सञ्जीव मिश्र, विन्ध्यवासिनी, १५ भदौ/
पर्साको विन्ध्यवासिनी गाउँपालिकामा अपाङ्गता भएकाहरूलाई घर–घरमा नै अपाङ्ग परिचयपत्र प्रदान गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको नेतृत्वमा पालिकाका कर्मचारीहरूको टोलीले उनीहरूको घरमा पुगेर परिचयपत्र प्रदान गरेको हो ।
अपाङ्गगता भएकाहरूलाई परिचयपत्रका लागि स्वास्थ्य कार्यालय र गाउँपालिकाको कार्यालय धाउन सकस हुने देखिएकोले घरैमा परिचयपत्र वितरण अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत रौनियारले बताए । कतिपय अपाङ्ग हिंड्डुल गर्न नसक्ने अवस्थामा रहेका र कतिपयको भरपर्दो सहयोगीसमेत नरहेकाले उनीहरूलाई परिचयपत्र प्राप्त गर्न गा¥हो थियो ।
परिचयपत्रको अभावमा उनीहरूले पाउनुपर्ने सेवा–सुविधाबाट समेत वञ्चित हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै अपाङ्ग परिचयपत्र वितरणलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत रौनियारले बताए ।
परिचयपत्र वितरणको क्रममा उनीहरूको समस्याबारे सुन्ने र पालिकाबाट समाधानको प्रयास गरिने भएको छ । मङ्गलवारसम्म ४५ जना अपाङ्गलाई परिचयपत्र प्रदान गरिएको वितरण टोलीले जनाएको छ ।
टोलीमा महिला शाखा प्रमुख कौशल्या साह, सामाजिक शाखा एवं स्वास्थ्य शाखा प्रमुख नरेशप्रसाद चौहान र सम्बन्धित वडाका जनप्रतिनिधि सम्मिलित थिए ।
प्रस, परवानीपुर/
पर्साको पकहामैनपुर गाउँपालिकाले मङ्गलवारदेखि वडामैं गएर अपाङ्ग कार्ड वितरण कार्य शुरू गरेको छ । वडा नं १ को धोरेबाट अपाङ्ग कार्ड वितरण शुरू गरिएको गापा अध्यक्ष विजय चौरसियाले जानकारी गराए । उनले आफ्नो पालिकाभित्र रहेका अपाङ्गहरू पालिकासम्म आउन नसक्ने भएकाले घरदैलोमैं पुगेर कार्ड वितरण गरिएको गापा अध्यक्ष चौरासियाले बताए । वडा नं १ देखि ५ सम्मका अपाङ्गलाई रातो, नीलो, पहेंलो र सेतो गरी चार वर्गका कार्ड वितरण भइरहेको उनले बताए ।
रातो कार्ड पाएका व्यक्तिले मासिक रु ४ हजार, नीलो कार्ड पाएका व्यक्तिले रु २ हजार भत्ता पाउनेछन् । उनले आफ्नो पालिकाभित्र पूर्ण अपाङ्गता भएका व्यक्तिहरू सबैभन्दा धेरै रहेको बताए । वडा नं १ मा १२ जना, वडा नं २ मा ६ जना, वडा नं ३ मा १४ जना, वडा नं ४ मा २० जना, वडा नं ५ मा १७ जना गरी ६९ जनालाई अपाङ्गता कार्ड वितरण गरिएको उनले बताए ।
उनले गापामा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, ज्येष्ठ नागरिक, एकल महिला, शहीद परिवार, दलित, पिछडा वर्ग र अतिविपन्न परिवारलाई समेत पालिकाबाट पाउने सुविधा दिंदै आएको बताए ।
कार्यक्रममा गापा उपाध्यक्ष कुसुमी देवी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, महिला विकासकी सुनीता देवी, बृजकिशोर वर्णवाललगायतको सहभागिता थियो ।