काबुल, १७ भदौ/सिन्ह्वा
अफगानिस्तान कब्जा गरेका तालिबानी विद्रोहीले अब छिट्टै सरकार बनाउने जनाएका छन् । उनीहरूका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधवार सकिएको छ ।
यसपछि अब छिट्टै नयाँ सरकार बनाउने जानकारी तालिबानी नेताले दिएका छन् । उनीहरूले सरकार बनाउने सम्बन्धमा राजनीतिक भेटघाट तीव्र पारेका थिए । अफगानिस्तानका स्थानीय मिडियाले तालिबानी समूहका नेताले आगामी केही दिनमा सरकार बनाउने कुरा बताएको जनाएका छन् ।
तालिबानीले सत्ता कब्जा गरेपछि सरकार बनाउने विषयमा विभिन्न चरणमा विभिन्न नेतासँग छलफल गरेका र बुधवार छलफल सकिएको अफगानी मिडियाले जनाएका छन् । ताबिलानका एक प्रमुख नेता मुल्लाह हबितुल्लाह अखुन्जादाले केही दिन अघि अफगानिस्तानका नेतासँग सरकार बनाउने विषयमा छलफल गरेका थिए ।
उनले अफगानिस्तानका पूर्वराष्ट्रपति हमीद करजाईसँग पनि परामर्श गरेका थिए । पूर्वराष्ट्रपति करजाईले तालिबानका वरिष्ठ नेता अब्दुल्ला अब्दुल्लासँग भेटवार्ता गरेको बताइएको थियो । केही दिन अघि नै सरकार बनाउन भन्दै तालिबानका एक नेता अनस हक्कानी पनि अफगानिस्तानको राजधानी काबुल पुगेका थिए ।
यी नेताका भेटवार्तामा अफगानी उच्च सदन सिनेटका अध्यक्ष अब्दुल हादी मुस्लियार पनि सहभागी रहेका बताइएको थियो । अफगानिस्तानमा संयुक्त र सर्वपक्षीय सरकार बनाउने विषयमा छलफल भएको तालिबानी नेताहरूले नै बताउँदै आएका छन् ।
उता अफगानिस्तानको अहिलेको अवस्था मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानलगायत विश्वका विभिन्न देशले आग्रह गरेका छन् । यतिखेर अफगानिस्तानको अवस्था अत्यन्तै नाजुक रहेको र देश नयाँ मोडमा उभिएकोले आगामी दिनमा यहाँका नागरिकको सहयोग तथा अन्य व्यवस्थाका लागि विश्व समुदाय एक हुनुपर्ने पाकिस्तानका विदेशमन्त्रीले बुधवार मात्र बताएका थिए ।
कतिपय पश्चिमा तथा युरोपेली देशले अफगानिस्तान अहिले मानवीय सहायताको पर्खाइमा रहेको भन्दै यहाँका नागरिकलाई आवश्यक मात्रामा सहयोग गर्न विश्व समुदाय एक हुनुपर्ने कुरामा जोड दिइएका छन् ।
तालिबानी समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गत हप्ता मात्र अफगानिस्तानमा सबै पक्षलाई समेटेर समावेशी सरकार बनाउने बताएका थिए । अफगानिस्तानका मिडियाले सो कुरा बताएका छन् । रासस