- –राजु विश्वकर्मा
लहान, १५ भदौ/रासस
केही वर्ष अघिसम्म झौवाई खोल्सीको रूपमा परिचित सिरहाको लहान नगरपालिका–१५ बानोस्थित जङ्गल क्षेत्रमा यतिबेला पुग्दा तालको झझल्को दिनेगरी संरचना तयार गरिएको छ। करीब १५ बिघा क्षेत्रफलमा फैलिएको सो खोल्सीलाई संरक्षण गरी स्थानीय युवाको सक्रियतामा मरम्मत गरिएको हो । तालकै बीचमा मन्दिर बनाइएको छ । तालमा डुङ्गा सैरको व्यवस्था गरिएको छ ।
आन्तरिक र बाह्य पर्यटक भिœयाउने उद्देश्यले उक्त खोल्सीलाई स्थानीय युवाले धार्मिक पर्यटकीयस्थल बनाउन सक्रियता बढाएपछि जङ्गल क्षेत्रमा अवस्थित सो क्षेत्र पर्यटकीयस्थलको रूपमा विकसित हुन थालेको हो ।
कोरोना कहर सकिएपछि पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा बानोका युवाले करीब १५ बिघा क्षेत्रफलमा फैलिएको सो खोल्सीको संरक्षण गरी धार्मिक पर्यटकीयस्थल बनाउन लागिपरेका हुन्। स्थानीय गाउँँलेद्वारा २०३३ सालदेखि संरक्षित सो खोल्सीलाई पर्यटकीयस्थल बनाउन गोसाइँडाँडा ताल नामाकरण गरिएको छ । संरक्षित वनभित्रबाट बग्दै आएको पानी झौवाई खोल्सीमा जमेपछि स्थानीय बासिन्दाले बाँध बनाएर पोखरीको रूप दिएर सिंचाइ गर्दै आएका थिए ।
लहान बजारबाट करीब पाँच किलोमिटरको दूरीमा रहेको बानोमा थारू, मुसहरलगायत जातिको ११० घरधुरी छ । सांसद प्रदीप गिरीको संसदीय कोषबाट रु १५ लाख, डिभिजन वन कार्यालय लहान सिरहाबाट रु १० लाख र भू संरक्षण कार्यालयको रु ६ लाख ५० हजारको सहयोगमा स्थानीयले त्यही खोल्सीलाई पोखरी र पोखरीलाई यतिबेला तालको रूपमा पुनर्निर्माण गरेका छन् ।
सो खोल्सीबाट बनेको ताललाई स्थानीयवासीको सक्रियतामा चुरियाडाँडा सामुदायिक वन उपभोक्ता समिति बनाएर संरक्षण गरिएको छ । सो ताललाई पोखराको मिनी फेवातालको झल्को दिने गरी आवश्यक पूर्वाधार तयार गर्दै पर्यटकलाई आकर्षित गर्ने थप योजनाहरू बनाएको स्थानीय युवा श्रवण चौधरीले बताए ।
“हामीले पर्यटक तान्न पहिलो चरणमा खोल्सीको नाम परिवर्तन गरेर गोसाइँडाँडा नामाकरण गरेका छौं”– उनले भने–“खोल्सी हुँदै पोखरी र पोखरीबाट तालमा रूपान्तरण गराइएको र तालको पूर्वी–उत्तरी चुरेडाँडामा ऐतिहासिक गोसाइँ थान रहेकाले तालको नामाकरण पनि त्यही अनुसार राखेका छौं ।”
“प्रत्येक वर्ष असार १ गतेका दिन गोसाइँ थानमा पूजा गर्ने परम्परा रहेको छ”–अर्का स्थानीय युवा सञ्जीव चौधरीले भने–“यहाँ पूजा गरेपछि समयमैं वर्षा हुने र धानखेती गर्ने बानोवासीको चलन छ । त्यही परम्परा कायम राख्न तालको नाम गोसाइँ ताल नामाकरण गरेका छौं ।” लामो समयको प्रयासपछि निर्माण गरिएको सो तालमा अहिले तत्कालका लागि दुईवटा डुङ्गाको व्यवस्था गरिएको छ ।
तालको बीच भागमा रहेको ढिस्कोमा पुग्न बोटिड्ढो व्यवस्था गरिएको र चारैतिर चुरेक्षेत्रले घेरिएको ताल वरपर विभिन्न स्थानमा पर्यटकलाई आराम गर्न २० वटा विश्रामस्थल निर्माण गरिएको गोसाइँताल संरक्षण समितिका अध्यक्षसमेत रहेका स्थानीय युवा अभिनन्द चौधरीले जानकारी दिए ।
“निर्माण गरिएको विश्रामस्थलबाट पर्यटकले तालसँगै चुरे वन क्षेत्रको मनमोहक दृश्यावलोकन गर्न सक्छन्”– उनले भने–“विश्रामस्थलमैं बसेर जङ्गल क्षेत्रभित्रका चराचुरूङ्गीको चिरबिर ध्वनिको आनन्दसमेत उठाउन सक्छन् ।” युवा सक्रियतामा तालको संरक्षण गरेर बोटिड्ढो व्यवस्था गरेपछि तालसम्म आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको अध्यक्ष चौधरीको कथन छ ।
यहाँ आउने पर्यटकको धार्मिक आस्थालाई जोगाउन गोसाइँडाँडा तालको टुप्पोमा स्थापना गरिएको महादेव मन्दिरमा भक्तजन जल चढाउन आउँछन् । “हामीले गोसाइँ ताललाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न गुरुयोजना तयार गरेका छौं”–अध्यक्ष चौधरीले भने–“धेरैभन्दा धेरै आन्तरिक र बाह्य पर्यटकलाई भिœयाउने लक्ष्यका साथ ताल वरिपरि भ्यू टावर, बुद्ध मन्दिर, पिकनिकस्थल बनाउने योजना छ ।”
त्यसका लागि सरकारी र दातृ निकायमा पहलसमेत भइरहेको उनको भनाइ छ । लहान नगरपालिका–१५ ढोढनामैं रहेको प्रसिद्ध राजदेवी मन्दिरमा पूजाआजा गर्न आउने श्रद्धालुलाई त्यहाँबाट करीब दुर्ई किलोमिटरको दूरीमा रहेको सो तालको मनोरम दृश्य देखाउने योजनासमेत बनाइएको समितिका सदस्य आनन्द चौधरीले बताए ।
“राजदेवी मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई तालसम्म लैजाने योजना हामीसँग छ”–उनले भने–“त्यसका लागि आवश्यक सवारीसाधनको व्यवस्थापनसँगै अन्य योजना बनाइरहेका छौं।” आफ्नो गाउँँबस्ती वरिपरिको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन सकिए विकासको अन्य सम्भावना खुल्ने भन्दै स्थानीय युवा सक्रिय रूपमा तालको आवश्यक संरचना बनाउन लागिपरेको अर्का युवा महेन्द्र चौधरीले बताए ।