प्रस, वीरगंज, १४ भदौ/

पर्सा जिल्लामा एचआइभीका पाँच सयजना सक्रिय सङ्क्रमित रहेको तथ्याङ्कले देखाएको छ ।
विद्यार्थी जागरण मञ्च वीरगंजले आयोजना गरेको एचआइभी एड्ससम्बन्धी छलफल कार्यक्रममा पर्सा जिल्लामा सक्रिय सङ्क्रमित पाँच सयजना रहेको र त्यसमध्ये लागूऔषध सेवनकर्ता १० जना र महिला यौनकर्मी २३ जना रहेको बताइएको थियो ।

एचआइभी ३६० का कार्यक्रम संयोजक नीरज साहले पर्सा जिल्लामा अहिले एक हजार ३५५ जना लागूऔषध प्रयोगकर्ता रहेको र उनीहरूलाई सिरिन्ज र कन्डम नियमितरूपमा उपलब्ध गराउनुका साथै उनीहरूको स्वास्थ्य परीक्ष्Fण र सक्रिय निगरानीमा राखी सचेतना गर्ने काम गर्दै आएको बताए ।

यसैगरी, जिल्लामा ५५० जना महिला यौनकर्मी रहेको र उनीहरूमध्ये ६४ जनालाई एचआइभी सर्नबाट बच्ने औषधि (पिआरइपी) सेवन गराउँदै आएको बताए । विभिन्न कारणले ठूलो सङ्ख्यामा महिला यौनकर्मीले सो औषधि सेवन गर्न नसकेको उनले बताए ।

यौन सम्पर्कमा संलग्न उनीहरूलाई सो औषधि सेवनबाट सङ्क्रमित हुन जोगाउने संयोजक साहले बताए । उनले यौन सम्पर्कबाहेक सुई प्रयोगकर्ताहरूलाई भने यो औषधि सेवन गरेमा सङ्क्रमण हुन सक्ने बताए ।

लागूऔषध प्रयोगकर्ताहरूमध्ये सानो सङ्ख्यामा मात्र ओएसटी (ओरल सब्टिच्युशन थेरापी) २७ जनाले मात्र प्रयोग गर्दै आएको बताए । नारायणी अस्पतालमा नियमितरूपमा यसका प्रयोगकर्ताहरू २७ जना रहेको उनको भनाइ थियो । ओएसटी सञ्चालन गरेको लामो समय हुँदा पनि लक्ष्य भेटाउन नसकेको उनले बताए । कम्तीमा सयजना लक्ष्य रहेकामा तीसजनाभन्दा बढी बढ्न नसकेको उनको भनाइ छ । अस्पतालमा गएर दैनिक ओएसटी सेवन गर्नुपर्ने भएकोले प्रयोगकर्ता बढ्न नसकेको उनको बुझाइ छ ।

सेभ द चिल्डे«नका कार्यक्रम संयोजक अनोज खड्काले कोरोनाकालमा काम गर्न समस्या भएको र सेवासुविधा उपलब्ध गराउन पनि अप्ठेरो भएको बताए ।

वीरगंज महानगरपालिकाका स्वास्थ्य महाशाखाका अधिकृत सुमनचन्द ठाकुरको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रतीक दैनिकका सम्पादक शत्रुघ्न नेपाल, नेपाल रेडक्रस सोसाइटीका कार्यालय प्रमुख उदय शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here