वाशिङ्टन, १५ भदौ/सिन्ह्वा
अमेरिकाको लुइजियानामा सोमवार शक्तिशालीमध्येको एक समुद्री आँधी आएको बताइएको छ । सो आँधीमा परी अहिलेसम्म एकजनाको ज्यान गएको छ ।
सो आँधीले गर्दा उक्त क्षेत्रको तटीय क्षेत्र डुबाएको बताइएको छ । त्यसैगरी, यहाँका भौतिक तथा अन्य आधारभूत संरचना नै केही डुबाएको र केहीमा नराम्ररी क्षति पु¥याएको बताइएको छ ।
यो आँधीको चपेटामा परेर करीब सात लाख मानिस विद्युत् सेवाबाट पनि वञ्चित हुन पुगेको बताइएको छ । अमेरिकाका मौसमविद्ले यसलाई यहाँको अहिलेसम्मको शक्तिशालीमध्येकै एक आँधी भनेका छन् ।
यो आँधी निरन्तररूपमा नै दुर्ई सय किलोमिटर प्रतिघण्टाको वेगमा रहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुन सक्ने मौसमविद्ले जनाएका छन् ।
यहाँको तटीय क्षेत्रबाट दशौं हजार व्यक्तिको उद्धार गरिएको अधिकारीले जनाएका छन् । साथै उद्धार गर्न नसकेर सोही क्षेत्रमा सुरक्षित साथ बसेका भनिएका नागरिकलाई भने अरू केही दिन त्यहीं बस्न भनिएको र अहिले नै मदत गर्न नसकिने अवस्था रहेको बताइएको छ ।
यो आँधीले न्यूअर्लियन्सनजीकैको एउटा अस्पतालको छाना नै उडाइदिएको बताइएको छ । तर त्यसमा परेर कोही पनि बिरामी घाइते भने नभएका बताइएको छ । यहाँका हजारौं मानिस सुरक्षित स्थानतर्फ भागेका छन् । यहाँ बाँकी रहेका अन्य व्यक्तिलाई आँधी नरोकिएसम्म भित्रै बस्न भनिएको छ । रासस