प्रस, परवानीपुर, १४ भदौ/
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंज बाँकी बक्यौता उठाउन गत वर्ष असफल देखिएको छ । केन्द्रको फितलो व्यवस्थापन र केन्द्र प्रमुख शम्भु कुशियैत यादवको उदासीनताका कारण बाँकी बक्यौता उठाउन नसकिएको कर्मचारी स्रोतको दाबी छ ।
कार्यालयले दिएको तथ्याङ्क अनुसार गत वर्ष जरिवाना तथा बिल नतिर्ने उपभोक्ताको लाइन काटेपछि जम्मा ७ लाख ९० हजार २४५ रुपैयाँ मात्र बक्यौता असुल भएको वितरण केन्द्रको लेखा शाखाले जनाएको छ ।
जबकि गत आव २०७७/७८ सम्म वितरण केन्द्रले रु २ अर्ब ३२ करोड ४४ लाख ६७ हजार बक्यौता उठाउनुपर्ने थियो । तर करीब ८ लाख रुपैयाँ बक्यौता उठे पनि अहिले पनि रु २ अर्ब ३२ करोड ३६ लाख ७७ हजार बक्यौता असुली गर्न बाँकी रहेको छ ।
कार्यालय स्रोतका अनुसार कोरोना महामारीमा पर्याप्त मात्रामा अनुगमन गर्न नसक्नु, सरकारी कार्यालयको बक्यौतामा केन्द्रीय निकायले समन्वय नगर्नु, अर्थ मन्त्रालयले बक्यौता मिनहा नगर्नु र बक्यौता असुलउपरमा कार्यालय मौन बन्नु जस्ता कारणले बक्यौता असुलीमा समस्या भइरहेको बताइएको छ ।
बक्यौताको सूची अनुसार उद्योगतर्फ १ अर्ब ६५ करोड १८ लाख ७७ हजार, घरेलुतर्फ ४७ करोड ५९ लाख ६ हजार, व्यापारिक प्रतिष्ठानतर्फ १ करोड ९६ लाख ५४ हजार, गैरघरेलुतर्फ ४६ लाख ८३ हजार, सडकबत्तीतर्फ ८ करोड ९२ लाख ६० हजार, सिंचाइ निकायतर्फ १२ लाख, खानेपानी निकायतर्फ ५ लाख १५ हजार, लाइन काटेर महसूल उठ्न नसकेको ५ करोड ९८ लाख ४६ हजार, आन्तरिक बिजुली खपततर्फ ४१ लाख ५० हजार गरी कुल रु २ अर्ब ३२ करोड ३६ लाख ७७ हजार बक्यौता रहेको छ ।
सडकबत्तीमा वीरगंज महानगर एवं पर्सा र बाराका विभिन्न पालिकाले तिर्नुपर्ने महसूल बाँकी छ। दुई वर्षअघि कार्यालयको बक्यौता रु १ अर्ब ९८ करोड रहेको थियो । पहिलेभन्दा हाल करीब ३४ करोड बक्यौता बढेको देखिएको छ ।