प्रस, वीरगंज १४ भदौ/
जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित जगदम्बा स्टील प्रालिमा शुक्रवार स्थानीयले लगाएको ताला सोमवार पनि खोलिएको छैन । उद्योगमा ग्याँस पाइपलाइन लिक भएर ग्यास फैलिएको विरोधमा स्थानीयले शुक्रवार बिहान उद्योगमा तोडफोड गर्नुका साथै मूलगेटमा तालाबन्दी गरेका थिए ।
तालाबन्दी गर्दै स्थानीयले बारम्बार विरोधका बावजूद उद्योगबाट प्रदूषण नरोकिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनीहरूले सहमति गरेर मात्र तालाबन्दी खोल्ने बताए । यता, उद्योग सञ्चालक पवन गुप्ताले वार्ता नहुने बताए । उनले उद्योगमा तोडफोड गरेर ठूलो क्षति भएको र त्यसको क्षतिपूर्ति नहुन्जेल वार्ता नगर्ने बताए ।
उद्योग प्रदूषण नियन्त्रणमा संवेदनशील भएको र बेलाबेलामा प्रदूषण नियन्त्रणका लागि प्रयासरत भएको अवस्थामा उद्योगमा प्रवेश गरेर करोडौंको क्षति गरिएको हुँदा सोको भरपाई कसले गर्ने भन्ने विषय टुङ्गो नलागेसम्म वार्ता नहुने बताए । उनले उद्योगमा लागेको ताला चार दिन बितिसक्दा पनि खोलाउनेतर्फ पहल नभएकोमा चिन्ता व्यक्त गरे ।
अर्बौं रुपैयाँको लगानी रहेको उद्योगमा हजारौं मानिसले रोजगार पाएका छन् । ससाना विषयलाई लिएर बेलाबेलामा स्थानीयले विरोध गर्ने गरेको र यसको उचित टुङ्गो लगाउनुपर्ने सञ्चालक गुप्ताले बताए ।