प्रस, निजगढ, १५ भदौ/
जिल्ला समन्वय समिति बाराको ढुङ्गा, गिट्टी अन्तर्गत प्राविधिक उपसमितिले निजगढमा रहेका नदीजन्य पदार्थको स्थलगत परिमाण सङ्कलन गरेको छ । यहाँ रहेका क्रसर उद्योगहरूद्वारा उत्पादित गिट्टी, बालुवा र अन्य नदीजन्य पदार्थको स्टक मौज्दात के कति परिमाणमा छ, सो यकीन गर्न प्राविधिक उपसमितिले दुई दिनदेखि स्थलगत अनुगमन गर्दै तथ्याङ्क सङ्कलन गरिरहेको छ ।
गत वर्ष निजगढ नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन, सङ्कलन बिक्री वितरण गरेको परिमाणभन्दा बढी हुन सक्ने भन्दै सो उपसमितिलाई जिल्ला समन्वय समिति बाराले खटाएको सो समितिका संयोजक नवलकिशोर सिंहले जानकारी दिए ।
अघिल्लो वर्ष यसरी नै क्रसरद्वारा उत्पादित रोडा, गिट्टी, बालुवा र नदीजन्य पदार्थको स्टक मौज्दात बढी भएको प्रमाणित भएसँगै निजगढ नगरपालिकालाई बढी देखिएको नदीजन्य पदार्थको राजस्व सङ्कलन गराउन जिल्ला समन्वय समिति बाराले निर्देशन गरेको थियो । उक्त निर्देशनपछि निजगढमा रहेका करीब आठवटा क्रसर उद्योगबाट लगभग ५८ लाख रुपैयाँ राजस्व दाखिला निजगढ नगरपालिकामा गर्नुपरेको निजगढका एकजना क्रसर सञ्चालकले बताए ।
विभिन्न तरीकाले सरकारले तोकेभन्दा बढी नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र प्रशोधन गर्नु गैरकानूनी ठर्हछ ।
गत वर्ष पनि निजगढ नपाले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरणका लागि ठेक्का मूअकबाहेक १६ करोड रुपैयाँमा लगाएको थियो । उक्त ठेक्कामा उल्लेख भए अनुसार १ करोड २२ लाख ४३ हजार ७८३ घनफिट नदीजन्य पदार्थ उत्खनन गरी सङ्कलन र बिक्री वितरण गर्न पाउने भएपनि नदीजन्य पदार्थ तोकिएको परिमाणभन्दा बढी उत्खनन गरी सङ्कलन भएको हुन सक्ने अनुमान छ ।
क्रसर उद्योगमा र आसपास परिसर घाटगड्डीमा रहेका क्रसरद्वारा उत्पादित रोडा, गिट्टी, बालुवा र नदीजन्य पदार्थको स्थलगत परिमाणको तथ्याङ्क सङ्कलन गरिरहेको उक्त प्राविधिक उपसमितिका संयोजक एंव पूर्वाधार विकास कार्यालय पर्साका इन्जिनीयर राजेशप्रसाद चौधरीले जानकारी दिए । “हामीले सङ्कलन गरेको परिमाण जस्ताको त्यस्तै समितिमा बुझाउँछौं,” संयोजक एंव इन्जिनीयर चौधरीले भने ।
सो तथ्याङ्क परिमाण अनुगमन कार्यमा निजगढ नगरपालिकाका इन्जिनीयर रूपेशकुमार यादव र अशोक कुशवाहासहितको प्राविधिक टोली सहभागी छन् ।