प्रस, निजगढ, १४ भदौ/
इलाका प्रहरी कार्यालय निजगढले २७ वटा जर्किनमा बरामद गरिएको ४०५ लिटर अवैध घरेलु मदिरा सोमवार नष्ट गरेको छ । एक महीनायता विभिन्न समयमा बरामद गरेको उक्त मदिरा नष्ट गरेको इप्रका निजगढले जनाएको छ ।
राजमार्ग हुँदै वीरगंज, जीतपुर, सिमरा, हेटौंडालगायतका शहरमा यात्रुवाहक बस, अटोरिक्शामा लुकाइछिपाइ लैजाने क्रममा चेकजाँचको क्रममा प्रहरीले बरामद गरेको प्रहरी निरीक्ष्Fक शङ्कर चौधरीले जानकारी दिए । घरेलु मदिराको उत्पादन र बिक्री वितरण कानूनले वर्जित गरेकोले बरामद गरी नष्ट गरेको प्रनि चौधरीले बताए ।
सो मदिरा जनप्रतिनिधि, निजगढ नगर उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहबरमा नष्ट गरिएको हो । निजगढ नपाको रतनपुर, लाल, सिगौलमा मदिरा उत्पादन हुने र पूर्वबाट पश्चिम जाने यात्रुबाट पनि बरामद गरिएको जनाउँदै संलग्न व्यक्ति भने पहिचान नभएको र सम्पर्कमा पनि नआएको प्रहरीले जनाएको छ ।