- राजेश मिश्र
उहिले वृद्धजन विभिन्न उपदेशमूलक कथा सुनाउँथे । लालाबाला चाखपूर्वक कथा सुन्थे । गोधूलिको समयदेखि सुत्ने बेलासम्म मानिस द्वारमा बसेर कुराकानी गरिरहन्थे । अँध्यारो र सुनसान रातमा जूनकीरीको आवाजले त्रसित लालाबाला वृद्धहरूको जीउमा टाँसिएर बस्थे । कथा सुनेर खुब रमाउँथे ।
वृद्धजनसँग सुनेका थुप्रै कथा छन्, जो उपदेशमूलक मात्र होइन, कथाले आजको राजनीतिक छलकपटलाई पनि उजागर गर्दछ । बाल्यकालमा मानसिक चेतनाको विकास भएको हुँदैन । त्यसैले कथाको मूलतŒव परिपक्व उमेरमा पुगेपछि बोध हुँदो रहेछ । बाल्यकालमा हजुरबुबाको मुखारबाट सुनेको एउटा कथा आजको परिवेशमा शतप्रतिशत मेल खान्छ ।
मूल विषयमा प्रवेश गर्नुभन्दा पहिले झन्डै साढे तीन दशक अघि बाल्यकालमा सुनेको शिकारी र सुगाको कथा प्रस्तुत छ ।
त्यो जङ्गल धेरै चर्चित थियो । किनभने त्यहाँ धेरै सुगा बस्थे । समय बित्दै गयो । एक दिन एकजना शिकारी उक्त जङ्गलमा पस्यो । शिकारीले सुगा समात्न शुरू गरेपछि सुगाकोे सङ्ख्या दिन प्रतिदिन घट्न थाल्यो । यो देखेर सुगाका सरदारलाई चिन्ता भयो । सरदारले सोच्यो– “यदि यसैगरी शिकारीले हाम्रा साथीहरूलाई समात्न थाल्यो भने हाम्रो सङ्ख्या घट्दै जानेछ । हामीहरू बाँच्नेछैनौं । हामी विलुप्त हुनेछौं । त्यसैले समयमैं सचेत हुनुपर्छ र केही गर्नुपर्छ ।”
जङ्गल छेउको गाउँ नजीकै एउटा कुटी थियो । त्यहाँ एकजना महाज्ञानी महात्मा बस्दथे । सुगाको सरदारले महात्मालाई भेटेर सारा वृत्तान्त सुनायो । उपचार सुझाउन अनुनय–विनय ग¥यो । महात्माले सुगालाई एउटा उपाय बताउँदै भने–“जाऊ र आफ्ना साथीहरूलाई यो कुरा बताऊ । यदि तिमीहरूले मेरो उपदेशको पालना ग¥यौ भने निस्सन्देह तिमीहरूको भलो हुनेछ।”
महात्माले सरदारलाई के उपदेश दिए ? १० वर्षीय म अबोध बालकलगायत गाउँका अन्य मानिस पनि कथा सुनिरहेका थिए । पहिलोपटक यो कथा सुनिरहेका मानिसहरूको अनुहारमा आश्चर्यजनक भाव प्रस्ट देखिइरहेको थियो । महात्माले के भने ? जान्ने आतुरता बढिरहेको थियो ।
महात्माले सुझाएको रहस्य थियो– ‘शिकारी आई, जाल बिछाई, दाना डाली, फँसिह मत’ यो कुरा रट्दै सुगाहरूका सरदार आफ्नो वासस्थानतिर लाग्यो । सरदारले समस्त सुगालाई भेला गरेर महात्माले सुझाएको कुरा बतायो । त्यसपछि उसले सबै सुगासँग सोध्यो– “के तिमीहरूले मेरो कुरा ध्यान दिएर सुन्यौ ?” सुन्यौं भन्दै सबै सुगा महात्माको उपदेश दोहो¥याउन थाले । यस्तो भयो कि खाँदा, पिउँदा, उड्दा वा रूखमा बस्दा अर्थात् हरपल सुगाहरू उपदेश रटिरहेका थिए ।
एक दिन शिकारी आयो । सुगाहरू रूखमा बसिरहेका थिए । शिकारीलाई देखेपछि सुगाहरू ठूलो स्वरमा कराउन थाले, “शिकारी आई, जाल बिछाई, दाना डाली, फँसिह मत ।” सुगाहरूको बुद्धिमत्ता देखेर शिकारी दङ्ग प¥यो । “मैले यिनीहरूको शिकार गर्छु भन्ने कुरा यिनीहरूलाई कसरी थाहा भयो ? शायद, आज म यिनीहरूलाई जालमा फसाउन सक्दिनँ ।” शिकारी जङ्गलबाट खाली हात फक्र्यो ।
भोलिपल्ट शिकारी जङ्गलमा आयोे । सुगाहरू रटान गरिरहेका थिए, पुनः फर्कियो । दैनिक यस्तै दोहोरिइरह्यो । शिकारी तनावपूर्ण अवस्थामा थियो । अन्ततः शिकारी महात्माको शरणमा पुग्यो । अनुनय–विनय गर्दै महात्मासँग गुहार ग¥यो–“महाराज, सबै सुगालाई जानकारी छ कि म जाल बिछाउँछु, दाना हाल्छु र उनीहरूलाई फसाउछु । म के गरूँ ?” शान्त मुद्रामा महात्माले भने– “तिमी आफ्नो काम गर । सुगाहरू आफ्नो काम गरिरहेका छन् । तिमी आफ्नो काम गर्दै जाऊ । सुगाहरू तिम्रो जालमा फस्ने वा नफस्ने उनीहरूको काम हो ।”
शिकारी जङ्गलमा गयो । महात्माले भनेजस्तै उसले जाल बिछ्यायो । सुगाहरू भने शिकारीलाई देख्नेबित्तिकै जोडजोडले कराउन थाले–“शिकारी आई, जाल बिछाई, दाना डाली, फँसिह मत ।” यद्यपि शिकारीले जाल बिछायो । दाना हाल्यो । उपदेश रटिरहेका सुगाहरू एकएकगरी जालमा आइरहेका थिए । धेरै सुगा जालमा आए । दाना खान थाले । शिकारीले सबै सुगालाई समात्यो । यद्यपि शिकारी त्रासमा थियो । उसले सोच्यो– “यो कस्तो आश्चर्यको कुरा हो ? यो के भइरहेको छ ? सुगाहरूलाई कसरी थाहा भयो ? तर पनि जालमा किन फँसे ?”
शिकारीले सबै सुगा लिएर महात्माकहाँ गयो । उसले महात्मासँग सोध्यो–“महाराज, यो कसरी सम्भव भयो ? सुगाहरू मेरो जालमा किन फसे ? यिनीहरूलाई मेरो पहिलेदेखि नै मेरो चाल थाहा थियो । शिकारीले महात्मासँग सोधिरहँदा पनि सुगाहरू कराइरहेका थिए–“शिकारी आई, जाल बिछाई, दाना डाली, फँसिह मत ।”
शिकारीको उद्वेग देखेर महात्माले हाँस्दै भने–“मेरो उपदेश सुगाहरूको हितमा थियो । तर उनीहरूले मैले बताएको उपदेश लागू भने गर्न सकेनन् । उपदेशको मर्म आफ्नै हितमा छ भन्ने कुराप्रति उनीहरू सचेत भएनन् । स्वभावतः सुगाहरू राम्रा उपदेश सुन्छन्, रट्छन् र दोहो¥याउँछन् । त्यसैले कुनै कुरा रटेर मात्र हुँदैन । सचेत हुनुपर्छ । जीवनमा लागू गर्नुपर्छ ।
वर्तमान परिवेश गणतन्त्र बहालीपछि नयाँ संविधान अनुसार भएको तीन तहको पहिलो चुनावको अन्तिम प्रहर अहिले चलिरहेको छ । दोस्रो चुनाव नजीक आइरहेको छ । चुनाव नसकुन्जेल राजनीतिकर्मीहरूको शिकारीजन्य विविध गतिविधि चलिरहन्छ । एकातर्फ सत्तापतिहरूलाई चुनाव जितिन्छ कि हारिन्छ भन्ने चिन्ताले सताउन थालेको छ । अर्कोतर्फ विपक्षीहरूको मगज सत्तामा आसीन हुने गुणा भागमा व्यस्त छ । सबै आआफ्नै दाउमा व्यस्त छन् । शहरदेखि गाउँसम्म चुनावी दङ्गलको लक्षण आभास हुन थालेको छ । अपवादबाहेक उपरोक्त कथाको शिकारीझैं जाल बिछाउने र दाना हाल्ने काम शुरू भइसकेको छ ।
यो ध्रुवसत्य हो कि जब चुनाव नजीकिदैं जान्छ, सत्ताका आकाङ्क्षीहरू जनतालाई जनार्दनको रूपमा हेर्न थाल्छन् । कोरोनाकालमा शिरमा भारी बोकी पैदल घर फर्किरहेका बेलाको भोगाइ जनताले बिर्सेको छैन । विदेश तथा सीमापारि भारतमा अलपत्र परेका बेलाको दुरवस्था भुल्न कठिन छ । समग्र जनतालाई कोरोनाविरुद्ध खोप लागेको छैन । विद्यालय पूर्णरूपमा सञ्चालनमा छैन । विद्यार्थी तथा कामदार घरमा थन्किएका छन् । कोरोनाकाल मात्र होइन, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको नाममा सत्तापतिहरूको ब्रह्मलुट जगजाहेर छ । परिवार वा दल निकट व्यक्तिलाई ठेक्का दिने र भ्रष्टाचार गर्ने प्रवृत्ति छताछुल्ल छ । सत्तापतिहरू भ्रष्टाचारको दलदलमा धसिरहेका बेला विपक्षीहरूले मौनव्रत किन लिएका ? यो पनि आम चासोको विषय हुनुपर्छ ।
दलनिकट पात्रहरूबाहेक नितान्त सर्वसाधारण जनताको मस्तिष्कमा अहिले चुनावी तरङ्ग पुगेको छैन । आफूनिकट दलले जति पनि असंवैधानिक कार्य गरे तापनि जयजयकार गरी नथाक्ने पात्रहरू पहिलेदेखि नै शिकारीको जालमा फसिसकेका छन् । मानौं उनीहरू जनता हुँदै होइनन्, केवल दलका रोबोट हुन् । यो तीतो सत्य अस्वीकार गर्ने ठाउँ छैन । ती रोबोटहरूभन्दा कैयौं गुणा बढी जनता छ । तर जनता निरीह छ । उसलाई झुक्याउन दलहरू माहिर छन् ।
झन्डै चार वर्षदेखि सत्ता र विपक्षको भूमिका जनताले देखिरहेको छ । ‘देश र जनताको हितमा सबैथोक म र मेरा दलले गरेकोे हो’ भन्ने मीठो वचन शिकारीले जालमा दाना हालेजस्तै छरिने काम हुनेछ । तसर्थ, सुगाहरूजस्तै आजको जनता शिकारीको जालमा फस्नु छैन भन्ने उपरोेक्त कथामा महात्माले सुझाएजस्तै आम जनताले छलकपटको राजनीति बुझ्न र एकले अर्कोलाई बुझाउन जरूरी छ । शिकारीहरू घरदैलोमा आउँछन्, जाल बिछाउँछन्, दाना हाल्छन् र फसाउँछन् । त्यसैले जनता हो, सावधान १