प्रस, जनकपुरधाम, १४ भदौ/
बाराको अमलेखगंजमा पानीको स्रोत फेला नपरे पछि प्रदेश २ सरकारले पथलैयाबाट पिउने पानीको पाइपलाईन लाने योजना बनाएको छ ।
पथलैया देखि अमलेखगञ्जसम्म १० किलोमिटरको दुरीमा उत्तरतर्फ पर्छ । अमलेखगञ्जमा १ सय ५० फिटसम्म गहिरो खन्दा पनि पानीको सतह नभेटिएपछि बोरिङ गाड्न सम्भव नभएको प्रदेश २ को खानेपानी तथा उर्जा मन्त्रलयले जनाएको छ । मन्त्रलयले अमलेखगञ्जमा पानीको सम्भाव्यता अध्ययन गर्न ५० लाख रुपैयाँ निकासा गरी योजना अघि बढाएको थियो ।
उक्त योजना अनुसार भारतीय दक्ष प्रविधिकहरू सम्मिलित अध्यायन टोलीले अमलेख गञ्ज क्षेत्रको लागि बाराकै पथलैयाबाट पिउने पानी लैजान सम्भव रहेको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको थियो । सोही अनुरुप योजना अघि बढेको प्रदेश २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले बताएका छन् ।
अमलेखगञ्जलाई पिउने पानीको लागि पथलैयामा बोरिङ गाडेर पाइपखाईन मार्फत लाने र सोको लागि दुई स्थानमा पम्पिङ्ग स्टोरेज बनाउने योजना छ । पथलैया भन्दा अमलेखगंजको सतह उच्च रहेकोले पथलैयामा निर्माण हुने टयांकीको सतह पनि उच्च नै निर्माण गरिने भएको छ । करिब १५ करोड रुपैयाँको अनुमानित लागतमा निर्माण हुने खानेपानी योजनाको लागि मन्त्रालयले सुरुमा ५ करोडको लगानीमा काम थाल्ने मन्त्री शर्माले बताएका छन् ।
आफु मन्त्रीमा नियुक्त भएपछि अध्यायन प्रकृया अगाडि बढाएको अमलेखगंज खानेपानी योजनाले दुई महिनामा दु्रत गतिमा प्रगति गरिरहेको भन्दै उनले एक वर्ष भित्र योजना सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन् ।