प्रस, ठोरी, १४ भदौ/
अमृत युवा क्लब ठोरीले कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको नकआउट फूटबल प्रतियोगिताको उपाधि वनशक्ति युवा क्लब ठोरी–२ ले जितेको छ ।
ठोरी–२ सुन्दरबस्ती खेलमैदानमा आज भएको फाइनलमा वनशक्ति युवा क्लब ठोरी–२ ले निर्मल युवा समाज ठोरी– १ लाई ० बिरूद्ध १ गोल गरेर जितेको हो । मध्याह्नपूर्व मन्दीप तामाङले गरेको गोल निर्णायक भयो ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष किशोर तामाङले उपाधि जितेका वनशक्ति युवा क्लब ठोरी–२ लाई रू ३० हजार नगद, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।
यसैगरी, उपबिजेता निर्मल समाज क्लबलाई रू १५ हजार नगद, मेडल, प्रमाणपत्र प्रमुख अतिथि तामाङले वितरण गरेका थिए । सो अवसरमा उनले खेलाडीहरूलाई उत्कृष्ट खेल प्रदर्शन गरेको र आगामी दिनमा पनि यसैगरी खेलप्रति रूचि राख्न सुझाव दिए । वडातह र गापाबाट खेलको लागि आवश्यक सहयोग गरिने उनले आश्वासन दिए ।
फाइनल खेलको म्यान अफ दि म्याच वनशक्ति युवा क्लबका तामाङ घोषित भए । यसैगरी सर्वाधिक गोल गर्ने थ्री स्टार क्लबका निखिल तामाङलाई आयोजक कमिटीका अध्यक्ष यादवराज कुँवरले पुरस्कृत गरेका थिए ।
समापन सत्रमा पूर्व खेलाडी तथा समाजसेवी महेन्द्र तिमल्सिना, नरबहादुर क्षत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रदीप शर्माले स्वागत र पत्रकार चिरञ्जीवी सापकोटाले सहजीकरण गरेका थिए ।