बेनी, १६ भदौ/रासस
म्याग्दीका खोमराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ घोक्षित भएका छन् । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आएका दृष्टिविहीन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेशन, पोल्यान्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकालाई पछि पार्दै विश्व दृष्टिविहीन आइडलको उपाधि हात पार्न सफल भएका हुन् ।
विश्वका दृष्टिविहीनबीच हुने यो प्रतिस्पर्धामा नेपालबाट नेपाल नेत्रहीन सङ्घका उपाध्यक्षसमेत रहेका शर्माले आवेदनमार्फत मनोनयनको छनोटमा परेका थिए । ईमेलबाट अनलाइन भोटका आधारमा सर्वाधिक भोट पाएर आफू आइडल घोक्षित भएको आज आयोजक संस्थाको तर्फबाट फोनमार्फत जानकारी प्राप्त भएको शर्माले बताए ।
सेप्टेम्बर १० तारिखका दिन पोल्यान्डमा विशेक्ष समारोह आयोजना हुने र उक्त अवसरमा आइडलको उपाधिसहितको पुरस्कार प्रदान गरिने जनाइएको छ । कोरोना महामारीको कारण शर्मालाई अनलाइनमार्फत आइडलको पुरस्कार प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितामा अमेरिका, कुबेत, इटली, इजिप्ट, पोल्यान्ड, ब्रजील, केन्या, साउदी अरेबिया, नेदरल्यान्डलगायत देशका २६ जना नोमिनेशनमा छनोट भएर प्रतिस्पर्धा गरेका थिए । आइडलका प्रतिस्पर्धीमा अनलाइनमा इमेलमार्फत भएको भोटमा शर्माले आठ हजार २७१ भोट प्राप्त गरेका थिए ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल गण्डकी प्रदेशको अध्यक्षसमेत रहेका शर्माले आफूलाई विजयी गराउन ईमेलमार्फत भोट गर्ने सबैलाई आभार प्रकट गर्दै उपाधिले दृष्टिविहीनका क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा र हौसला प्रदान गरेको बताए ।
आफू दृष्टिविहीन भएपनि २०५६ सालदेखि नेपाल नेत्रहीन सङ्घका बाग्लुङ, इलाम र कास्की शाखा र केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर नेपाली दृष्टिविहीन व्यक्तिको शिक्षा, प्रविधिमा पहुँच, रोजगार र सशक्तीकरणका लागि शर्माले काम गर्दै आएका छन् ।
शर्माले कास्की नेत्रहीन सङ्घमार्फत पोखरामा नेपालकै पहिलो अडियो पुस्तकालय स्थापना, पोखरामा दृष्टिविहीनका लागि सूचना प्रविधि तालीम, नेत्रहीन सङ्घद्वारा अगाडि बढाइएका विभिन्न अभियानमा नेतृत्वदायी भूमिकामा क्रियाशील हुँदै आएका छन् ।
शर्मा हाल अपाङ्ग महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष र नेपाल नेत्रहीन सङ्घका उपाध्यक्षसमेत छन् ।