासले व्याकुल हुन पुगे र बडो कठिनताले रथ तान्न थाले । तिनीहरूले पर्वतको समान सहस्त्रौं मरेका हात्ती, घोडा, मानिस र रथको माथिबाट टेकेर आफ्नो मार्ग बनाउनुपर्दथ्यो । त्यसै बेला अवन्तिदेशका दुवै राजकुमार आफ्नो सेनासहित अर्जुनको सामु आइडटे । उनीहरू बडो साहसका साथ अर्जुनलाई चौसट्ठीवटा, श्रीकृष्णलाई सत्तरीवटा र घोडाहरूलाई एक सयवटा बाण हानेर घाइते पारिदिए । अनि अर्जुनले कुपित भएर उनीहरूको मर्मस्थल ताकेर नौवटा बाण हाने तथा दुईटा बाण हानेर उनीहरूको धनुष र ध्वजालाई काटिदिए ।

उनीहरूले अर्को धनुष धारण गरी अत्यन्त क्रोधपूर्वक अर्जुनमाथि बाण वर्षा गर्न थाले । अर्जुनले तत्कालै फेरि उनीहरूको धनुष काटिदिए र बाण हानेर उनीहरूको घोडा, सारथि, पाश्र्वरक्षक र कैंयन सारथिहरूलाई मारिदिए । अनि उनले एउटा क्षुरप्र नामक बाणबाट दाजु विन्दको टाउको काटिदिए । विन्दलाई मरेको हेरी महाबली भाइ अनुविन्द हातमा गदा लिएर रथबाट हाम्फाले र दाजुको मृत्युको स्मरण गर्दै उनले श्रीकृष्णको निधारमाथि गदाको प्रहार गरे तर श्रीकृष्ण त्यस प्रहारबाट अलिकति पनि विचलित भएनन् ।

अर्जुनले तत्कालै छवटा बाण हानेर अनुविन्दको हात, खुट्टा, टाउको र गर्दन काटिदिए । अनुविन्द पर्वत शिखरको समान पृथ्वीमाथि ढले ।

क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here