प्रस, परवानीपुर, १६ भदौ/
नारायणी अस्पताल वीरगंजमा अक्सिजन प्लान्ट शुभारम्भ भएको छ । सङ्घीय सांसद विमल श्रीवास्तवको संसदीय विकास कोक्षबाट डेढ करोड रुपैयाँको लगानीमा नवनिर्मित अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।
वीरगंजका प्रमुख विजयकुमार सरावगीका बुबा एवं समाजसेवी स्व चिरञ्जीवीलाल सरावगीको स्मृतिमा स्थापना गरिएको नवनिर्मिति अक्सिजन प्लान्टको उद्घाटन पर्सा क्षेत्र नं २ का सङ्घीय सांसद एवं पूर्व श्रम तथा रोजगारमन्त्री विमल श्रीवास्तवले गरेका थिए ।
नारायणी अस्पतालको प्रहरी बिटभन्दा पूर्वपट्टिको क्षेत्रमा उक्त अक्सिजन प्लान्ट जडान गरिएको छ । उक्त अक्सिजन प्लान्टले २४ घण्टामा १०५ वटा ४० लिटरको सिलिन्डर बराबरको हाई–अक्सिजन उत्पादन गर्नेछ ।
अस्पतालको आफ्नै अक्सिजन प्लान्ट स्थापनापछि विभिन्न विभागमा पाइपलाइनबाट अक्सिजन पु¥याउन सजिलो हुने नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले बताए ।
अस्पतालको आकस्मिक कक्ष, मेडिसिन, सर्जरी, बाल सघन उपचार कक्ष, अर्थाेलगायत विभागमा अक्सिजन पु¥याउन आवश्यक पर्ने उपकरण तथा सामानहरू वीरगंज महानगरले खरीद गरी सहयोग गरेको छ । नगरप्रमुख सरावगीले १२ लाख रुपैयाँमा अक्सिजन प्लान्टदेखि विभिन्न विभागको पाइपलाइनसम्म अक्सिजन पु¥याउन महानगरले खर्च गरेको बताए ।
नगरप्रमुख सरावगीका अनुसार वीरगंज कोरिडोरका सूर्य नेपाल प्रालि, त्रिवेणी समूह, क्याल समूह, एनपिएल समूहको करीब ८० लाख रुपैयाँको सहयोगमा नारायणी अस्पतालका विभिन्न वार्डमा अक्सिजन पाइपलाइन विस्तारको कार्य सम्पन्न भइसकेको छ ।
यस कार्यले नारायणी अस्पतालको उपचार सेवा प्रभावकारी हुने र आगामी दिनमा कोरोना जस्तै अन्य सङ्क्रामक रोगको बेला अक्सिजन आपूर्ति सहज हुने विश्वास लिइएको छ ।
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागले पनि सोही ठाउँमा करीब डेढ करोडभन्दा बढीको बजेटमा लिक्विड अक्सिजन प्लान्ट जडान गर्ने योजना अघि बढाएको छ भने नराायणी अस्प्तालले रु दुई करोड १० लाखको ठेक्का नारायणी अस्पतालको सडकभन्दा पूर्वपट्टि अर्थात् प्रयोगशालाको क्षेत्रमा दुई सय शøयाको कोभिड डेडिकेटेड अस्पताल निर्माण गरिरहेको छ । लिक्विड अक्सिजन प्लान्ट आइसकेको र तीन महीनाभित्र उक्त प्लान्ट पनि सञ्चालनमा आउने जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद श्रीवास्तवले नेपाल सरकारले वीरगंजको भौतिक पूर्वाधार निर्माणमा खासै बजेट नदिने गरेको चर्चा गरे ।
उनले वीरगंजको घण्टाघर, घडीअर्वा पोखरी, शङ्कराचार्य प्रवेशद्वार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नारायणी अस्पताल, नारायणी रङ्गशालालगायतका पूर्वाधारमा वीरगंजका उद्योगी–व्यवसायी र पर्साका जनता, किसान, मजदूरलगायतका लगानी र श्रमको योगदान रहेको बताए । उनले सरकारले विभेदकारी नीतिमा परिवर्तन ल्याउनुपर्ने बताए ।
अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभको सभापतित्वमा भएको कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ता, पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।